‘असार १५, दही, चिउरा र धान दिवसको महत्व’

हिमालय टाइम्स
Read Time = 12 mins
A A- A+

✍️ प्रल्हाद दाहाल

असार १५ नेपाली समाजमा खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाउने परम्परा छ । असार १५ मा रोपाइँ सकेको खुशीयालीमा भोजस्वरूप दही र चिउरा खाने दिनको रूपमा पनि चिनिएको हो । सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रूपले नै असार १५ मा दही-चिउरा खाने प्रचलन रहँदै आएको हो ।

यस दिन रोपाइँ गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाइँ गरी हिलो छ्यापेर रमाइलो गरी दही-चिउरा खाने चलन हाम्रो समाजमा छ । रोपाइँ गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गह्रामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुने गर्दछन् । असार १५ सम्म लाठे र बाउसेलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीवाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेको देख्दा हाम्रो नेपाली परम्परा साँच्चै रमाइलो र आकर्षक छ भन्ने कुरा प्रष्ट हुन्छ ।

कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धानबालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुन्छ ।

देशमा धानखेतीका लागि सिँचाइ सुविधा कम उपलब्ध भएकाले मनसुन मै भर पर्नुपर्ने पस्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने संभावना कम हुने हुनाले यो समयमा रोपाइँमा व्यस्त हुनु परेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको चाप भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्रको महत्व धेरै भएको हो । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बुढापाकाको भनाइले यसको महत्व अझ थप दर्शाउँछ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन टेवा पुर्‍याउँदै आएको छ । कतै-कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालालाई मसला र रूमाल बाँड्ने प्रचलन ठाँउ-ठाँउमा रहेको छ । एक आँकडा अनुसार धानखेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउने गरिन्छ । तर वर्षे धानभन्दा यसको उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुनेगरेको छ । नेपालमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि दुई हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिँदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला-पहिला मार्सी, तौली, थापचिनिया, बासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुंग, विन्देश्वरी, खुमल, मन्सुली, राधा आदि विकासे जातका धान लगाइन थालेको पाइन्छ ।
असार १५ मै किन खाइन्छ दही-चिउरा ? प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले होल भन्ने गरिन्छ । आखिरमा किन असार १५ को सांस्कृतिक महत्व छ त ? संस्कृतिकर्मीका आधारमा असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा दही चिउरा खाइन्छ । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएकाले नै होला । तर समयक्रमले यसलाई असार १५ मा पुर्‍याएको संस्कृतिकर्मीको तर्क छ ।

नीहरूका अनुसार रोपाइँ नसकिएसम्म दही-चिउरा खाइँदैन । तर अहिले रोपाइँ सकियोस् या नसकियोस् प्रत्येक वर्षको असार १५ मा दही-चिउरा खाने गरिन्छ । हुन त अहिले दही-चिउरा खान असार १५ सम्म पर्खन पर्दैन । अहिले बजारमा दही-चिउरा १२ महिना उपलब्ध छन् । तर पहिला यस्तो हुँदैन थियो । रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुनेभएकाले पकाइरहन नपर्ने र तयार गर्न धेरै समय नलाग्ने भएकाले दही-चिउरा खाने प्रचलनले महत्व पाएको भन्ने गरिन्छ । असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन र पकाइवरी गर्न नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही–चिउरा खाने थिति बसेको हो भन्ने पनि गरिन्छ । पहिला सबैसँग आजभोलि जस्तो माछा, मासुलगायत पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद हुँदैन थियो । प्रायःजसो सबै किसानका घरमा गाईभैंसी पालिएको हुन्थ्यो । गाईभंैसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घ्यू खाली हुँदैन थियो । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा घरमै हुने भइहाल्यो । त्यसैले घरमै रहेको दही-चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरूले भन्ने गरेका छन् ।

दही-चिउरा पौष्टिक आहार पनि भयो । कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुने क्रम बढेको छ । असार १५ कृषिमा नेपालीहरूको आत्मनिर्भरताको प्रमाण पनि हो । पहिले दही र चिउरा घरमै हुन्थ्यो तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ ।

अहिले कमैका घरमा गाईभैंसी छन् । गाईभैंसी नपालेपछि घरघरमा दही बन्ने कुरा भएन । तैपनि बजारबाट किनेर भए पनि असार १५ मा भने दही–चिउरा खाने प्रचलनमा कमी भने आएको छैन । विवाह, व्रतबन्ध, सभासमारोहपछि सबैभन्दा बढी दही प्रयोग हुने दिन भनेकै असार १५ हो । दही बनाउने पेसा पनि मौसमी व्यवसाय हो । विशेषगरी माघ र फागुन महिना दही उपभोग हुने खास महिना हुन् । अरू समय भनेको चाडबाड, विवाह, व्रतबन्ध तथा सभा सम्मेलन हो । त्यस्तै गर्मी याममा पनि दहीको माग अघिपछि भन्दा बढी नै उपभोग हुन्छ । तर बजारमा आजभोलि दूध अभाव भएपछि दही बनाउन अलि कठिन हुन थालेको छ । दूध आवश्यक मात्रामा नआउँदा अहिले दही धेरै जमाउन पाइँदैन र १५ गतेलाई कसरी पु¥याउन सकिन्छ भन्ने कुरामा हामी लाग्न पर्छ । १५ गते दिउँसदेखि नै दहीको अभाव हुन थाल्छ ।

भक्तपुर नगरभित्र करिब एक सय पचास घरपरिवारले परम्परागत रूपमा मौलिक जु जु धौ बनाउँछन् । उनीहरूले वार्षिक एक हजार पाँच सय मेट्रिक टन दही बनाउँछन् । दही भक्तपुरको मौलिक उत्पादन हो । भक्तपुरमा बन्ने विशेष प्रकारको दहीलाई जुजु धौ (राजा दही) भन्ने प्रचलन रहँदै आएको छ । दही बनाउने पेशा आफैंमा स्वतन्त्र र आत्मनिर्भर व्यवसाय भने होइन । यो पशुपालनमा आधारित व्यवसाय हो । त्यसमा पनि गाईको दूधबाट राम्रो दही बन्दैन । त्यसैले भैंसीको दूध आवश्यक पर्छ । शहरीकरण र फेरिएको जीवनशैलीले नेपाली समाजमा पशुपालन गर्ने क्रमशः घट्दै आएको छ । यसले गर्दा पनि पहिले पहिलेको जस्तो स्वादमा दही पाउन कठिन हुनेगरेको छ ।

नेपालमा असार १५ मा अरू दिनभन्दा झण्डै पाँच गुणा बढी दही खपत हुन्छ । यो दिन हाम्रो देशमा करिब ६०/७० हजार लिटर दही खपत हुन्छ । आर्थिक रूपले हेर्ने हो भने असार १५ गते दहिको मात्र कारोबार करिब ८०/९० करोडको कारोबार हुने देखिन्छ । यसदिन आमउपभोक्ताले दही नपाइएला भनेर अघिल्लो दिनदेखि नै घरमा दही लाने गरेको देखिन्छ । असार १५ गते दिउँसोदेखि नै प्रायः डेरीहरूमा दही पाउन गा¥हो छ । असार १५ को महत्व कति छ भन्ने कुरा सबै कुराहरू हेर्दा प्रष्ट देखिन्छ । लेखक : नेपाल डेरी एसोसिएसनको अध्यक्ष हुनुहुन्छ । 

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?