ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

काठमाडौं । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् ।

उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका-३ उँबुस्थित ढ्वाङकुमटारमा राँगा काटेर सामूहिक रुपमा लिब्जुको पूजाआजा गर्दै सामूहिक रुपमा यो पर्व मनाउने चलन छ । सुरुमा एकै ठाउँमा पूजाआजा गर्ने चलन थियो । पछि यो समुदायको जनसङ्ख्या वृद्धि र बसाइँसराइसँगै विभिन्न जिल्लामा मनाउने गरिएको छ । उदयपुरको कटारी, सुनसरीको धरान, ललितपुरको सानो हात्तीवन, सिन्धुलीलगायत जिल्लामा वाम्बुले समुदायले सामूहिक रुपमा पूजाआजा गर्दै नाचगान गरेर यो पर्व मनाइरहेका छन् ।

प्रकृति पूजक वाम्बुलेहरुले पूजास्थलमा नयाँ अन्नबाली चढाउनाका साथै कागुनीको भात, कोदोको जाँड र राँगाको मासु थुन्सेमा लगेर सामूहिक रुपमा पूजा गर्ने गर्छन् । “हुन त यो पर्व कहिलेदेखि मनाउँदै आएको भन्ने थाहा छैन तर मुगल सेन राजाहरुको पालादेखि मनाउँदै आएको किंवदन्ती छ”, मानेभन्ज्याङ गाउँपालिका-३ उँबुका स्थानीय लक्ष्मण राईले भन्नुभयो, “हाम्रो समुदायको प्रमुख चाड नै ढ्वाङकुम हो ।”

बुलु, सिसी, ढ्वाङकुर्मो र काउर्मो गरी चारजना नाक्सो (पुजारी) हरुले फलाकेर पूजाथानमा पूजा गरेपछि जाँड र कागुनीको भात प्रसाद बाँडेर खाने चलन छ । राँगा काटेर काँचो र पकाएको मासुले  विभिन्न सिकारी देवताहरुको पूजा गरिन्छ । उहिले माले गोरु काटेर पूजा गर्ने प्रचलन भए पनि राणाकालमा मुलुकी ऐन लागू भएदेखि गोरु काट्न छोडिएको थियो ।

पूजास्थलमा नयाँ अन्नबालीका रुपमा मकै, काँक्राजस्ता फलफूल चढाउने गरिन्छ । यसरी पुजा गरेपछि वर्षभरि समुदायका सबैको स्वास्थ्य राम्रो हुने, शान्ति, समृद्धि हुने विश्वास यस समुदायले गर्छन् । पूजाको अघिल्लो दिनदेखि पूजा हुने दिनसम्म दुई दिन बस्तीहरुमा खनजोत गर्न रोक लगाउने गरिन्छ । खेतीपातीको काम गर्न नपाइने हुँदा प्रायः सबै घरधुरीका सदस्यहरु एकै ठाउँ जम्मा भएर संगिना नाच्ने, गीत गाउने र प्रसाद खाने गर्छन् ।

यो चाडमा अन्नबाली कागुनी र मकै पाकिसकेपछि सामूहिक रुपमा प्रकृति, भूमि र सिमलाई आभार प्रकट गरिन्छ । लिब्जुलाई चढाउने सबैभन्दा उत्कृष्ट अन्न जा (कागुनी) मानिन्छ । पहिलेपहिले कागु्नी मकैभित्र पातलोसँग छर्ने चलन थियो । यो अन्न सबैभन्दा पहिला पाक्ने अन्न हो ।

भूमि पिता अर्थात् लिब्जुलाई वैशाख पूर्णिमामै भाका मागेर कागुनी पाक्ने बित्तिकै जनै पूर्णिमाको दिन लिब्जुलाई पूज्दै ढ्वाङकुम मनाइने मानेभन्ज्याङ गाउँपालिका-३ ओखलढुङ्गाकै विकास सौगात राईले बताउनुभयो । “तपाईंलाई वैशाख पूर्णिमामा मनाउनुपर्नेमा सकेनौँ । च्यामाखा (धर्तीमाता) तपाईं नरिसाउनूहोस् । हामीलाई कुनै पनि नराम्रो नहोस् । अशुभ नहोस् । बालीनाली राम्रो होस् । हाम्रो दैनिक जीवनमा नराम्रो नगर्नूहोस् । हामी तपाईंलाई ससम्मान ढ्वाङ्कुम (जनै पूर्णिमा)मा मान्छौँ,” राईले भन्नुभयो, “यसरी फलाकेर आज हामी लिब्जुको पूजा गर्दै रमाउछौँ । यो नै ढ्वाङकुम पर्व हो ।”

विसं २०७८ को जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषीको सङ्ख्या १५ हजार दुई सय ६८ देखिए पनि मुलुकभर ५० हजार वाम्बुले भाषी रहेको वाम्बुले राई समाजको दाबी छ । “जनगणनाकै बेला पनि भाषाको महलमा वाम्बुले लेख्नुपर्ने ठाउँमा केन्द्रिय तथ्याङ्क विभागले याम्बुले लेखिदिएर गलत ग-यो”, वाम्बुले राई समाजका केन्द्रीय अध्यक्ष गजुरधन राईले भन्नुभयो, “त्यसैले हाम्रो सङ्ख्या वास्तविक आउन सकेन ।”

अध्यक्ष राईले ढ्वाङ्कुम यस समुदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड रहेको उल्लेख गर्नुभयो । वाम्बुले राई समुदायले वैशाख पूर्णिमादेखि जनैपूर्णिमासम्म उभौलीका रुपमा लिन्छन् भने मङ्सिर पूर्णिमादेखि उधौली मनाउने गर्छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?