काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति चुनावको चर्चा विश्वभर छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतीय चुनाव हुँदै छ । यसपालि राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला हृयारिस मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरूबीच बुधबार बिहान पहिलोपटक ‘प्रेसिडेन्सियल डिबेट’ भयो । दुई उम्मेदवारबीच पेन्सिलभानिया राज्यको फिलाडेल्फियास्थित ‘नेसनल कन्स्टिच्युसन सेन्टर’मा करिब ९० मिनेट लामो बहस भएको हो ।
पहिलो चरणको बहस भने राष्ट्रपति जो बाइडेन र ट्रम्पबीच भएको थियो । तर, बाइडेन गत जुलाई २१ मा चुनावी दौडबाट बाहिरिएपछि हृयारिस डेमोक्रेटिक दलको उम्मेदवार बन्नुभएको हो । दुई उम्मेदवार बीचको बहस खासगरी देशको अर्थतन्त्र, आप्रवासन नीति, सीमा सुरक्षा, गर्भपतनसम्बन्धी अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति, बन्दुकसम्बन्धी कानुन, स्वास्थ्य सेवा, जलवायु परिवर्तनलगायत मुद्दामा केन्द्रित थियो । चीन, रुस, इजरायल र इरानले पनि बहसका विषय बनेका थिए ।
डेढ घण्टा चलेको बहसमा टन्नै घोचपेच र आरोप प्रत्यारोप चले । हृयारिस प्रतिस्पर्धी ट्रम्पविरुद्ध आक्रामक बन्नुभयो भने ट्रम्पले पनि सक्नेजति आरोप लगाउनुभयो । आरोप लगाउनेमा ट्रम्प नै अगाडि रहनुभयो । प्रेसिडेन्सियल डिबेटका क्रममा कमला हृयारिसले भने ट्रम्पको खरो प्रतिवाद गर्नुभयो । ट्रम्पले धेरै शब्द खर्चेर चर्को बोल्नुभयो भने हृयारिसले शिष्टताभाव नै बढ्ता देखाएको पर्यवेक्षकहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
हृयारिसले ट्रम्पका समर्थकहरूलाई निराश नहुन व्यंग्य गर्नुभयो । बहसका क्रममा हृयारिसको शारीरिक भाषा पनि प्रभावकारी देखिएको उनीहरूको तर्क छ । धेरैजसो बहसको क्रममा हृयारिसले ट्रम्पलाई जवाफ दिँदा असहमतिमा टाउको हल्लाउँदै वा मुस्कुराउँदै गरेको देखियो । जब ट्रम्पले हृयारिसलाई ‘माक्र्सवादी’ भनेर सम्बोधन गर्नुभयो हृयारिसले आफ्नो हात चिउँडोमा राखेर नबुझेको संकेत गर्नुभयो ।
अर्थव्यवस्था वा गर्भपतनजस्ता मुद्दाहरूमा हृयारिस सिधा क्यामेरामा हेर्दै हुनुहुन्थ्यो । मानौँ उहाँ मतदाताहरूसँग कुरा गरिरहनु भएको थियो । उही समयमा ट्रम्प हृयारिससँग आँखा जुधाउन तर्किरहनु भएको थियो ।
बहसको अन्त्यमा हृयारिसले भन्नुभयो, ‘मेरो ध्यान भविष्यमा छ । ट्रम्प विगतमा फसेका छन् ।’ ट्रम्पले भने हृयारिसको नीतिको कुनै अर्थ नभएको जिकिर गर्नुभयो । विगत चार वर्षमा केही हासिल गर्न नसकेको उहाँको भनाइ थियो । ‘हाम्रो देश विनाशको बाटोमा छ । सारा संसार हामीमाथि हाँसेको छ । यदि हृयारिसले चुनाव जितिन् तेस्रो विश्वयुद्ध सम्भव छ ।’
बहसका क्रममा हृयारिस र ट्रम्पले एक-अर्कामाथि व्यक्तिगत आक्रमण पनि गर्नुभयो । हृयारिसले चलिरहेको मुद्दा र २०२० को चुनावमा हार स्वीकार गर्न अस्वीकार गरेकोमा ट्रम्पमाथि हमला गर्नुभयो । हृयारिसले ट्रम्पको र्यालीमा भएको भिडको आकार र क्यापिटल हिलमा भएको आक्रमणलाई लिएर ट्रम्पलाई घेर्नुभयो । बहसअघि बढ्दै जाँदा ट्रम्प धेरैपटक रक्षात्मक बन्नुभयो ।
धेरै अमेरिकीहरूले सोचेका थिए कि हृयारिस मुद्रास्फीति, आप्रवासन र अफगानिस्तानबाट फिर्ता हुनेजस्ता मुद्दाहरूमा कमजोर हुनुहुने छ । धेरैजसो केसहरूमा ट्रम्पले आफूमाथिको आक्रमणलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नुभएन ।
रुस-युक्रेन युद्धबारे दुवैका आ-आफ्नै दाबी
बहसका क्रममा रुस-युक्रेन युद्धका बारेमा पनि छलफल भएको थियो । डोनाल्ड ट्रम्पलाई सोधिएको थियो ‘के तपाईं युक्रेनले युद्ध जितेको चाहनुहुन्छ ?’ जवाफमा ट्रम्पले ‘म युद्ध बन्द होस् भन्ने चाहन्छु’ भन्नुभयो । युक्रेन र रुस युद्धमा युरोपले अमेरिकाको तुलनामा निकै कम मूल्य चुकाउनु परेको बताउनुभयो । उहाँले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुवैलाई राम्ररी चिनेको बताउनुभयो । ट्रम्पले जो बाइडेनलाई कतै नदेखिएका अमेरिकी राष्ट्रपतिको संज्ञा दिनुभयो । हृयारिसले यसको बदला लिनुभयो । ‘तिमी बाइडेनविरुद्ध लडिरहेका छैनौँ, मेरोविरुद्ध लडिरहेका छौँ,’ युक्रेन युद्धको प्रश्नमा हृयारिसले भन्नुभयो ।
ट्रम्पले आफूले जिते रुस र युक्रेन बीचको युद्ध रोक्नसक्ने दाबी गर्नुभयो । ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस-युक्रेनमा युद्ध नै नहुने जिकिरसमेत गर्नुभयो । हृयारिसले भने ट्रम्प राष्ट्रपति भएको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युक्रेनको राजधानी किभमा बसिरहेको हुनेथिए भन्दै टिप्पणी गर्नुभयो । ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचन भएमा रुस र युक्रेनसँग वार्ता गराई कार्यभार सम्हाल्नुअघि नै युद्ध रोक्नसक्ने जिकिर गर्नुभयो ।
रिपब्लिकन उम्मेदवार ट्रम्पले आप्रवासीहरूविरुद्ध केही यस्ता आरोप लगाउनुभयो, जसलाई मध्यस्थकर्ता आफैँले गलत घोषणा गर्नुभयो । ट्रम्पले आप्रवासीहरूका बारेमा ‘उनीहरूले घरपालुवा जनावर खान्छन्’ भन्ने बेतुका दाबी गर्नुभयो । ‘उनीहरूले कुकुरहरू खान्छन्,’ ट्रम्पले भन्नुभयो । तर, बहसका मध्यस्थकर्ता डेभिड मुइरले यस्तो कुनै प्रमाण नभएको भन्दै खण्डन गर्नुभयो ।
ट्रम्प दोहोरिएलान् कि हृयारिसको बढुवा होला ?
अब सबैभन्दा ठूलो प्रश्न यो छ– डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल पाउने कि अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउने ? दुई महिनापछि नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावले ट्रम्प दोहोरिने वा हृयारिसको बढोत्तरी हुनेमध्ये एकको फैसला गर्नेछ ।
बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्नुअघि सर्वेक्षणहरूले उहाँलाई ट्रम्पभन्दा पछाडि देखाएको थियो । त्यतिबेला यो कल्पना मात्रै भए पनि केही विज्ञहरू भने रिपब्लिकन पार्टीकी उम्मेदवार कमला हृयारिस भए उहाँको अवस्था पनि त्यस्तै हुने बताइरहेका थिए । तर, कमला हृयारिस चुनावी अभियानमा लाग्नेबित्तिकै उहाँले प्रतिद्वन्द्वीमाथि सानो अग्रता लिनुभयो । ट्रम्पको औसत पनि लगभग उस्तै छ ।
सर्वेक्षणहरूमा दुवैको लोकप्रियता लगभग बराबरजस्तो देखाएका छन् । झिनो प्रतिशतले हृयारिस अगाडि हुनुहुन्छ । अमेरिकामा ५० वटा राज्य छन् । तर, यी राज्यहरूमा अधिकांश मतदाताहरूले सधैँ एउटै पार्टीलाई मतदान गर्छन् । त्यसोभए वास्तवमा त्यहाँ धेरै कम राज्यहरू छन् जहाँ दुवै उम्मेदवारहरूले जित्ने आशा गर्न सक्छन् । र, यी राज्यहरू हुन् जसले चुनावको परिणाम बदल्न सक्छन् । यिनीहरूलाई अमेरिकामा युद्धभूमि राज्य पनि भनिन्छ । अहिले सातवटा प्रदेशमा कडा प्रतिस्पर्धा भइरहेको छ । जसकारण दौडमा को अगाडि छन् भन्न गाह्रो छ । राज्यहरूमा राष्ट्रिय स्तरको तुलनामा कम पूर्व–चुनाव सर्वेक्षणहरू सञ्चालन भइरहेका छन् । त्यसकारण, राज्यहरूको प्रवृत्तिको बारेमा धेरै डाटा उपलब्ध छैन ।
यसबाहेक हरेक मतगणनामा ‘मार्जिन अफ एरर’ रहेको र तथ्यांक केही प्रतिशतले माथि वा घट्ने सम्भावना छ । पछिल्लो सर्वेक्षणअनुसार अहिले धेरै राज्यमा दुई उम्मेदवारबीच एक प्रतिशत वा कमको अन्तर छ । पेन्सिल्भेनिया राज्य धेरै महत्वपूर्ण छ किनभने यसमा सबैभन्दा धेरै इलेक्टोरल कलेज भोटहरू छन् । यहाँको जितसँगै कुनै पनि उम्मेदवारले अमेरिकी राष्ट्रपति बन्न आवश्यक पर्ने २७० ‘इलेक्टोरल कलेज भोट’ को जादुई अंक छुन सक्नेछन् । ट्रम्प २०१६ मा राष्ट्रपति हुनुअघि पेन्सल्भेनिया, मिशिगन र विस्कन्सिन डेमोक्रा्यटिक पार्टीको गढ थिए । बाइडेनले २०२० को चुनावमा यसलाई पुनः प्राप्त गर्नुभयो । यदि हृयारिसले यस वर्ष पनि उही प्रदर्शन दोहोर्याएमा उहाँले चुनाव जित्नुहुने छ ।
हृयारिस डेमोक्रेटिक पार्टीको उम्मेदवार बनेपछि राष्ट्रपतिको दौडमा परिवर्तन हुने संकेत देखिएको छ । हाल, देखिएका सर्वेक्षणहरूलाई आधार मान्ने हो भने कमला हृयारिस र डोनाल्ड ट्रम्प रणभूमि राज्य र राष्ट्रिय स्तरमा थोरै औसत अन्तरले मात्र अगाडि हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच