काठमाडौं । लेखक तथा साहित्यकार महेश थापाले साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत सोमबार भएको नेपाल र भारतबीचको दोस्रो सेमिफाइनलमा रेफ्रीले गरेको त्रुटीमा नेपाली टोलीले स्पोर्टिङ स्पिरिट देखाउन नसकेको बताउनु भएको छ ।
रेखा पौडेलले रातो कार्ड (दोहोरो पहेँलो कार्ड) खाएर मैदान छाडेपछि १० खेलाडीमा सीमित नेपालले दोस्रो हाफमा फर्काएको गोल रेफ्रीले मान्यता नदिएपछि विवाद सिर्जना भइ खेल १ घण्टा भन्दा बढी अवरुद्ध हुन पुगेको थियो ।
अन्ततः विवादकाबीच ढिलो गरी सुरुभएको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले नेपाल विजयी हुन पुगेको थियो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्राय: सबै फुटबल खेललाई नजिकबाट हेर्दै आउनु भएका चेसका राष्ट्रिय खेलाडीसमेत रहनु भएकाे थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा प्रस्तुत गर्नुभएको हाे ।
रेफ्रीबाट गल्ती हुनु खेलको एउटा हिस्सा भएको र यस्ता दुखद् घटनाहरु दर्शक तथा खेलाडीलाई चित्त नबुझ्दा नबुझ्दै पनि खेलाडीले मैदान छाडेर हिड्नु गलत हुने उहाँकाे धारणा छ । उहाँ भन्नुहुन्छ , 'अझ दश खेलाडीमा सीमित नेपाली टोलीले हिजो देखाएको खेल कौशल गजब थियो । मैदानभित्र खेलाडीहरूले देखाएको एग्रेसन, जुझारुपन सबै मन पर्यो ।' तर उनीहरूको स्पोर्टिङ स्पिरिट भने नभएको उहाँकाे गुनासाे छ । ‘त्यो हदको अनुशासनहीनता पटक्कै चित्त बुझेन । उत्कृष्ट खेलेर जित्दाजित्दै पनि नेपालले हारेझैँ खल्लो अनुभूति भइरहेछ ।’ उहाँले भन्नुभयो, 'फेरि, एकपल्ट नेपाली खेलजगतको अन्तर्राष्ट्रिय फजिती भएको छ । ती रेफ्रीको स्थानमा म हुन्थेँ भने नेपाली खेलाडीहरू पुनः मैदान प्रवेश गरिसकेपछि खेल समाप्तिको सिट्टी फुकिदिन्थें ।’
खेल इतिहासमा रेफ्रीबाट यस्ता खालका धेरै गल्ती हुने गरेको उदाहरण प्रस्तुत गर्दै थापा लेख्नुहुन्छ:-
सन् १९६६ को विश्वकप फूटबल फाइनलमा इंग्ल्यान्ड विरुद्ध पश्चिम जर्मनीले गरेको गोललाई रेफ्रीले मान्यता दिएन । म्याराडोनाको ‘ह्यान्ड अफ द गड’ पनि छँदैछ । सन् २०१९ को विश्वकप क्रिकेटको फाइनलजत्तिकै क्लोज र रोचक फाइनल म्याच हेर्न सम्भवतः अर्को डेढ/दुई सय वर्ष कुर्नुपर्नेछ । उक्त खेलको अन्तिम घडीतिर अलराउन्डर बेन स्ट्रोक्सको ब्याटमा बल लागेर ओभरथ्रो हुँदा इंग्ल्यान्डले ६ रन पाएको थियो । तर नियमानुसार इंग्ल्यान्डले कुदेको दुई रन पाउन फिल्डरले बल थ्रो गर्नुअघि दुई ब्याट्सम्यानले पिचको हाफवे मार्क क्रस गरिसकेको हुनुपर्ने रहेछ । त्यस्तो भएको थिएन त्यहाँ । अम्पायरले पनि दुई दिनपछि मात्र त्यो कुरा रियलाइज गरेछन् । नियमको हिसाबले त्यहाँ एक रन कम काउन्ट हुनुपर्थ्यो र बेन स्ट्रोक्सले स्ट्राइक पाउने थिएनन् । त्यसो हुँदा निर्धारित समयभित्रै न्युजिल्यान्डले वर्ल्डकप जित्न सक्थ्यो । खेल टाइ भई सुपरओभरमा गयो । र, सुपरओभर पनि टाइ भयो । तर चौका/छक्का बढी प्रहार गरेको हास्यास्पद आधारमा टेकेर इंग्ल्यान्ड विश्वविजेता बन्न पुग्यो । केही महिनाअघि ओलम्पिक फूटबलमा अर्जेन्टिना र मोरक्कोबीच भएको खेलको अन्तिम घडीतिर अर्जेन्टिनाले गोल गर्दै २-२ को बराबरीमा पुर्यायो । उक्त गोलको विरोध गर्दै मोरक्कन समर्थकहरू मैदान प्रवेश गरी आक्रमण प्रयास गरे । झन्डै दुई घन्टा खेल अवरुद्ध भयो । तत्पश्चात्, VAR को सहायतामा रेफ्रीले उक्त गोललाई बदर गरे । अर्जेन्टिना २-१ ले पराजीत भयो ।
विशेषगरी व्यङय विधामा कलम चलाउने थापा आफ्नो स्टाटसको सुरुवातमा लेख्नुहुन्छ :-
'गिनिज बुकलाई सजिलो होस् भनेर मैले यो फोटो खिच्न लगाएको थिएँ । महिला फूटबलमा दुनियाँको कुनै पनि मैदानको घडीले एक सय त्रिहत्तरऔँ मिनेटसम्म चल्ने सौभाग्य पाएको थिएन शायद । पक्कै यो वर्ल्ड रेकर्ड हुनुपर्छ ।’
थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को कमजोरी र लाचारीपन तिर पनि गुनासो पोख्नु भएको छ । 'रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै हाम्रा फूटबलरहरू मैदानबाहिर रहँदा कमेन्टेटर भन्दैथिए- "...नेपाली खेलाडीहरू टिम म्यानेजरको पनि कुरा सुनिरहेका छैनन् ।" यो त हाम्रा विद्यार्थी संगठनका ठेउकेहरूकै पारा भयो भन्दै त्यतिबेला मैले एन्फालाई सम्झिएँ- "कहाँ छ एन्फा ?" अर्को मनमा लाग्यो- "योभन्दा बढी के गर्न सक्छ एन्फाले ? आफूजस्तै अस्तव्यस्त र अराजक भीड त तैयार पार्ने हो !" उहाँले भन्नुभएकाे छ ।
(लेखक तथा साहित्यकार थापा लामो समयदेखि मोटर न्युरोन रोगबाट पीडित हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच