खोलाको बगर केराको बगैंचामा परिणत

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको टाकुरा निवासी दीपक मल्लले कोटखोला बगरलाई खनजोत गरी सम्माएर सातसय बोट केरा लगाउनुभएको छ । बगरफाँटकै खिमबहादुर कार्की, दुर्गाबहादुर थापा र बेदप्रसाद उपाध्यायले धान फल्ने खेत मासेर गरेको केरा खेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्दै आउनुभएको छ ।

अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएका मल्ल,कार्की,थापा र उपाध्यायको सिको गर्दै बगरफाँटका अन्य किसानहरुले पनि खेत,पाखो,खरबारी र बगर जग्गामा केरा खेती सुरु गरेका छन् ।

केरा खेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धान खेती हुने जमिन मासेर केरा खेतीमा लागेको दुर्गा बहादुर थापाले बताउनुभयो । थोरै लगानीमा पनि एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केरा खेतीमा लागेको उहाँले बताउनुभयो । विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएका खिमबहादुर कार्कीले सात रोपनी जग्गामा पाँच सय केराका बोट लगाउनुभएको छ । उहाँले केरा बगैंचाबाट नै वार्षिक रु पाँच लाख बराबरको केरा बिक्री गर्दै आउनुभएको छ ।

खेर गइरहेको कोटखोला बगरमा बगरफाँटकै दीपक मल्लले तीन वर्ष अघि लगाउनुभएको केराका विरुवा अहिले फल दिने अवस्थामा पुगेका छन् । अन्य कृषि बाली जस्तो जोखिम नहुने र परिवारसँग घरमा बसेर राम्रै आम्दानी गर्न सकिने भएकाले केरा खेतीबाट सन्तुष्ट रहेको र आगामी दिनमा केरा खेतीलाई बढाउँदै लैजाने उहाँको तयारी छ ।

धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले खेतका गह्रा,पाखो बारी र खोला बगरमा व्यावसायिक रुपमा केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मिहिनेत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघि सम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक कार्कीले बताउनुभयो ।

त्यसैगरी अर्का कृषक थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केरा खेती गर्नुभएको छ । “खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा धान फल्ने खेतमा अहिले केरा लगाएको हुँ”, थापाले भन्नुभयो ।

यहाँका सबै कृषकले केरा खेती गरेका छन्, गाउँको करीब २० हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । अबको दुई वर्षपछि वगरफाँट केराफाँटमा परिणत हुने भएको छ । करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केरा खेती गरेका छन् । दश–पन्ध्र घारी केरा नलगाएको घर नै छैन ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केरा खेती प्रभावकारी विकल्प बनेको बेनी नगरपालिका २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । यहाँका कृषकले करीब पाँर्च हजार केराका बिरुवा लगाएका छन् । पकाएको प्रति १२ कोसा रु सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकले बताएका छन् ।

बिरुवा लगाएको डेढ वर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केरा खेतीका लागि अनुकूल मानिन्छ । बेनी नजीकै भएकाले कृषकलाई बजारको समस्या छैन । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् ।

बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?