गठबन्धनको पक्षमा भोट माग्ने पत्रकार संगठनलाई आयोगको सोध्यो २४ घण्टे स्पष्टीकरण

Read Time = 3 mins

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार संगठनहरूसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नका लागि गठबन्धनमा आबद्ध दलनिकट पत्रकारका संगठनले शनिबार विज्ञप्ति निकालेर आग्रह गरेका थिए । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेका अनुसार नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर प्रष्टीकरण बुझाउन निर्देशन दिइएको हो ।

पत्रकारका पाँच संगठनले जारी गरेको विज्ञप्तिले आयोगको ध्यानाकर्षण भएर स्पष्टीकरणसहित निर्देशन दिइएको प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिताविपरीत र पत्रकारिताको आचारसंहिताविपरीत हुन्छ कि हुँदैन ? भनेर सोधेको छ । पाँच संगठनका नेताहरूद्वारा विज्ञप्तिमा लेखिएको थियो, ‘राष्ट्रिय एकता कायम गर्न, संविधान रक्षा गर्न, परिवर्तनका एजेण्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आमनेपाली मतदाता महानुभावहरूमा हार्दिक अपिल गर्दछौँ ।’

आयोगले यसरी पक्षधरता देखाएर विज्ञप्ति जारी गर्नु आचार संहिताविपरीत भएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले विज्ञप्तिमा हस्ताक्षर गर्ने प्रेस युनियनका बद्री सिग्देल, प्रेस सेन्टरका विष्णु सापकोटा, समाजवादी प्रेसका शम्भु श्रेष्ठ, प्रेस मञ्चका केशव अर्याल र प्रगतिशील पत्रकार संघका श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?