राष्ट्रपतिद्वारा बुद्धमूर्ति र बुटिक रिसोर्ट उद्घाटन

Read Time = 5 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व-उपाध्यक्ष सोनाम लामाको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपति भण्डारीले शुक्रबार उद्घाटन गर्नुभएको हो । सोही दिन राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान् विष्णुको प्रस्तर मूर्तिको शिलान्यास गर्नुभयो । विष्णुको मूर्ति निर्माणका लागि शिलान्याससँगै ३५ फिट अग्लो गौतम बुद्धको मूर्तिको अनावरणसमेत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विश्वमा बढ्दै गएको जलवायु परिवर्तनलाई ध्यानमा राख्दै मुक्तिनाथ क्षेत्रलाई पनि सोहीअनुसार विकास गर्नुपर्छ ।’ उहाँले सो क्षेत्रको धार्मिक पर्यटकबाट भएको आम्दानी मुक्तिनाथ क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी पर्यटकीय पूर्वाधारमा लगानी गर्न आग्रहसमेत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रको धार्मिक पर्यटकबाट भएको आम्दानी सोही क्षेत्रका जनताको जीवनस्तर उकास्ने गरी पर्यटकीय पूर्वाधारमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

एनआरएनएका पूर्व–अध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि भइरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धित निकायले जोड दिनुपर्ने बताउनुभयो । विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि नौ करोड रुपैयाँ लागत लाग्ने आँकलन छ । जसका लागि पूर्व–अध्यक्ष घलेले ५० लाख रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

बुद्धको मूर्ति निर्माणमा करिब छ करोड रुपैयाँ लगानी भएको छ । धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिरनजिकैको रानीपौवामा उल्लेखित संरचना बनाइएको हो । मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाइ छ । स्कन्द पुराणअनुसार करिब आठ सय वर्षपहिले साधुहरूले मन्दिर स्थापना गरेका थिए । हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरू पनि छन् । सन् २०१३ देखि उक्त परियोजनामा जुट्नुभएका लामाले आफ्नी श्रीमती र छोराछोरीसमेतको करिब छ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरेको बताउनुभएको छ ।

अमेरिकामा २७ वर्ष विभिन्न व्यवसायमा संलग्न लामा काठमाडांैको ठमेलमा पनि सय बेडको होटल लो मुस्ताङ सञ्चालनमा ल्याउने तयारीमा हुनुहुन्छ । लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले सो क्षेत्रमा धार्मिक र पर्यटक वृद्धि होस्, स्थानीयवासीको जीवनस्तर माथि पुगोस् र स्वच्छ सफा आकर्षक नगरी बनाउन आफ्नो परिवार नै मुस्ताङमा पूर्वाधार निर्माणमा अघि बढेको बताउनुभयो । लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय होटल संरचना अभावका कारण स्तरीय होटल निर्माण गरिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?