वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी

Read Time = 7 mins

-विराज रोस्यारा

कैलाली । कैलालीका चुरे पहाडसँग जोडिएका वनमा वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी गरीएको छ । जिल्लाको गोदावरी नगरपालिका-१२ मा रहेको रातोपानी सामुदायिक वनमा वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी गरीएको हो ।

स्थानीय उपभोक्ताका अनुसार करिब २० जति सालका रुख काटेर अन्दाजी पाँच हजार क्युफिट काठ वनभित्रै चिरान गरेर तस्करी भएको हो । सामुदायिक वनका अध्यक्ष कैलाश विक र केही वन कर्मचारीको संलग्नतामा सो क्षेत्रमा पछिल्लो समय व्यापक वन फडानी भइरहेको स्थानीयले बताएका छन् ।

रूख काटेर काठ तस्करीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समूहको कार्यसमितिका दुईजना सदस्यलाई स्थानीयवासीले पक्राउ गरी वन कार्यालयमा बुझाएका छन् । उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज ओझालाई पक्राउ गरेर वन मुद्दा चलाइएको सब-वन डिभिजन कार्यालय अत्तरियाले जनाएको छ ।

सामुदायिक वनका पदाधिकारीको संलग्नताविना ठूलो संख्यामा रूख कटान सम्भव नभएको उपभोक्ता भीमबहादुर विकले बताउनु भयो । ढलापडा रूखको केही क्युफिट काठ कटानको अनुमति लिएर वनका पदाधिकारीले फँडानी गरेको उहाँले आरोप लगाउनु भयो ।

‘कार्यसमितिकै पदाधिकारीको संलग्नता देखिएको छ । यसबारे छानबिन हुनुपर्छ,’ उपभोक्ता विकले भन्नुभयो, ‘वन कार्यालयले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याओस् ।’ वनका कर्मचारीको समेत मिलेमतो रहेको उहाँले दाबी गर्नुभयो । सामुदायिक वनबाट काठ तस्करीका घटना पटकपटक हुने गरेका विकले बताउनु भयो ।

काठ तस्करी गर्नेले सालका हरिया र सुकेका रुख काटेर वनभित्रै चिरान गरेर सःमिललाई काठ बेच्ने गरिएको स्थानीयको भनाइ छ । वनका अध्यक्ष विकले वन फँडानीको विरोध गर्दै आएका भनिएका समितिका सदस्य केशवराज जोशी र पदमराज जोशीलाई पदबाट हटाएर अतिक्रमण गर्न सहयोग गर्ने करन विक र ललिता ओडलाई सदस्य नियुक्त गरेको स्थानियको भनाई छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिकामा विगतदेखि नै सुकुम्बासी, मुक्तकमैया, बाढीपीडित तथा बिभिन्न सघं सस्थाका नाममा वन क्षेत्रको जग्गा अतिक्रमण हुने गरेको बताइएको छ । सुदूरपश्चिमको राजधानी समेत रहेको गोदावरी नगरपालिकाको अत्तरीया बजार क्षेत्र वरीपरी संस्थागत तथा निजि प्रयोजनका नाममा अतिक्रमण बढेको स्थानीयहरुको भनाई छ । बिभिन्न नाममा अतिक्रम हुने क्रम बढेपनि बनका कर्मचारी भने मुखदर्शक भएर बस्ने गरेको स्थानियको आरोप छ ।

डिभिजनल वन कार्यालय कैलालीका सूचना अधिकारी डबलबहादुर बोहरा अनुसार पक्राउ परेका दुईसहित १२ जनाविरुद्ध वन मुद्दा दर्ता गरिएको छ । “खासगरी जिल्लाका मुख्य सडक र सहायक सडक आसपासको वन क्षेत्र अतिक्रमण गर्ने प्रवृत्ति छ”, सूचना अधिकारी बोहराले भन्नुभयो, “कतिय ठाउँमा वन उपभोक्ता समितिका पदाधिकारी स्वयं अतिक्रमणमा लाग्दा अतिक्रमण रोकथाम गर्न समस्या भइरहेको छ ।”

वन फँडानी भएको ठाँउबाट दुईजनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सब-वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडालले जानकारी दिउनुभयो । उहाँले वन फँडानीमा सामुदायिक वनका पदाधिकारीसमेत संलग्न रहेको देखिएको बताउनुभयो ।

मन्त्रालयद्वारा छानबिन समिति गठन

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रातोपानी सामुदायिक वनमा भएको वन फँडानीबारे छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सचिव वेदकुमार ढकालले मन्त्रालयका उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको बताउनुभयो ।

सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको उहाँले बताउनु भयो । उपभोक्ताहरुले वनका अध्यक्ष कैलाश विक र वन कार्यालय अतरीयाका कर्मचारीको मिलेमतोमा वन फडानी भएको भन्दै उजुरी दिएका छन् । उनीहरुले दोषिलाई पक्राउ गरेर मुद्धा दायर गर्न माग गरेका छन् ।

उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो । निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो  ।

उहाँले वन फँडानी भएको देखिएको भन्दै फँडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो । पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?