कांग्रेस नेता निधि र मन्त्री गडकरीबीच भेटघाट, नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँदिल्ली । पूर्व-उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व-उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ । सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या-भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गर्नुभएको छ ।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरूलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिनुभएको थियो । यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गर्नुभएको छ ।

यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको थियो । भेटमा दुवै देशको सडक, जलस्रोत, ऊर्जा विकास तथा बाढी नियन्त्रण लगायत विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री गडकरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मा पनि सहभागी हुनुहुन्थ्यो । त्यस अबसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सार्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?