५० शैय्या विस्तार घोषणाको सात वर्षपछि बल्ल सेवा दिने अवस्थामा जाजरकोट अस्पताल

हिमालय टाइम्स
Read Time = 4 mins

सुर्खेत । ५० शैय्या विस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालले बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत् सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शैय्याबाट ५० शैय्यामा विस्तार गरिएको थियो ।

२६ असार ०७७ मा अस्पतालले नयाँ भवन निर्माण सुरु गरेको थियो । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ । ३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरू गरेको निर्माण कम्पनी सिनर्जी ज्ञानज्योति, क्षितिज जेभी काठेश्वर काठमाडौंले तोकिएकै मितिमा सम्पन्न गर्न तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले जानकारी दिनुभयो ।

२५ पुस ०७९ भित्र निर्माण कार्य पूरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिनुभयो । भवनको १६ असोज ०७७ तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गर्नुभएको थियो ।

६ वटा नयाँ अत्याधुनिक भवन निर्माण जारी रहेको गौतमले बताउनुभयो । चारवटा भवनको रङरोगन सम्पन्न भएको र दुईवटा भवनमा रङरोगन चलिरहेको उहाँले बताउनुभयो । भौतिक संरचना अभावमा उपचारमा समस्या आएपछि धेरै नै आलोचना भएपछि तत्कालीन वनमन्त्री बस्नेतले अत्याधुनिक भवन बनाई सेवा प्रवाहलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

उहाँको यो चुनावी नारासमेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० शøयामा स्तरोन्तति भए पनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो । प्रदेश सरकारको ५० लाख रुपैयाँ लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहज होस् भनी केही संरचना निर्माण गरिएको थियो ।

सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शैय्या विस्तार भएका थिए । अन्य जिल्लामा १५ शैय्याका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पतालभन्दा छिमेकी जिल्लाका अस्पताल १५ शैय्याका अस्पताल रहेका छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरू भएको छ ।

अस्पताल प्रदेश मातहतमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरूको निर्माण जारी रहेको छ । पालिकाले आफैं तलबभत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृत भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?