मतदाता भन्छन्-‘आश्वासनले तिर्खा मेटिँदैन, हामीलाई पानी चाहियो’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । ‘आजभोलि दिनदिनै नेताहरू भोट माग्न आउँछन्, तपाईंहरूको समास्या के छ ? हामी समाधान गरिदिन्छौँ, यसपटक जिताइदिनु पर्‍यो, वृद्धभत्ता पनि बढाउँछौँ, सडक पिच गर्छांै भन्छन्, चुनाव जितेर गएपछि पहिलेकै जस्तो होला, हामीलाई धेरैपटक नेताहरूले भ्रममा पारे ।’ बागलुङको निसीखोला–२ का वीरबहादुर विकलाई नेताहरूले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिन थालेको ३० औँ वर्ष भयो ।
३० वर्षको अवधिमा धेरै सरकार फेरिए । यस क्षेत्रले धेरै सांसद पायो । कति त मन्त्रीसमेत भए । तर, उहाँको घरमा अहिले पनि खानेपानीको धारो बन्न सकेको छैन । खानेपानीको जोहो गर्न दैनिक चार घण्टा खर्चिनुपर्छ । गाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट ग्रसित छन् । मंसिर ४ को निर्वाचनका लागि अहिले पनि नेताहरू घर-घरमा पुगेर पुरानै आश्वासन दोहोर्‍याइ रहेका छन् । विकसहित गाउँलेहरू यसपालि पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिने योजनामा छन् ।

विक भन्नुहुन्छ- ‘गाउँ नजिक खानेपानीको मुहान नहुँदा हामीहरूले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ, अहिलेसम्म हाम्रो क्षेत्रबाट धेरैलाई नेता बनाइयो, धेरैलाई सांसद बनाइयो, तर हाम्रो अवस्था फेरिएन, उनीहरू सत्तामा पुगे, खाली हामीलाई झुटा र उधारा बाचा दिए पानी ल्याइदिन्छौँ भनेर, हामीहरू ल्याउलान् भनेर आशा गर्‍यौँ तर पानी आएन, अहिले पनि चुनाव आएको छ, नेताहरू दिनदिनै गाउँमा आएर भोट माग्छन्, अब त अति भयो, हामीहरू एकजुट भएर पानी ल्याइदिने प्रतिबद्धता गराएर मात्रै भोट दिन्छौँ नत्र दिन्नौँ ।’

निसीखोला गाउँपालिका-२ को अर्नाकोट र सिँडेरीका २२० भन्दा बढी घरधुरीका सयौँ नागरिक अहिले खानेपानीको अभावमा छन् । वर्षातको समयमा घ्याम्पोमा संकलन भएको पानी करिब डेढ महिना पुर्‍याउनुपर्ने बाध्यता आफूहरूलाई रहेको स्थानीय छलिबिरा विकले बताउनुभयो । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार नै मच्चिने बतानुहुन्छ । भोट माग्न आउने नेताले खानेपानी ल्याइदिएको भए अहिलेसम्म आफूहरू जीवनस्तर माथि उकासिसक्ने बताउनुहुन्छ ।

‘चुनाव आयो कि नेताहरू पानी बाँड्न आउँछन्, उनीहरूले पानी ल्याइदिन्छौँ भन्न लागेको दशकौँ भयो, भनेको बेला पानी ल्याइदिएको भए, अहिलेसम्म हाम्रो जीवनशैली बदलिन्थ्यो, घण्टौँ पानी बोकेर दिन बिताउनुपर्ने थिएन, बिहान उठेदेखि पानी बोक्न सुरु गरेको राति नसुतुन्जेल पानी बोक्नुपर्छ’ छलिबिराले भन्नुभयो- ‘हाम्रो समस्या कसले देख्ने ?, कसले बुझ्ने ?, खाली भोट माग्न आउने, नानाथरी आशा देखाएर भोट लगेर जाने, हाम्रो समस्या नबुझ्ने अब भोट दिन्नौँ ।’

उहाँले घण्टौँको यात्रा गरे पानी बोकेर ल्याउनु पर्दा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने हुँदा छोराछोरीको पढाइसमेत बिग्रिने गरेको गुनासो गर्नुभयो । खानेपानीको धारो र विद्यालय टाढा हुँदा गाउँका धेरै बालबालिका पढ्दा पढ्दै छोड्ने गरेको विकको भनाइ छ । अर्नाकोट र सिँडेरी गाउँका सयौँ नागरिकमाथि नेताहरूले भ्रम छर्ने मात्रै गरेको उहाँ बताउनुहुन्छ ।

‘भोट माग्न आउँदा एक घर एक धारो बनाउँछौँ, तपाईंहरूको समस्या समाधान गर्छौँ भन्छन्, चुनाव जितेर गए भने हाम्रा समस्या उनीहरूसामु राख्न पनि पाइँदैन, एकपटक पनि फर्किएर यो गाउँमा आउँदैनन्, चुनाव आयो भने नमस्कार गर्दै आश्वासन देखाउन आउँछन्,’ उहाँले भन्नुभयो, ‘नमस्कारले र तिनीहरूले दिएको आश्वासनले हाम्रो तिर्खा मेटिँदैन, हामीलाई पानी चाहियो, पानी नदिए हामी भोट पनि दिँदैनौँ, हाम्रो भोटले उनी मन्त्री बन्ने सांसद बन्ने हामी काकाकुल नै रह्यौँ ।’

अर्नाकोटका अधिकांश स्थानीयहरू पानी बोक्नको लागि ढोरपाटन नगरपालिका-५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । लामो समयदेखि खानेपानीको माग गरे पनि काकाकुल अर्नाकोटवासीको चित्कार कसैले नसुनेको स्थानीय झमबहादुर कुँवरले बताउनुभयो । उहाँले गाउँको समस्याको बारेमा सरोकारवाला निकाय सबै ठाउँमा हारगुहार गरे पनि खानेपानी समस्याको समाधान गर्न नसकेको बताउनुभयो ।

‘गाउँको समस्या लिएर धेरै ठाउँमा माग राखियो, मन्त्री सांसद सबैलाई भनियो, जताततैबाट आश्वासन मात्रै आयो तर पानी अहिलेसम्म आएन, अर्नाकोट उच्च पहाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान वरपर छैन, सानोतिनो भएको मुहान पनि सक्दै गए,’ उहाँले भन्नुभयो-‘यहाँ यति ठूलो बस्ती छ, तर पानीको स्रोत छैन, वर्षौं भयो यहाँका मान्छेले पेटभरी पानी पिउन पाएका छैनन्, आयआजन गर्ने अधिकांश समय पानी बोक्नमै बित्छ, तरकारी पनि राम्रोसँग उब्जाएर खाने अवस्था छैन, गाउँमा धेरै गरिब दुःखी मान्छे छन् त्यसमाथि खानेपानीको समस्या हुँदा दैनिकी चलाउन पनि सकस हुन्छ ।’

स्थानीय दीपक विकले खानेपानीको समस्याले गर्दा गाउँका हुनेखानेहरू बसाइँसराइ गरिरहेको बताउनुभयो । अहिले गाउँमा गरिब, दुःखी र बसाइँसराइ गरेर अन्त जान नसक्नेहरू मात्रै रहेको विकको भनाइ छ । उहाँले अर्नाकोटवासीको मुख्य समस्या खानेपानी भएको भन्दै नेताहरूले उनीहरूको पीडा नबुझ्ने तर चुनावमा तिनै स्थानीयको मतको महत्व बुझ्ने गरेको बताउनुहुन्छ ।

‘अहिले गाउँमा गरिब, दुःखी मात्रै हुन थाले, खानेपानीको समस्याका कारण हुने खानेहरू धमाधम बसाइँ सरेर जान थाले, यो ठाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, तर खानेपानी र यातायातको सहज उपलब्धता नहुँदा ओझेलमा परिरहेको छ,’ विकले भन्नुभयो, ‘चुनाव आयो, यति बेला नेताहरू यहाँका स्थानीयहरूको घरघरमा आएका छन्, उनीहरूलाई यहाँका जनताका समस्याको वास्ता छैन, सोझासाझा जनतालाई कसरी हुन्छ झुक्याएर भोट माग्ने मात्रै उनीहरूको योजना छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?