नबिल र डोको रिसाइक्लर्सबीच सम्झौता

Read Time = 3 mins

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुन सक्ने विभिन्न खालका फोहोर व्यवस्थापन सम्झौता भएको छ । सम्झौताअनुसार डोकोले नबिल बैंकमा रहेका काम नलाग्ने कागजपत्र टुक्र्याई पुनः प्रयोग गर्ने, कुहिने/नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजात व्यवस्थापनको कार्य गर्नेछ । बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजका फोहोर टुक्र्याई पुनः प्रयोगयोग्य बनाउने, डिस्पोजल कार्य वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागज कच्चा पदार्थका रूपमा प्रयोग गरी रुख बचाऊ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ ।

त्यसैगरी व्यवहार परिवर्तन गर्न बैंकका कर्मचारी तथा ग्राउण्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ । सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजात श्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख छ । सम्झौताले बैंकले लिएको दिगो बैंकिङ अवधारणालाई टेवा पुग्ने बैंकले जनाएको छ ।

सरकारले अवलम्बन गरेको दिगो विकास लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ सुरुवात गरेको हो । सुरुमा १७ शाखाबाट सुरु गरेको दिगो बैंकिङ सेवा बैंकले हाल सय शाखामा विस्तार गरेको छ । निजी क्षेत्रको अग्रणी बैंक नबिलका हाल देशभर २३३ शाखा र २६९ एटिएम काउण्टर रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?