राजाको पुलमा चल्न थाले सवारी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । गत वर्षसम्म गलकोट नगरपालिका-५ र ६ जोड्ने मोटरेवल पुल निर्माण भएको थिएन । गलकोटे राजाको दरबारसहित हरिचौर जाने पक्की मोटरेवल पुलमा अहिले सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएपछि नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुंगे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती खेपेका थिए । भत्केको झोलुंगे पुल गतवर्ष बनेर चल्न थालेको छ भने सोही पुलकै छेवैमा मोटर चल्ने पुल पनि बनेको हो ।

यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोला माथिको ‘राजाको पुल’ बनेपछि वर्षातमा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुंगे पुलमा यात्रा गरेकाहरूले सवारीसाधन लिएर यात्रा गर्न सक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताउनुभयो । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारी साधनले भैंसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तीमा ५ किमी लामो पर्छ ।

हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यको रूपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारिपारि खेत भएकोले किसानले खेती लगाउनेदेखि भित्र्याउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । ‘पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिँड्नुपथ्र्यो, अहिले सजिलो भयो’ स्थानीय सरिता निउरेले भन्नुभयो, ‘अहिले हटिया बजार जानु परे पनि पैदलै १५ मिनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैँसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उहाँले बताउनुभयो ।

यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकोले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जयबाबा गोरखा/ओखलढुंगा संयुक्त निर्माण कम्पनीले पाँच करोड नौ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरबार र पुरानो सदरमुकाम घुम्न चार किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।

तत्कालीन गलकोटे राजा भरतबम मल्लको आग्रहमा दरमखोलामा झोलुंगे पुल बनेका थिए । एक सय वर्ष पुराना ती पुल सबै भत्केर जीर्ण भएपछि कतिपयको भग्नावशेषसमेत मेटिएको छ । गलकोट नगरपालिकाले आफ्नो आन्तरिक श्रोतसहित गण्डकी प्रदेशको संयुक्त लगानीमा पुराना झोलुंगे पुल पनि बनाएको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

सडक नआउन्जेल झोलुंगे पुलले काम दिए पनि केही वर्षदेखि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । सवारी आउन थालेपछि पक्की पुलको माग बढेको थियो । दुवै खोलामा पक्की पुल नबनुन्जेल नगरपालिकामा काम विशेषले आउनेले पनि सवारी चढ्न पाएका थिएनन् । वडा नंं ५ को बाटो आउनेले दरमखोला पारि र वडा नंं ३ को बाटो आउनेले गौदीखोला पारि सवारी रोकेर पैदल हिँडेपछि मात्रै नगरपालिका कार्यालय पुगिन्थ्यो ।

यी पुल बनेपछि गलकोटदेखि ताराखोला जाने सडक पनि सहज बनेको छ । ‘हामी आएपछि गलकोट नगरभित्रै चारवटा पक्की पुल बनेका छन्, अझै दुई÷तीनवटा बनाउन बाँकी छ’ गैरेले भन्नुभयो, ‘बजेट र कार्यक्रमको खोजीमा छौँ ।’ लामो समयदेखि अलपत्र रहेको वडा नंं ७ र ८ जोड्ने दरमखोला पुलको काम सक्न पनि ताकेता गरेको उहाँले बताउनुभयो । महत्वपूर्ण पुल निर्माणमा संघीय सरकारको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?