घर चलाउन जंगलको वास

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । घरको आर्थिक अवस्था कमजोर भए पछी घर चलाउने खर्चको जोहो गर्न रोल्पाका दुई दाजुभाइ गत चैत्र देखी दाङको एक सामुदायीक वनमा वस्दै आएका छन । रुन्टीगढी गाउँपालिका-१ गैरीगाउँ रोल्पाका सुरेश बुढा मगर र नवीन बुढा मगर जङ्गलमै पाल टाँगेर खोटो सङ्कलन गर्न दाङको बंगलाचुली गाउँपालिका-८ को गोगनपानी सामुदायिक वन समूहको रानीबास जङ्गलमा बस्दै आउनुभएको हो ।

जङ्गलको छेउमा घर नभएको र टाढाबाट काममा आउनु पर्दा ढिला हुने भएकाले जङ्गलमै बस्नु परेको दाजु सुरेश बुढा मगरले बताउनुभयो । ‘वर्षाको समय र पहाडी ठाउँ भएकाले चिसो र हिलोले समस्या हुन्छ’, सुरेशले भन्नुभयो, । जङ्गलमा बस्दा रातीको समयमा किरादेखि जङ्गली जनावरको तरसोले भने उहाँलाई सताइ रहन्छ । जङ्गलमा बसेर काम गर्नुपर्दा जोखिम भए पनि घर चलाउने बाध्यता यी दाजुभाइको छ ।

खोटो सङ्कलन गरेबाफत प्रतिक्विन्टल दुई हजार रूपैयाँ प्राप्त हुन्छ । शुरेसलाई सल्यान, खोटाङ, रोल्पाललगायतका जिल्लामा समेत खोटो सङ्कलनको अनुभव छ । बाहिर जिल्लामा काम गर्दा घर नजिकै भएका कारण कोठा भाडा लिएर बस्ने गरे पनि अहिले बस्ती टाढा भएकाले जङ्गलमै बस्नुपर्ने बाध्यता उहाँहरुमा छ । जङ्गलमा बसेर खोटो सङ्कलनका लागि राम्रो रूखको पहिचान गर्ने, त्यसलाई ताछ्ने, खोटो सङ्कलनका लागि एसिड हाल्ने र रूखमा सोली राख्ने काम उहाँहरुको हो ।

जङ्गलमा बसेर काम गर्दा अन्य समयमा दुःख नहुने गरे पनि वर्षा याममा समस्या हुने गरेको नविन बताउनुहुन्छ । ‘पानी नपरेको समयमा जङ्गलमा बस्दा ठिकै हुन्छ तर पानी पर्‍यो भने बस्न र पकाउन निकै समस्या हुन्छ’, सुरेशले भन्नुभयो । उहाँकाअनुसार सल्लाको रूखबाट चैत-बैशाखदेखि मंसिर-पुस महिनासम्म खोटो सङ्कलन गर्ने गरिन्छ । चिसो मौसममा खोटो कम निस्कने भएकाले खोटो सङ्कलन कार्य बन्द गरिन्छ । बाहिर देश जाने रहर भए पनि दाजुसँगै आफ्नै ठाउँमा काम गर्न पाएकोमा नविन खुसी व्यक्त गर्छन ।

बंगलाचुली गाउँपालिका वडा नं. ८ का ओखलढुङ्गा, गोगनपानी र दैलेढुङ्गा सामुदायिक वन समूहबाट खोटो सङ्कलन गर्ने गरिन्छ भने जिल्लाभर १० वटा सामुदायिक वन समूहबाट खोटो सङ्कलन गरिँदै आएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?