प्रधानमन्त्रीले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढ्न दलहरुलाई आग्रह गर्नुभएको छ : सञ्चारमन्त्री शर्मा

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक इस्यूहरुमा सहकार्य गरेर अघि बढन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नु भएको छ ।

मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उहाँले सो आग्रह गर्नु भएको हो । राष्ट्रियतालगायतका सबै राजनीतिक इस्यूहरुमा सहकार्यका साथ अघि बढन बैठकमा प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गर्नु भएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले तटस्थताको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पदको चयनबारे पनि छलफल गरेर अघि बढन सकिने ओपन धारणा राख्नु भएको उहाँको भनाई थियो ।

सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नु भयो, ‘देशमा हुने सम्पूर्ण राजनीतिक इस्यूहरुमा सहमतीका प्रयत्नहरु भईराख्नु पर्छ । सहमतीका साथ अगाडि बढनुपर्छ भन्ने भावहरु प्रधानमन्त्रीले राख्नु भयो । त्यसलाई सबैले सकारात्मक रुपमा लिनु भयो । एउटा सदभाव बैठक जस्तो गरेर आजको बैठक टुंगियो । राष्ट्रिय इस्यूसहितका सम्पूर्ण विषयहरुमा के गर्न सकिन्छ भनेर एक खालको ओपन दृष्टिकोण प्रधानमन्त्रीले राख्नु भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखबारे यही गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको धारणा थिएन । होइन । त्यसमा चाँही समय क्रममा सबै राजनीतिक इस्यूहरुमा सहमतीका साथ अगाडि बढनु पर्छ । जस्तो राष्ट्रियताको इस्यूहरु हुन्छन । सीमा समस्याका इस्यूहरु हुन्छन । अरु पनि थुप्रै इस्यूहरु हुन्छन । अव तपाईहरुले भनेजस्तौ तटस्थताका विभिन्न पदहरुको इस्यूहरु पनि हुने भए । ती सबै विषयहरुमा छलफल, सहकार्य गरेर सहमतीको आधारमा अगाडि बढनु पर्छ भनेर भन्नु भयो । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूको यस्तो समय रह्यो कि जसले यो संसदबाट असाधारण बहुमत प्राप्त गर्नु भयो । त्यसले निम्ति उहाँले सबै दलहरुलाई थ्यांक भन्नु त उहाँको दायित्व र कर्तव्य पनि हो । उहाँले विशेषतः त्यही भन्नु भयो । अरु सबै दलहरुले पनि सकारात्मक धारणा राख्नु भएको थियो । एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको पनि धारणा सकारात्मक थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा सत्तारुढ दलको नेता, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनु भएको ओलीले सबै राजनीतिक दलहरुलाई उहाँले पनि धन्यवाद भन्नु भयो ।’

बैठकमा एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको भन्दै सत्तारुढ दलहरुको तर्फबाट सबै राजनीतिक दलहरुलाई धन्यवाद समेत दिनु भएको थियो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै राष्ट्रिय इस्यूहरुमा भने सहमती गरेर अघि जान तयार रहेको धारणा राख्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?