✍️ प्रा.डा.भूपप्रसाद धमला
बीसौं शताब्दीको पूर्वाद्र्धमा सामन्तवादविरोधी राजनीतिक चेतनाको अंकुरण भएसँगै नेपालमा मूलतः दुई प्रकारका राजनीतिक शक्तिहरू अस्तित्वमा रहिआएका छन् । एक थरी राजनीतिक शक्ति परिवर्तनका पक्षधर भए भने अर्को थरी शक्ति निरंकुशतन्त्रको हिमायती रहे । उनीहरूको राजनीतिक चरित्रको हिसाबले मूलभूत रूपमा क्रमशः क्रान्तिकारी र यथास्थितिवादी भनियो । राणाशाहीको अन्त्य भएपछि त्यो शासनको पक्षमा त खासै कसैले बोलेनन् तर शाहबंशीय राजतन्त्रको पक्षमा केही राजनीतिक पार्टीहरूले पछिसम्म पनि कुनै न कुनै कुरा गर्दैरहेका छन् । गणतन्त्रको स्थापना भएपछि भने यथास्थितिवादी राजनीतिक शक्ति नगन्य अस्तिवमा रहेको छ ।
क्रान्तिकारी भनिएका राजनीतिक शक्तिबीच पनि दुइटा उपभेद थिए । एकथरी राजनीतिक शक्ति लोकतन्त्रका पक्षपाती रहे भने अर्काथरी साम्यवादका पृष्ठपोषक । पहिलो खाले शक्तिका सूत्रधार नेपाली कांग्रेसका नेता बीपी कोइरालाले सर्वप्रथम प्रजान्तान्त्रिक समाजवादको राजनीतिक विचारधारा बीजारोपण गरेका थिए भने दोस्रो खाले राजनीतिक शक्तिका प्रणेता नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलालले नौलो जनवादको प्रचार गरेका थिए । भिन्न राजनीतिक विचारधाराबाट निर्देशित भएको हुँदा उनीहरूका सिद्धान्त र तरिका पनि बेग्ल–बेग्ला बेग्लै हुने भइहाले ।
बोलचालको छोटो भाषामा कांग्रेस र कम्युनिष्ट भनिने शक्तिहरूका बीचमा सुरुको कालखण्डमा शत्रुतापूर्ण अन्तरविरोध थियो । नेपाली कांग्रेसले नेपालमा संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र स्थापना गर्ने मूल लक्ष्य बनाएको थियो भने नेपाल कम्युनिष्ट पार्टीले चीनको जस्तो नौलो जनवाद ल्याउन खोजेको थियो । ती दुई राजनीतिक शक्तिका बीच वैचारिक बहस तीव्र हुने गथ्र्याे । तथापि पञ्चायत व्यवस्थाको ती दुवै शक्तिले आ–आफ्नो हिसाबले चर्को विरोध गर्थे । जे होस् सन् १९९० सम्म आइपुग्दा ती दुई शक्तिहरूको अगुवाइमा संयुक्त जनआन्दोलनमार्फत् पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रसहितको बहुदलीय लोकतन्त्रको स्थापना भएपछि उनीहरूबीचको शत्रुतापूर्ण अन्तरविरोध क्रमशः मित्रतापूर्ण प्रतिस्पर्धामा रूपान्तरित हुँदै गयो । समग्र देश बहुदलीय प्रतिस्पर्धामा आधारित शासन प्रणालीमा अभ्यस्त बन्यो ।
राजनीतिक अन्यौल :
पञ्चायती व्यवस्था रहुन्जेल कांग्रेस र कम्युनिष्ट दुई ठूला राजनीतिक शक्तिका बीच आफूले अपनाएको राजनीतिक विचारधारा, सिद्धान्त, कार्यदिशामा खास अलमल थिएन । नेपालमा राजनीतिक अन्यौल तब नै सुरु भयो जब कांग्रेस–कम्युनिष्ट मिलेर पञ्चायत व्यवस्थाको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्ने आन्दोलन चलाए । यसो भन्नु समकालिक राजनीतिमा विल्कुल अचम्म लाग्ने कुरा हो । झट्ट सुन्दा यो उल्टो दाबी हो किनभने अधिकांशको विश्वास छ-कांग्रेस-कम्युनिष्टले गरेको संयुक्त आन्दोलनले मात्र लोकतन्त्र ल्यायो, त्यत्तिले चित्त नबुझेर संघीय गणतन्त्र पनि ल्यायो, लामो समयदेखि नेपाली जनताले चाहेको जस्तो व्यवस्था आयो, त्यसले नै सबैको मनमस्तिष्कमा खुशियाली ल्यायो । उनीहरूको तर्क हुन्छ-कांग्रेस-कम्युनिष्ट मिलेर संयुक्त आन्दोलन नगरेको भए पञ्चायत व्यवस्थाकै अन्त्य हुने थिएन, गणतन्त्रको स्थापनाको त कुरै छोडौँ ।
पञ्चायती व्यवस्था रहुन्जेल कांग्रेस र कम्युनिष्ट दुई ठूला राजनीतिक शक्तिका बीच आफूले अपनाएको राजनीतिक विचारधारा, सिद्धान्त, कार्यदिशामा खास अलमल थिएन । नेपालमा राजनीतिक अन्यौल तब नै सुरु भयो जब कांग्रेस र कम्युनिष्ट मिलेर पञ्चायत व्यवस्थाको अन्त्य गर्दै लोकतन्त्रको स्थापना गर्ने आन्दोलन चलाए ।
तर, सवाल एउटा व्यवस्था फाल्ने र अर्को ल्याउने कुरामा सीमित हुँदैन । बरू त्यसबाट जनता र राष्ट्रलाई के उपलब्धि प्राप्त भयो भन्ने कुराले परिवर्तनको सार्थकता पुष्टि हुने हो । लोकतान्त्रिक आन्दोलनले लोकतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक यात्रा त पूरा ग¥यो तर आर्थिक सांस्कृतिक रूपान्तरण गर्न सकेन । जनताको जीवनस्तर नै उकास्न सक्यो न त सुसंस्कृत समाज बनाउन सक्यो । बलिदानपूर्ण संघर्षबाट परिर्वतीत व्यवस्थाले जीवनस्तरमा परिवर्तन ल्याउन सक्नुपर्ने हो तर राजनीतिक व्यवस्थालाई साधन र जनताको जीवनलाई साध्य मान्ने अभ्यास नेपाली राजनीतिमा कहिल्यै देखिएन । विद्यमान राजनीतिक अभ्यासका उपर प्रश्न गर्ने, वैकल्पिक आँखाले हेर्ने, कमी कमजोरीलाई हटाउने र राजनीतिलाई अझ परिष्कृत बनाउने संस्कृति हामीकहाँ आजसम्म विकास भएन ।
सन् १९९० पछिका दुवै राजनीतिक परिवर्तन युगान्तकारी हुन् । त्यसपछिका दिनमा धेरै सरकार बन्दै फेरिँदै गए । एउटामात्र पार्टीको बहुमतको सरकार बनेर पनि सरकार टिक्न सकेनन् । मिलिजुली सरकार त झन् खिचडी जस्तै हुने भइहाल्यो । यथार्थमा भिन्न राजनीतिक पृष्ठभूमि र विचारधारा भएका पार्टीहरूको संयुक्त सरकार बन्न थालेदेखि राजनीतिक अन्योल सुरु भएको हो । हालैमात्र गठन भएको सरकार दुई ठूला कम्युनिष्ट पार्टीको करिब दुई तिहाइ र बाँकी पाँचवटा गैरकम्युनिष्ट पार्टीको करिब एक तिहाइ सांसद संख्याको गठजोडबाट बनेको छ ।
भरखर बनेको सरकारको क्रियाकलापको सय दिन पनि पूरा नहुँदै नकारात्मक पूर्वानुमान गर्नु हुँदैन तर एउटा कुरा पक्कै भन्न सकिन्छ– वैचारिक र सैद्धान्तिक धरातल फरक भएका कम्युनिष्ट र गैरकम्युनिष्ट पार्टीहरूको सरकार नाटकीय रूपमा तीन घण्टाभित्रै बन्नु असम्भव नभए पनि आश्चर्यजनक अवश्य हो । परन्तु विगतमा जस्तो बीचैमा विघटन हुने दिन नआओस् । यसो हुनु राजनीतिक अस्थिरताको पराकाष्टा हुनेछ । तर यस्ता विविध राजनीतिक विचारधारा अँगालेका धेरैवटा पार्टीहरूको संयुक्त सरकारले दिगो विकासका सम्भावनालाई ओझेल पारेर दैनिक प्रशासनको तालमेल गर्नमै अधिकांश समय खर्चेला भनेर आशंका गर्नु अन्यथा हुनेछैन । राजनीतिक अन्यौल भनेकै यही हो ।
अन्यौलको मूल कारण :
राजनीतिक कार्यदिशा अलमलिनुको मुख्य कारण राजनीतिक विचारधारामा अलमल हुनु हो । अन्यौलग्रस्त विचारधारा अंगीकार गरेर गन्तव्यहीन यात्रा गर्नु हो । राजनीतिक सवाललाई गम्भीरतापूर्वक चिन्तन, मनन र विश्लेषण नगरी एकोहोरो अमूक शक्तिलाई जिन्दावाद र अर्को अमूक शक्तिलाई मूर्दावाद भन्नु हो । कुनै वाद वा विचारधारा निरपेक्ष रूपमा सत्य हो भनि ठान्नु र त्यसकै पछि अन्धभक्त भएर लाग्नु राजनीतिक कमजोरी हो । कमजोर राजनीतिक धरातल भएका राजनीतिज्ञबाट चरण-चरणमा गल्ती हुन्छन् जसलाई सच्याउन उनीहरू तयार हुँदैनन् किनभने ती गल्ती कमजोरी हुन् कि होइनन् उनीहरूलाई थाहा हुँदैन ।
फेरि कतिपय त थाहा पाएर पनि बुझ पचाउने र आफ्ना कमजोरी लुकाउने हुन्छन् किनभने उनीहरू कमजोरीको आत्मालोचना गर्नु लज्जाजनक हुन्छ भन्ठान्छन् । थाहै नपाउनु वैचारिक कमजोरी हो भने थाहा पाएर पनि लुकाउन खोज्नु राजनीतिक अपसंस्कृति हो । दूर्भाग्यबस हामीकहाँ यी दुवै अवस्था विद्यमान छन् । यस आलेखमा मैले पहिलो सवाललाई मात्रै थोरै चर्चा गर्न खोजेको हुँ । राजनीतिक विचारधारा र राजनीतिक सिद्धान्त उस्तै–उस्तै लागे पनि यिनका बीचमा भिन्नता छ । पहिलोले समग्र जीवन र जगतलाई हेर्ने दृष्टिकोण निर्माण गर्छ र सोही अनुसारको चिन्तन प्रणाली विकास गर्छ भने दोस्रोले प्रचलित राजनीतिक मूल्य मान्यतालाई जनाउँछ । नेपालका ठूला राजनीतिक दलहरूमा विचारधारात्मक अन्यौल छ ।
दुई ठूला राजनीतिक शक्तिमध्ये नेपाली कांग्रेसको राजनीतिक विचारधारा लोकतान्त्रिक समाजवाद हो । कांग्रेसले यसको अत्यन्त सुन्दर व्याख्या गर्दै भन्छ- लोकतन्त्रसहितको समाजवाद अत्युत्तम राजनीतिक-सामाजिक व्यवस्था हो जहाँ सबै जनता सुखी हुन्छन् ।
दुई ठूला राजनीतिक शक्तिमध्ये नेपाली कांग्रेसको राजनीतिक विचारधारा लोकतान्तिक समाजवाद हो । कांग्रेसले अत्यन्त सुन्दर व्याख्या गर्दै भन्छ-लोकतन्त्रसहितको समाजवाद अत्युत्तम राजनीतिक–सामाजिक व्यवस्था हो जहाँ सबै जनता सुखी हुन्छन् । यहीँनेर गहिरिएर बुझ्नुपर्ने हुन्छ प्रत्येक नागरिकमा निरपेक्ष स्वतन्त्रता निहित हुने लोकतन्त्र र प्रत्येक नागरिक समृद्ध हुन पाउने अर्थतन्त्र कसरी एकसाथ चल्छ ? स्रोतसाधन प्रशस्त हुने र केही पनि नहुने नागरिकले समान रूपले आर्थिक उन्नति कसरी गर्न सक्लान् ? त्यस दिशातर्फ पर्याप्त छलफल, बहस, तर्क-वितर्क र समसामयिक परिमार्जन नगरी केही नेताको बुझाइमा मात्र सीमित रहेको लोकतान्त्रिक समाजवादको अन्यौलग्रस्त विचारधारा धेरै पटक सरकार बनाएर पनि कांग्रेसले व्यवहारमा उतार्न सकेको छैन ।
अर्को ठूलो राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी हो । माक्र्सवादलाई मूलभूत मार्गदर्शक सिद्धान्त मानिआएका कम्युनिष्ट घटकहरू वैचारिक रूपले छिन्नभिन्न अवस्थामा छन् । कोही बहुदलीय प्रतिस्पर्धामा आधारित जनवाद ल्याउने कुरा गर्छन् त कोही चीनको जस्तो एकदलीय व्यवस्था ल्याउने जमर्को गर्छन् । कोही शान्तिपूर्ण संघर्षका माध्यमबाट साम्यवादसम्म पुग्ने कुरा गर्छन् भने कोही सशस्त्र युद्ध गर्छन् अनि फेरि हठात् शान्ति प्रक्रियामा समाहित हुन्छन् । यसरी कहिले यस्तो हुँ त कहिले उस्तो हुँ भन्ने यी कम्युनिष्ट घटकहरूमा पनि वैचारिक अन्यौल अझसम्म कायम छ । यी शक्तिका विकल्पमा पनि केही साना दलहरू छिटपुट रूपमा देखापरेका छन् तर तिनीहरू झन् बढी अन्यौलग्रस्त छन् । त्यसकारण जबसम्म ठूला राजनीतिक शक्तिहरूले राजनीतिक विचारधारामा प्रष्ट भएर राजनीतिक सिद्धान्तको परिमार्जन गर्न र व्यवहारमा रूपान्तरित हुन सक्दैनन् तबसम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक हुने देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच