कसरी हुन्छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । निर्वाचन आयोगले सरकारसँगको परामर्शको आधारमा नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते तय गरेको छ भने उपराष्ट्रपतिको निर्वाचनलाई त्यसको आठ दिन पश्चात अर्थात् चैत्र ३ गते गर्ने घोषणा गरेको छ । सत्तारुढ दलहरूबीच राष्ट्रपतिको निर्वाचनलाई लिएर विवाद भइरहँदा निर्वाचन आयोगले आवश्यक तयारी जारी रहेको बताएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २८ गते र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ। आम जनतामा भण्डारी र पुनका उत्तराधिकारी चयन गर्ने निर्वाचन प्रणाली सम्बन्धी केही अस्पष्टता रहेकोले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी यो जानकारीमूलक सामग्री तयार पारिएको हो।

कसरी हुन्छ नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ?

नेपालको संविधान २०७२ को धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था गरिएको छ । उक्त धारामा गरिएको व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरू मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ। संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा कुल २७५ सदस्य र राष्ट्रियसभामा कुल ५९ सदस्य गरी ३३४ सदस्य संघीय संसदमा रहेका छन् । यसैगरी सातवटा प्रदेश सभामा कुल ५५० प्रदेश सभा सदस्यहरू रहेका छन् । यसरी राष्ट्रपतिको निर्वाचनमा कुल ८ सय ८४ मतदाता हुनेछन्।

धारा ६२ मै थप भनिएको छ–संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानुन बमोजिम फरक हुनेछ । संघीय संसद सदस्यहरू र प्रदेश सभा सदस्यहरूको फरक फरक मतभार गणना गर्दा हुने कुल मतभारको न्युनतम ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति वा उप राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।

कसरी हुन्छ मतभारको गणना ?

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार मतभार निकाल्दा सङ्घीय संसद्मा रहेका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल सङ्घीय संसद्तर्फको मतभार हुने व्यवस्था रहेको छ। त्यस्तैगरी प्रदेशसभातर्फका कुल सदस्य सङ्ख्याले नेपालको पछिल्लो जनसङ्ख्यालाई भाग गर्दा आउने भागफल प्रदेशसभातर्फको मतभार हुनेछ।

संविधान तथा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी कानुनअनुसार मतभार निकाल्न नेपालको ताजा जनगणनाको नतिजा आवश्यक पर्छ। केन्द्रीय तथ्यांक विभागले २०७८ सालमा पछिल्लो जनगणना संचालन गरेको भएतापनि जनसंख्याको अन्तिम परिणाम अझै सार्वजनिक गरिनसकेकाले यस्तो मतभार निकाल्न निर्वाचन आयोगले २०६८ सालको जनगणनाको परिणामलाई आधार मान्ने भएको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको छ।

आयोगले अपनाएको गणना सूत्रअनुसार सुरुमा सङ्घीय संसद्का दुवै सदनहरू प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यको कुल सङ्ख्यालाई जोडेर सङ्घीय संसद् तर्फको कुल सङ्ख्या निकालिन्छ। सङ्घीय संसद्का सदस्यको मतभार निकाल्न प्रतिनिधिसभामा रहेका २७५ सदस्य र राष्ट्रियसभामा रहेका कुल ५९ सदस्य गरी जम्मा ३३४ सदस्य सङ्ख्याले पछिल्लो जनगणनाअनुसार प्राप्त नेपालको कुल जनसङ्ख्यालाई भाग गरिन्छ। त्यसरी आएको भागफललाई फेरि १,००० ले भाग गर्दा आउने भागफल नै सङ्घीय संसद्तर्फका एक सदस्यले मत हाल्दा प्राप्त हुने मतभार हुन जान्छ।

विसं २०६८ सालको जनगणना अनुसार गरिएको त्यस्तो गणनाका आधारमा अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ रहेको छ।

त्यस्तैगरी सातवटा प्रदेशसभामा गरी कुल ५५० जना सदस्य संख्याले २०६८ सालमा गरिएको जनगणनाअनुसार प्राप्त नेपालको कुल जनसङ्ख्यालाई भाग गर्दा आउने भागफलाई पुनः १००० ले भाग गर्दा प्रत्येक प्रदेश सभा सदस्यको मतभार ४८ हुनजान्छ। यसअनुसार, संघीय संसद्का कुल ३ सय ३४ सदस्यको कुल मतभार ९ प्रति सदस्य ७९ का दरले २६ हजार ३ सय ८६ हुन आउँछ।

प्रदेशसभाका कुल ५ सय ५० सदस्यको कुल मतभार प्रति सदस्य ४८ का दरले २६ हजार ४ सय हुन आउँछ। यसरी राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मत ५२ हजार ७ सय ८६ हुन आउँछ। त्यसैले जितका लागि उम्मेदवारले २६ हजार ३ सय ९४ मत ल्याउनुपर्छ। उपराष्ट्रपति निर्वाचनको लागि पनि राष्ट्रपति निर्वाचनका लागि अपनाइएको विधि नै प्रयोग गरिन्छ ।

कुन दलको कति मत ?

राष्ट्रपतिको निर्वाचनमा मत हाल्नका लागि संघीय संसद् र प्रदेश संसद्मा गरी १४ दलको प्रतिनिधित्व छ। त्यस्तै, थप स्वतन्त्र सांसद र राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित गरिएका सांसद पनि छन्।

संघीय संसद्मा ९९ र सात प्रदेश सभामा १७६ सांसद रहेको नेपाली कांग्रेससँग सबैभन्दा बढी मत छ। एकजना निलम्बित सांसदको समेत मतभार जोड्दा कांग्रेससँग मात्रै १६ हजार २६९ मत छ।

त्यस्तै, एमालेसँग १५ हजार १५४, माओवादी केन्द्रसँग ७ हजार ६४९, राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५८०, राप्रपासँग २ हजार ४५०, जसपासँग २ हजार १४५ मत छ।

त्यस्तै, एकीकृत समाजवादीसँग २ हजार ५७४, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्ति पार्टीसँग ८१३, नेमकिपासँग २२३, राष्ट्रिय जनमोर्चासँग २०६, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र हाम्रो नेपाली पार्टीसँग ९६ मत रहेको छ ।

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारको रुपमा विजयी सांसदहरूको संख्या १८ छ। उनीहरूसँग कुल १०५० मत छ। स्वतन्त्रमध्ये केही सांसदहरू दल निकट मानिन्छन्, गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा विजयी भएका राजीव गुरुङ (दीपक मनाङे) एकीकृत समाजवादी प्रवेश गरेका छन्।

त्यस्तैगरी राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित तीन सांसद् छन्। उनीहरूको मत २३७ छ। तीनमध्ये एक विमला राई पौड्याल एमाले निकट र नारायण दाहाल माओवादी केन्द्र निकट हुन्। अर्का सांसद वामदेव गौतमले एमाले परित्याग गरेर हाल निष्क्रिय जस्तै रहेतापनि उनी नेकपा एकीकृत समाजवादी निकट मानिन्छन् । उनीहरूले आफू निकट दलको उम्मेदवारलाई मत हालेको खण्डमा दलीय आधारमा गरिएको मतभारको गणना तलमाथि पर्न सक्छ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नपाए के हुन्छ ?

राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने निर्वाचनमा उम्मेदवारले प्राप्त गरेको मत निर्वाचक मण्डल (संघीय संसद र प्रदेशसभाका सदस्य) को तत्काल कायम रहेको कूल मतको बहुमत नभएमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जना उम्मेदवारबीच मतदान हुने गरी पुनः निर्वाचन हुनेछ। दुई जना बीच निर्वाचन हुँदा पनि कसैले ५० प्रतिशत मत नकटाएमा पुनः मतदान हुनेछ। त्यसपछि हुने निर्वाचनमा भने सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुनेछ। अर्थात्, ५० प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छैन।

श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?