8th March | 2021 | Monday | 8:18:59 AM

प्रदेश १ प्रधानमन्त्री कपबाट बाहिरियो

  POSTED ON : माघ ९, २०७७ (९:०१ AM)

प्रदेश १ प्रधानमन्त्री कपबाट बाहिरियो

काठमाडौं । लगातार तीन हारसँगै प्रदेश १ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसँग ४ विकेटले पराजित भएसँगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।

प्रदेश १ ले प्रतियोगितामा तेस्रो हार व्यहोर्दा आर्मीले भने लगातार तेस्रो जित दर्ता गरेको हो । प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ बलमा ६ विकेट गुमाएर भेट्टाएको थियो । आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६, भीम सार्कीले २९, र राजेश पुलामीले अविजित २४ रन बनाउनुभयो ।

प्रदेश १ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले एक÷एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको प्रदेश १ ले ४०.१ बलमा सबै विकेट गुमाएर हुँदै १३१ रन बनाएको थियो । उसका विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै फिर्दोस अन्सारीले ३२, दीपक पासवानले १९ तथा दिपेश कँडेलले ११ रन जोड्नुभयो । आर्मीका शाहब आलमले चार तथा आकाश चन्दले तीन विकेट लिनुभयो ।

लगातार तेस्रो जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ को आर्मीले तीन खेलमा ६ अंक जोडेको छ । प्रदेश १ भने तीन खेलमा अंकविहीन रहेर पुछारमा छ ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको छ । सुदूरपश्चिमले दिएको १११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको थियो । पुलिसका लागि सुनिल धमलाले ५३ तथा कुशल भुर्तेलले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । सुदूरपश्चिमका हेमन्त धामीले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर एक बलमा अलआउट हुँदै ११० बनाएको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाउनुभयो । पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले चार÷चार विकेट लिनुभयो । जितसँगै पुलिसले दुई खेलमा दुई अंक जोडेको छ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । खेलहरू त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुनेछन् । सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश छन् ।

राष्ट्रिय खेलकुद परिषद्को मुख्य बजेटमा नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले कति रकम पाउँछन भन्नेबारे क्यानले केही खुलाएको छैन । यसअघि प्रतियोगिताका तीन संस्करण आयोजना भइसकेको छ । यसपटक प्रतियोगिताको पहिलो हुने टिमले कति पाउने भन्ने क्यानले अझै खुलाएको छैन । यसअघि विजेताले २० लाख रुपैयाँ पाउँदै आएका थिए ।


Views: 124