वेष्ट इण्डिजले अष्ट्रेलियालाई हरायो

एजेन्सी   POSTED ON : श्रावण ११, २०७८ (६:३३ AM)

वेष्ट इण्डिजले अष्ट्रेलियालाई हरायो

लण्डन । इण्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई आइतबार बिहान भएको खेलमा चार विकेटले पराजित गरेको छ । अष्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य वेष्ट इण्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएर पूरा गर्‍यो ।

वेष्ट इण्डिजको जितमा निकोलस पुरनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै जासन होल्डरले ५२ र साई होपले ३८ रन बनाउनुभयो । अष्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा एडम जाम्पाले दुई विकेट लिनुभयो । यसअघि पहिले व्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि वेस अगरले सर्वाधिक ४१, म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन र जोड्दा मिचेल स्टार्कले १९ रन थप्नुभयो ।

वेष्ट इण्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिनुभयो । शेल्ड्रोन कोट्रेलको नाममा २ विकेट रहृयो । यससँगै वेष्ट इण्डिजले तीन खेलको एकदिवसीय सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो । दुई टिमबीचको अन्तिम खेल सोमबार हुनेछ ।

दक्षिण अफ्रिकाको क्लिनस्विप

दक्षिण अफ्रीकाले घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । डुब्लिनमा शनिबार राति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रीकाले सिरिज ३-०ले आफ्नो पक्षमा पारेको हो । दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रनमात्र बनाउन सक्यो ।

आयरल्याण्डका कप्तान एण्डी बलब्रिनीले सर्वाधिक २७, क्रेग योङ २२ रन, पाउल स्ट्रर्लिङले १८ र बारी म्याककार्थीले अविजित १३ रन बनाउनुभयो । दक्षिण अफ्रीकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २/२ विकेट लिनुभयो ।

यसअघि पहिले व्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा २ विकेट गुमाएर १८९ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । यस्तै रिजा हेन्ड्रिक्सले ६९, डेभिड मिलरले अविजित रहँदै ३६ रन जोड्नुभएको थियो । आयरल्याण्डका सिमी सिंह र बारी म्याककार्थीले १÷१ विकेट लिनुभयो । 


Top