ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुरको कप्तानमा कुशल

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (७:५२ AM)

ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुरको कप्तानमा कुशल

काठमाडौं । ज्ञानेन्द्र मल्लले नखेल्ने भएपछि ललितपुर प्याट्रियटर्सले युवा ब्याट्सम्यान कुशल भुर्तेललाई चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को कप्तानी सुम्पिएको छ । योसँगै कुशलले पहिलो कुनै पनि घरेलु क्रिकेटमा कप्तानी गर्न लाग्नुभएको छ । गत वैशाखमा काठमाडौंमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय शृंखलामार्फत राष्ट्रिय टोलीमा डेब्यु गर्दै शानदार प्रदर्शन गरेपछि कुशल चम्किनुभएको थियो । उक्त प्रतियोगिताको सुरुवाती तीन खेलमा उहाँले लगातार तीन अर्धशतक बनाउँदै कीर्तिमान कायम गर्नुभएको थियो ।

ज्ञानेन्द्रले भने व्यक्तिगत कारण भन्दै प्रतियोगिता खेल्न नसक्ने जनाउँनुभएको हो । ललितपुरले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको हो । ज्ञानेन्द्रले ललितपुरका सिइओ निरज कोइरलालाई इमेलमार्फत आफूले खेल्न नसक्ने जानकारी दिनुभएको थियो ।

ज्ञानेन्द्रसँगै यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरीले पनि इपिएल नखेल्ने जनाइसक्नुभएको छ । दीपेन्द्रले चोटका कारण इपिएल नखेल्ने हुनुभएको हो भने पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाउँनुभएको हो ।

ललितपुरले विदेशी खेलाडीको रूपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउण्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डोलाई अनुबन्ध गरेको छ । यस्तै उसको टोलीमा सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सूर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रूपमा रहनुभएको छ ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले पोखरा राइनोजको कप्तानी गर्ने हुनुभएको छ । पोखराले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विनोदले कप्तानी गर्ने जनाएको हो । पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्नुभएको थियो । यस पटक उहाँ टोलीमा नभएपछि विनोदले कप्तानी सम्हाल्नुहुने भएको हो ।

विनोदको कप्तानीमा गत माघमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो । विनोदले घरेलु क्रिकेटमा लगातार त्रिभुवन आर्मी क्लबबाट कप्तानी गर्दै आउनुभएको छ ।

नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल पोखरा मुख्य प्रशिक्षकको रूपमा हुनुहुन्छ । नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचन बलिङ र फिल्डिङ प्रशिक्षकमा रिजन प्रजु हुनुहुन्छ । पोखरा २०१८ को इपिएलमा पाँच खेलमा जितविहीन हुँदै पुछारमा रहेर बाहिरिएको थियो ।

पोखराको टोलीमा विनोद भण्डारी (कप्तान), सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही, देव शाह, शोहिल कुँवर, रिचर्ड लेभी (दक्षिण अफ्रिका), केस्रिक विलियम्स (वेस्टइन्डिज), असेला गुणरत्ने (श्रीलंका) र सहान अर्चिगें (श्रीलंका) हुनुहुन्छ ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुनेछ । इपिएल विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् । पोखराले पहिलो खेल भैरहवा ग्ल्याडियटर्ससँग सोमबार खेल्नेछ ।


Top