बालबाटिका फुटबल लिगको तयारी तीव्र

गोविन्द बीसी   POSTED ON : आश्विन २४, २०७८ (७:०१ PM)

बालबाटिका फुटबल लिगको तयारी तीव्र

टीकापुर। विद्यालय स्तरमै पहिलो पटक सञ्चालन हुन लागेको बालबाटिका फुटबल लिगको तयारी तीव्र पारिएको छ ।

कैलालीमा सर्वाधिक पुरस्कार राशीको प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल प्रतियोगिताको घोषणा भएसंगै आयोजक विद्यालय खेलको नियमित तयारी तथा अभ्यासमा जुटेको हो ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ स्थित नव बालबाटिका विद्या मन्दिरले यसवर्ष आउँदो मंसिर १७ देखि पुस १० गतेसम्म प्रतियोगिता गर्न लागेको छ ।

पहिलो पटक हुन गइरहेको प्रदेशव्यापी विद्यालय स्तरीय फुटबल प्रतियोगिताको लागि तयारी तीव्र रुपमा भइरहेको विद्यालयका संस्थापक एवं प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजक विद्यालयका तर्फबाट खेलमा सहभागि हुने छात्र र छात्राको नियमित अभ्यास, आर्थिक स्रोत संकलन तथा व्यवस्थापन, प्रचारप्रसार, समन्वय र खेल मैदानदेखि अन्य प्राविधिक पक्षको व्यवस्थापन तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि स्थानीय स्तरमा विभिन्न सहयोगी  व्यक्ति तथा संस्थाले प्रायोजन गर्दै आर्थिक सहयोग जुट्न थालेको छ ।

आयोजक विद्यालय नव बालबाटिका विद्या मन्दिर माविका संस्थापक तथा प्रिन्सिपल प्रमोद मल्लले प्रतियोगिताले यसक्षेत्रमा खेलकुदको महत्त्व र विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लोपटक फुटबल खेल खस्किदै गएको महसुस गरि प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।स्वस्थ मानव संशाधनको विकास र विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने लक्ष्य लिएको बताउँदै उहाँले प्रतियोगिता सफल गर्न यसक्षेत्रका समाजसेवी, राजनैतिक दल, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र सञ्चामाध्यमको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतियोगिता सञ्चालनका लागि पुरस्कार खर्च, खेल मैदान मर्मत, सरसफाइ, रंगरोगन, प्रचारप्रसार, अफिसियल व्यवस्थापन, अतिथि सत्कार र विविध गरि अनुमानित १३ लाख खर्च हुने जनाइएको छ ।

प्रतियोगिताको दुबैतर्फ प्रथम हुने छात्र र छात्रालाई १ लाख १ हजार र द्वितीय हुनेलाई ५१ हजार गरि ३ लाख ४ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, विभिन्न ५ विद्याका उत्कृष्ट छात्र र छात्रा खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । प्लेयर अफ द टुर्नामेन्टतर्फ ८ हजारका दरले र म्यान अफ द म्याचलाई ५ सय मेडल तथा प्रमाणपत्र  प्रदान गरिनेछ । सबै विद्याका खेलाडीलाई कुल ५६ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । जसमा उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी, प्लेयर अफ द टुर्नामेन्ट, म्यान अफ द म्याच छनोट गरिनेछ ।


Top