Date:2017/12/17 |Sunday

इपीएलका लागि खेलाडी रजिष्ट्रेसन आजबाट

Posted on: September 25, 2017 | views: 62 |

हिमालय टाइम्स

काठमाडौं । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि रजिष्ट्रेसनबाट सुरु हुने भएको छ ।

आयोजक इपीएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनका लागि भोलिबाट रजिष्ट्रेसन खुला हुने जानकारी गराएको हो । रजिष्ट्रेसन अक्टोबर ९ अर्थात असोज २३ गतेसम्म खुला हुनेछ । अक्सन तिहारलगत्तै कात्तिक ६ गते हुनेछ । 

खेलाडीले इपीएलको अनलाइनबाट आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर, नाम दर्ता गराउनुअघि खेलाडीहरुले आईएमई काउन्टरबाट दस्तुर रकम भरपाई गर्नुपर्ने हुन्छ । खेलाडी दर्ताका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ । मार्की खेलाडीले भने नाम दर्ता गर्नु नपर्ने आयोजकका एमडी आमिर अख्तरले जानकारी गराए । नाम दर्ता गरिएका खेलाडीबाट इपीएलको खेलाडी छनोट समितिले ७० खेलाडीलाई अक्सनमा राखिने आयोजकले जनाएको छ । अक्सनका लागि तीन क्याटेगोरी छुट्याइएको छ । क्याटेगोरी ‘ए’ मा नेपाली राष्ट्रिय टिमका खेलाडी, तीन वर्षसम्म राष्ट्रिय टिममा रहेका खेलाडी समावेश गरिएको छ । एक टिमले कम्तीमा ३ देखि बढीमा ५ खेलाडीलाई टिममा समावेश गर्न पाउनेछ । क्याटेगोरी ‘ए’ को खेलाडीको न्यूनतम मूल्य १ लाख र बढीमा १ लाख ७५ हजार तोकिएको छ । यस्तै क्याटेगोरी ‘बी’ मा यू–१६ र यू–१९ का खेलाडी समावेश गरिएकै छ । यस्तै कम्तीमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरु क्याटेगोरी ‘बी’ मा समावेश गरिएको छ । यस क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य ७५ हजार तथा अधिकतम मूल्य ७५ हजार तोकिएको छ । एक टिमले क्याटेगोरी ‘बी’ बाट कम्तीमा ४ खेलाडी राख्न पाउनेछ । यस्तै क्याटेगोरी ‘सी’ मा पाँच वर्षअघिबाट घरेलु प्रतियोगितामा सिनियर प्रतियोगितामा निरन्तर सहभागिता जनाइरहेका खेलाडी रहेका छन् । यो क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य ७५ हजार तोकिएको छ । अन्तर्राष्ट्रिय खेलाडीको सम्बन्धमा भने दोस्रो चरणमा समावेश गरिने आयोजकले जनाएको छ । 

यसैबीच आइएमई ग्रुपले इपीएल टी–२० क्रिकेट प्रतियोगितालाई सह–प्रायोजन गर्ने भएको छ । प्रायोजन सम्झौतामा इपीएलका एमडी आमिर अख्तर र आइएमईका ड्यानियल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता दुई वर्षसम्म रहेको छ । सम्झौताअनुसार आईएमईबाट इपीएल खेलाडी दर्ताको प्रक्रिया, आईएमई पे र इपीएल क्रिकेटको टिकट किन्नुपर्ने हुन्छ । सम्झौतापछि आईएमईका ड्यानियल श्रेष्ठले इपीएलजस्तो ठूलो क्रिकेट प्रतियोगितासँग जोडिन पाउनु आइएमई ग्रुपका लागि खुसीको कुरा रहेको बताए ।

आगामी डिसेम्बरमा आयोजना हुने इपीएल क्रिकेटको टिम मालिक र मार्की खेलाडी भने यसअघि नै सार्वजनिक भइसकेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने इपीएल क्रिकेटमा काठमाडौं, ललितपुर, विराटनगर, भैरहवा, वीरगञ्ज र पोखरा गरी ६ शहरको सहभागिता रहेको छ । ६ टोलीका मार्की खेलाडीमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सोमपाल कामी र शक्ति गौचन र यू १९ क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी रहेका छन् । मार्की खेलाडीको न्यूनतम पारिश्रमिक २ लाख रहेको छ । तर, मार्की  खेलाडी नै टिमको कप्तान हुनुपर्छ भन्ने नियम भने नरहेको आयोजकले जनाएको छ । इपीएल क्रिकेट राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । इपीएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् । सहभागी प्रत्येक टिमले लिगमा एक अर्कासँग खेल्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ  ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं