19th November | 2018 | Monday | 10:24:37 AM

रोनाल्डो विश्वकै चौथो महँगो खेलाडी

  POSTED ON : Wednesday, 11 July, 2018 (10:51:21 PM)

रोनाल्डो विश्वकै चौथो महँगो खेलाडी

एजेन्सी । क्रिस्टियानो रोनाल्डो विश्वकै चौथो महँगो खेलाडीका रुपमा स्पेनिस क्लब रियल मड्रिडबाट मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग अनुबन्धित भएका छन् । ९९.२ मिलियन पाउन्डमा चारवर्षका लागि यूभेन्ट्ससँग अनुबन्धित भएसँगै नेमार, केलियन एम्बाप्पे र फिलिप्पे कौटिन्होपछिका महँगो खेलाडी रोनाल्डो बनेका हुन् ।

गतवर्षको अगष्टमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले नेमारलाई बार्सिलोनाबाट २ सय मिलियन पाउन्डमा अनुबन्ध गर्दै विश्वकै सबैभन्दा महँगो खेलाडी बनाएको थियो । लगत्तै पीएसजीले नै केलियन एम्बाप्पेलाई १ सय ६६ मिलियन पाउन्ड रकम तिर्दै दोस्रो महँगो खेलाडी बनायो ।

बार्सिलोनाले लिभरपुलबाट यसै वर्षको जनवरीमा फिलिप्पे कौटिन्होलाई १ सय ४२ मिलियन पाउन्डमा अनुबन्धित गरेपछि उनी विश्वको तेस्रो महँगो खेलाडी बनेका थिए । मंगलबार यूभेन्ट्स गएसँगै चौथो महँगो खेलाडी बनेका रोनाल्डो क्लबमा भने कीर्तिमानी रकममा गएका हुन् । यसअघि यूभेन्ट्सले ७५.३ मिलियन पाउन्ड तिर्र्दै गोन्जालो हिगुइनलाई नोपोलीबाट २०१६ जुलाईमा भित्र्याएको थियो ।

सन् २००९ मा म्यानचेस्टर यूनाइटेडबाट ८० मिलियन पाउन्डमा रियल आएका रोनाल्डोले क्लबका लागि सर्बाधिक ४५१ गोल गर्दै कीर्तिमान राखेका थिए । यस्तै उनले पछिल्ला पाँच सिजनमा रियल मड्रिडलाई चार पटक च्याम्पियन्स लिगको उपाधि जिताए ।

रियल मड्रिडको ९ वर्षे करिअर अन्त्य गर्दै यूभेन्ट्स पुगेका रोनाल्डोले चार वर्षमा १५ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ तलब बुझ्नेछन् । सो अनुसार उनले ३ अर्ब ८६ करोड ७६ लाख, प्रति महिना ३२ करोड २३ लाख ४८ हजार तथा प्रति हप्ता ७ करोड ४३ लाख ८८ हजार रुपैयाँ पाउँनेछन् ।


Views: 10