24th February | 2020 | Monday | 7:16:26 AM

क्यान चुनावको टुंग्गो लाग्यो

हिमालय टाइम्स   POSTED ON : भदौ ३१, २०७६ (१०:१२ AM)

क्यान चुनावको टुंग्गो लाग्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते काठमाडौंमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच सोमबार भएको छलफलपश्चात् उक्त मितिमा हाल निलम्बनमा रहेको क्यानको निर्वाचन गर्ने सहमति जुटेको हो ।

यसअघि आइसिसीले गठन गरेको स्वतन्त्र समूहले असोज ३ र ४ गते चुनाव गर्ने भनि सार्वजनिक सूचना जारी गरेको थियो । आफूहरूको स्वीकृति नलिएको भन्दै राखेप सदस्यसचिव रमेश सिलवालले सो मितिमा चुनाव नगर्न स्वतन्त्र समूहलाई निर्देशन दिएका थिए ।

उक्त निर्देशनसँगै सदस्यसचिव सिलवालले आइसिसीका प्रतिनिधिलाई नेपाल बोलाई चुनावका विषयमा सोमबार छलफल गरेका हुन् । छलफलमा आइसिसीका बोर्ड सदस्यहरू इमरान ख्वाजा र अमर शेख सहभागी थिए ।

दुईघण्टा भएको छलफल अन्तन्तै सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको सदस्यसचिव सिलवालले बताए । ‘आइसिसीका प्रतिनिधिसँग अन्तन्तै सौहार्दपूर्ण तरिकाले छलफल भएको छ,’ बैठकपछि उनले भने, ‘हामीले चुनावको मिति लगायत विभिन्न बुँदामा छलफल गरेका छौं । छलफलपछि अक्टोबरमा हुने आइसिसी बैठकमा क्यान निलम्बन फुकुवा हुने विश्वास बढेको छ ।’

सिलवालका अनुसार मुख्य चार बुँदामा आइसिसी प्रतिनिधिसँग छलफल भएको थियो । असोज १० र ११ गते चुनाव गर्ने, स्वतन्त्रता, निष्पक्ष र पारदर्शी ढंगबाट चुनाव गर्ने, अक्टोबर १२ र १३ गते बस्ने आइसिसीको बोर्ड बैठकमा नेपालको प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने र नेपालको क्रिकेट विकासमा आइसिसीको भूमिका बढाउने सहमझदारी भएको उनले बताए ।

यस समझदारीसँगै २०७३ वैशाखदेखि निलम्बनमा रहेको नेपाली क्रिकेटको निलम्बन फुकुवा हुनेमा विश्वास गरिएको छ । ‘सारमा तीन वर्षदेखिको प्रतिबन्ध फुकुवा हुने पूरा आशा देखाएको छ,’ सदस्यसचिव सिलवालले भने, ‘उहाँहरूको एउटैमात्रै चासो नेपाली क्रिकेट सिस्टमभित्र जाओस् । गुड गर्भनेस होस भन्ने छ । त्यसमा म पनि प्रतिबद्ध छु र अब क्यानमा आउने जो सुकै होस् उहाँको पनि प्रतिबद्धता हुने ठानेको छु ।’

स्वतन्त्र समितिले यसअघि नै जिल्ला तथा प्रादेशिक चुनाव सम्पन्न गरिसकेको छ । क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यी हुनेछ । निर्वाचनमा ५९ जना मताधिकार प्राप्त प्रतिनिधि हुनेछन् । ३९ जिल्लाका एक–एकजना तथा प्रतेक प्रदेशबाट दुई जिल्ला बराबर एक प्रतिनिधिले सहभागिता जनाउँनेछन् । 

‘अब हामीले विगतको जस्तो अस्थायी हैन्, स्थायी समाधान खोजेका छौ,’ सिलवालले थपे, ‘विगतको जस्तो रडाको नमच्चिएमा अब क्रिकेटले एउटा कोर्ष समात्छ । यही वर्षभित्र केही सकरात्मक कुरा आउने लक्षण देखिएकोछ । यसले क्रिकेटले फड्को मार्नेछ ।’

सरकारी हस्तक्षेपलाई कारण देखाउँदै आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ क्यानमा राखेको थियो । त्यसपछि आइसिसीद्वारा गठित सल्लाहकार समितिले क्यानको विधान बनाएको थियो । उक्त विधानलाई क्यानको साधारण सभाले मान्यता दिएसँगै जिल्ला र प्रदेशका चुनावहरू सम्पन्न भएका थिए । 


Views: 99