एक्लोपन बिरामीका कारण हुन सक्छ

Read Time = 5 mins

काठमाडौं । सिकागो युनिभर्सिटी र ओहियो स्टेट युनिभर्सिटीमा भएको एउटा अनुसन्धानमा मनोवैज्ञानिक जोन कसियोपोको भनाइ छ, ‘एक्लोपनबाट रक्तचापमा वृद्धि हुन्छ र निद्रा राम्रोसँग लाग्दैन ।’ यो दुईवटै कारण हृदयघातका प्रमुख कारण मानिन्छन् । त्यसैले एक्लोपन हृदयका लागि राम्रो हुँदैन । यो हृदयका लागि त्यति नै घातक हुन्छ जति धेरै फ्याट भएको खाना, मोटोपन, उच्च रक्तचाप, धूमपान वा शारीरिक श्रमको कमी ।

क्यालिफोर्नियाको स्टेन्नफोर्ड युनिभर्सिटीका शोधकर्ताहरूको मतअनुसार स्तन क्यान्सरका सिकार ती महिलाहरू हुने गर्दछन् जो मिलनसार (सोसल) हुँदैनन् । आफ्ना मित्र, शुभचिन्तक, नातेदार र परिवारजनसँग घुलमिल भएर बस्ने महिलाको आयु लामो हुने गर्दछ भने त्यस्ता महिलाहरूलाई स्तन क्यान्सरजस्तो समस्या कम हुने गर्दछ । सबैसँग मिलेर हाँसीखुशी जीवन व्यतित गर्नाले तनाव हल्का वा मन प्रसन्न हुने गर्दछ, जसले जीवनरक्षक प्रणाली (इम्युन सिस्टम) राम्रो हुने गर्दछ ।

जनसंख्या विशेषज्ञहरूका अनुसार एक्लै रहने मानिस समूहमा रहनेभन्दा छिटो मर्ने गर्दछन् । एक्लोपनका कारण आफ्नो व्यक्तिगत हेरचाह राम्रोसँग गर्न नसक्नुका कारण चाँडो बिरामी हुन्छन् । यस्ता व्यक्तिले आफूलाई समाजमा घुलमिल गर्न सक्दैनन् ।

नर्थ क्यारोलिनको डरहमस्थित ड्युक युनिभर्सिटी मेडिकल सेन्टरको इन्टेग्रेटिभ मेडिसिन सेन्टरका सहनिर्देशक मार्टी सुहलिवनको मतअनुसार यदि तपाईंका यस्ता साथी छन् जसको अगाडि मन खोलेर सुखदुःखका कुरा गरी रुन सक्नुहुन्छ भने तपाईँ बिरामी हुने सम्भावना कम हुने गर्दछ । साथै हृदयरोगबाट पीडित हुने सम्भावना पनि कम हुन्छ । अध्ययनबाट यो पनि थाहा भएको छ, जुन व्यक्तिको रुचि परिवार, साथी, सहकर्मी र सामाजिक कार्यहरूतर्फ रहने गर्दछ । त्यस्ता व्यक्तिमा रुघाखोकीबाट बच्ने एउटा दरिलो प्रतिरोधक क्षमता आउने गर्दछ ।

मेसिगन युनिभर्सिटी एन आवरमा भएको अध्ययनबाट थाहा भयो कि जो मानिस सोसल र घनिष्ठ साथीसंगीबीच हाँसीखुशीपूर्वक जीवन व्यतित गर्दछन् त्यस्ता मानिस धेरै लामो समयसम्म स्वस्थ जीवन बाँच्ने गर्दछन् । यसका अतिरिक्त जो आफ्ना साथीहरूको घेरामा बस्ने गर्दछन् त्यस्तो व्यक्तिलाई पहिलो हृदयघातपछि दोस्रो हृदयघातको खतरा धेरै कम हुन्छ । यसको विपरीत एक्लोपनमा जीवन बिताउने व्यक्तिलाई हृदयघात हुने सम्भावना दुई गुणा बढी हुने अध्ययनले देखाएको छ ।

फ्लोरिडा विश्वविद्यालयको एक शोध छात्राको मतअनुसार जो मानिस एक्लै रहने गर्दछन् ती मानिसलाई क्यान्सर हुने खतरा धेरै हुने गर्दछ । जबकि घनिष्ठ मित्र र परिवारबीच रहने मानिसलाई यो रोगको खतरा कम हुने गर्दछ । अतः विभिन्न ठाउँमा भएका विभिन्न शोधहरूको निष्कर्षअनुसार के भन्न सकिन्छ भने एक्लो जीवन स्वास्थ्यका लागि फाइदाजनक छैन । त्यसैले एक्लोपन होइन समूहमा बाँच्न सिकौँ र स्वस्थ रहौँ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?