अंग्रीकृत नागरिकलाई राजनीतिक तथा सरकारी जागिरको अधिकार किन दिने ?

Read Time = 16 mins

यो व्यवस्थामा भ्रष्टाचार एउटा संस्कृति नै बनिसकेकाले आमजनताले जति विरोध गरे तापनि मैथिलीशरण गुप्ताको कविता ‘अँधेर नगरी चौपट राजा’ जस्तो हो । यी शासक वर्गका अगाडि रोइलो रुनु पनि ‘भैंस के अगाडि बीन बजाए’ जस्तै हो । गणतन्त्रवादी नेताहरूबाट सुशासन, भ्रष्टाचार नियन्त्रण, विकास, स्वतन्त्रता तथा सार्वभौमिकताको रक्षा भनेको उडुसले फुल पार्छ र उसिनेर खाउँला भने जस्तै हो । त्यसमाथि पुष्पकमल कहिले पुराना दिनहरूमा फर्कने भन्दै हिंसात्मक कारबाही गर्ने भनेर घुक्र्याउने गर्छन् । अहिले त सरकारकै एउटी मन्त्री गौरमा गएर डा.सिके राउतलाई रौतहट काण्ड दोहोर्‍याउने धम्की दिँदै बम्किछिन् ।

हुन त उनी गौरमा नृशंस नरसंंहार मच्चाएर सत्ताइस जनाको ज्यान लिएको पार्टीको नेता हुन् । हुन त पुष्पकमल दाहाल र बाबुराम भट्टराई आफ्ना कार्यकर्ताको बलि लिएको उपेन्द्र यादवसँग घाँटी जोडेर सरकार चलाउँछन् । बाबुराम त आफ्नै कार्यकर्ताहरूको बलि लिनेसँग पार्टी एकता गरेरसँगै हिँडिरहेका छन् । उनीहरूको एकमात्र साध्य भनेकै सत्ताको भर्‍याङ चढेर भ्रष्टाचार गर्नु नै हो । प्रदेश-२ लाई मधेस नामकरण गर्नमा दुवै दलको एकमत देखिएको छ । 

मधेस प्रदेश नामकरणले विखण्डणको बिउ रोपेको छ । भोलिका दिनमा यो काश्मीर जस्तो क्यान्सर हुनसक्छ नेपाललाई । अंगीकृत नेपाली नागरिकहरूको बाहुल्य २०६३ सालयता अत्याधिक बढेको छ । राजनाथ सिंह भारतको गृहमन्त्री हुँदा भैरहवा नजिकको शहर महाराजगञ्जमा आमसभालाई सम्बोधन गर्दा भनेका थिए नेपालमा हाम्रो साठी लाख नागरिकले नागरिकता लिइसकेका छन् र अब चालीस लाख हाम्रा नागरिकले नागरिकता पाउन बाँकी छ । यसरी तराईमा अंगीकृत नेपालीहरूको बाहुल्य छ । 

प्रदेश तथा संघीय सरकारमा उनीहरूको उल्लेख्य उपस्थितिले भोलिका दिन भयावह हुनेछन् भन्ने अनुमान काट्न सक्छौं । हुन त विदेशी आमाबाले जन्माएको सन्तानलाई यो देशको माया कहाँ हुन्छ ? उनीहरू नेपाल टुक्र्याउने मिसन लिएर यहाँ आएका हुन् ? तराईका मूल बासिन्दा यी अनागरिक नागरिकहरूबाट भयग्रस्त छन् । राज्यले दिने सुविधामा उनीहरूको बाहुल्य छ । रैथाने तराईवासीको हकअधिकारहरू खोसिँदै गएको छ । यसले भोलिका दिन रैथाने तराईवासी नागरिक र अंगीकृत नागरिकबीच द्वन्द्व नहोेला भन्न सकिँदैन । शासक वर्गले चाहेको पनि यही हो । 

यहाँ यी आगन्तुक अंगीकृत नागरिकहरूको भनाइ छ मधेसी शब्द पुरानो हो । नेपालको प्राचीन सीमा उत्तरमा मानसरोवरदेखि दक्षिणमा गंगा तटसम्म थियो । यो कुरा सम्राट समुद्र गुप्तको प्रयागराजस्थित शिलालेखमा पनि छ दक्षिण सीमाको बारेमा । यसलाई कतै मधेस भनिएको छैन । गंगापारिदेखि भारतको मध्यप्रदेशसम्मलाई मध्यदेश भनिन्यो । किनकि यो भारतको मध्य भागमा पर्छ । मध्य देशबाट मध्य प्रदेश भएको हो । 

उताबाट आउनेहरूले यसैलाइै मधेस नाम दिएको हो । पहिला पहिला तराईलाई पहाडमा बस्नेहरूले मदेस भन्ने गर्थे र अद्यापि भन्छन् । पृथ्वीनारायण शाहले देश भनेको इण्डियालाई भनेका थिए । उनले दिएको दिव्योपदेशमा भनिएको छ, ‘देशका महाजनलाई गोडप्रसादेखि उभो आउन नदिनू, देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कञ्गाल गरि छाड्दछन्’ ।

मैथिली भाषा, सभ्यता, संस्कृति हाम्रो गौरवको विषय हो । जयस्थिति मल्लले राम्रो थिति बाँधेर नेपाललाई सुव्यवस्थित बनाउने कार्यमा मैथिली विद्वान श्रीनाथ भट्ट, महीनाथ भट्ट र रामनाथ झाको महत्वपूर्ण योगदान थियो । राजा जनक, सीता, याज्ञवल्क्य, अष्टाबक्र, गार्गी, मैत्रेयी, कात्यायनी, विद्यापति आदि विद्वान र विदुषीहरूको भूमि हो मिथिला प्रदेश । यसलाई विदेह पनि भनिन्छ । विदेहको अर्थ हो विनाशरीरको । तर विदेह उसलाई पनि भन्छन् शरीर भएर पनि शरीरबाट पूर्णतया अनाशक्त भइसकेको छ । 

राजा जनकले यौगिक क्रियाहरूद्वारा आफ्नो भौतिक शरीर त्याग गरे । त्यसपछि स्वर्गलोकबाट एउटा विमान उनको आत्मालाई लिन आयो । देवलोक जाँदै गर्दा जनक यमपुरीको बाटो हुँदै गइरहेका थिए जहाँ पापीहरूलार्ई यातना दिइरहेको थियो । तिनीहरूलाई जब गइरहेका जनकको सासको बतासले छोएर जाँदा उनीहरूको प्रताडना कम हुन्थ्यो, नरकको अग्निको ताप शीतलतामा बदलिन्थ्यो । जब जनक त्यहाँबाट जान लागे तब नरकवासीले उनलाई त्यही रोकिन आग्रह गरे । जनकले सोचे यदि म यहाँ रहँदा यिनीहरूले केही आराम महसुस गर्छन् भने म यहीँ रोकिन्छु । 

उनी त्यहीँ रोकिएपछि यमराज पापीलाई सजाय दिन त्यहाँ आई पुगे । जनकलाई त्यहाँ देखेपछि उनले सोधेछन्, ‘हजुर यहाँ किन ?’ जनकले आफू त्यहाँ रोकिनुको उद्देश्य बताए र भने ‘यिनीहरूलाई मुक्त गरिदिनुस्’, यमराजले भने, ‘त्यसो भए हजुरले आफ्नो पुण्यको केही अंश यिनीहरूलाई दिनुहोस् ।’ जनकले आफ्ना केही पुण्य तिनीहरूलाई दिएपछि उनीहरू मुक्त भए । त्यसपछि जनकले यमराजलाई सोधे, ‘मैले के पाप गरेको थिएँ र यहाँ आउनु पर्‍यो ? यमराजले भने, ‘हे राजन, हजुर जस्तो पुण्यात्मा कोही छैनन् तर हजुरले एउटा पाप गर्नुभएको थियो, हजुरले एउटा गाईलाई घाँस खानबाट रोक्नुभएको थियो । अब हजुरको पाप मोचन भयो, स्वर्गमा जानुहोस् ।’ 

पौराणिक मान्यतानुसार जनकलाई यस घटनापछि विदेह भन्न थालिएको हो । यस्तो गौरवशाली अतीतलाई मेट्ने काम गरेका छन् प्रदेश–२ का सांसदहरूले । उपेन्द्र यादव, पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू मिलेर सनातन सभ्यता, धर्म र संस्कृतिलाई षड्यन्त्रपूर्वक मास्ने प्रयास गरेका हुन् । यस प्रदेशभित्र पर्ने भोजपुरा सभ्यता तथा सिमरौनगढको ऐतिहासिक महत्वलाई मेट्ने काम गरेका छन् । प्रदेशको अर्को नाम मिथिला भोजपुरा वा विदेह पनि राख्न सकिन्थ्यो ।

तराईका रैथानेहरू त यस नामले अल्पमतमा परे नै । साथमा त्यहाँ बस्ने थारू, धिमाल, सतार र मेचेहरूको अस्तित्वलाई नामेट गर्ने काम भएको छ । राजा जनकको अवसानपछि त्यहाँ मत्स्य राज्यको स्थापना भयोे । पूर्वको यो भाग थारू र किरातहरूको बसोबास भएको क्षेत्र हो भनेर इतिहासकार भन्छन् । प्राचीन कालदेखि कोशी प्रदेशलाई किरात प्रदेश भनिन्थ्यो । कौशिकी नदीको वरिपरिको क्षेत्रलाई कोशीक्षेत्र, बराह क्षेत्र, चतरा क्षेत्र, कोकोहा क्षेत्रका नामले प्राचीन समयदेखि चिनिँदै आएको छ । महाभारत कालमा हेर्र्ने हो भने इतिहासकारका अनुसार यहाँ किरात राजा विराट जसलाई विरथ पनि भनिन्छ । 

त्यस समयमा विशाल नेपालमा किरात राजा यलम्बरको शासन थियो । शायद विराट राजालाई त्यस क्षेत्रको अधिपति बनाइएको थियो । यस राज्यलाई मत्स्यदेश भनिन्थ्यो । पाँच पाण्डव वनबास बस्न विराट राजाको दरबारमा आएको महाभारतले नै भन्छ । किरातहरू शैव धर्मावलम्बी थिए । पाण्डवहरू पनि शैव भएकाले शैव राजा विराट कहाँ बास माग्न आएका थिए । कालखण्डमा यो मत्स्यदेश अप्रभंश भएर मदेस भएको हो । मधेस वा मध्यदेस होइन । यो शिवलाई मान्ने शैवभूमि हो । मत्स्य प्रदेशको अप्रभंश मदेशलाई मधेस प्रदेश कदापि मान्न सकिँदैन । त्यस्तै प्राचीन सभ्यता, धर्म, संस्कृतिलाई बुझाउने मानसखण्ड नाम सात नम्बर प्रदेशले नराखेर गल्ती गरिसकेको छ ।

यो सरकारका मन्त्री पनि अचम्म अचम्मका छन् । अर्की एउटी मन्त्रीले भारतले लिपुलेक क्षेत्र मिचेर सडक बनाएको विरोध सरकारले गर्नु हुँदैन, यो काम अभियन्ताहरूको हो भनिन् । राष्ट्रको रक्षा गर्ने काम कसको हो ? अर्की मन्त्रीले भनिन्, ‘मन्त्रीको लोग्नेलाई मन्त्रो भन्नुपर्छ ।’ यसरी न देशको स्वतन्त्रता बच्छ न त सार्वभौमिकता नै । यहाँ दश-बीस वर्षका लागि जंगबहादुर जस्तो देशभक्त तानाशाह चाहिन्छ । जसले सुगौली सन्धिबाट गुमेको सबै भूगोल फिर्ता गर्न खोजेको थिए तर अंग्रेजले राप्तीवारिदेखि महाकालीसम्मको तराई भूभागमात्र फिर्ता गरेपछि आफ्नो बेलायत भ्रमणमा रानी भिक्टोरियासँग भनेर सुगौली सन्धिबाट गुमाएको सम्पूर्ण भूभाग फिता गराउन कोसिस गरेका थिए ।

१९०९ सालमा चीनका सम्राट झियाउक्विनलाई शुभकामना दिन लेफ्टिनेन्ट भीमसेन कुँवरको नेतृत्वमा गएको टोलीमाथि सम्राटको पत्र भएकोले भीमसेन कुँवरलाई भोटेहरूले छोडे तर अन्यलाई सामान लुटी हत्या गरेको समाचार पाएपछि जंगबहादुरले भोटमाथि आक्रमण गरे । युद्धमा भोटको हार भएपछि सन्धिको प्रस्ताव आयो । नेपालको पनि ढुकुटी रित्तिन लागेकोले भोटको प्रस्ताव उनले माने । यस सन्धिलाई थापाथलीको सन्धि भनिन्छ । जसअनुसार भोटले नेपाललाई सय वर्षसम्म वार्षिक दस हजार रुपैयाँ र क्षतिपूर्तिवापत दुई लाख पैंतीस हजार रुपैयाँ दिन मञ्जुर भयो । 

सन् २०१२ सम्म तिब्बतले वार्षिक दश हजार रुपैयाँ नेपालललाई तिर्र्ने गथ्र्यो । नेपालको कालापानी क्षेत्रलगायत विभिन्न ठाउँको भूभाग भारतले अतिक्रमण गरिरहँदा बोल्न नसक्ने शासक वर्गभन्दा जंगबहादुर प्रवृत्तिको शासक देशका लागि उपयुक्त हुन्छ । देशभक्त शासकहरू मारिन सक्छन् वा उनीहरूको शंकास्पद मृत्यु हुनसक्छ । जस्तो राजा महेन्द्र, राजा वीरेन्द्र र उनको परिवार, जंगबहादुरसहित उनको परिवार मारिए तथा जो-जो बाँच्न सफल भए उनीहरू देश छोडेर भाग्नुप¥यो । अंग्रेजले नालापानी, किल्ला कांगडालगायत युद्धमा नेपालीहरूको वीरता देखिसकेका थिए, अंग्रेज सेनामा नेपालीलाई भर्ना गर्न पाउने अनुमति माग्दा जंगबहादुरले मानेका थिएनन् । 

बरु आफ्नो सेनालाई अंग्रेजको तर्फबाट लड्न पठाउन मञ्जुर भएका थिए । यसै कारणले उनको शंकास्पद मृत्युपछि उनको परिवारको पनि सफाया गरियो । यसमा नेपालकै सत्तालोभीलाई प्रयोग गरियो । सीमामा जंगे पिलर स्थापना गरी देशको सीमा सुरक्षित पारेका थिए जंगबहादुरले । कुनै बेला नेपालका कम्युनिष्टहरू गोरखा भर्ती बन्द गर भन्दै उर्र्लेका थिए । उनीहरू पटक-पटक सत्तामा गएको पनि अट्ठाइस वर्ष हुँदा गोरखा सैनिक भर्तीकेन्द्रको विरोध गर्न सकेका छैनन् । 

तराईको नामकरण विदेशी एजेण्डा बोकेर आयातीत नागरिकहरूलाई प्रदेशको मालिक बनाएर रैथाने तराईवासीलाई अल्पमतमा पार्दै, उनीहरूको अधिकार खोसेर आयातितलाई पोस्ने काम हो तराईका नेताहरूको । तराईका रैथाने जनता यसका विरुद्ध लाग्नुपर्छ । अंगीकृत नागरिकलाई राजनीतिक तथा सरकारी जागिरमा बन्देज लगाउनुपर्छ । अंगीकृत नागरिकता दिने कानुन खारेजी गरिनुपर्छ । यी सबैको जरो यो व्यवस्था भएकाले यसलाई जरैदेखि उखालेर फाल्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?