एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उहाँप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन् ।

कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिहरुले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन् ।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्वजानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रूपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भाँड्ने, अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्य बीच बाटोबाटै फर्किनुभएकाे थियाे । अन्तिम समयमा अनुपस्थित हुँदासमेत उहाँले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो। ‘राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं । तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भन्नुभयाे ।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?