फेसबुकमा भावुक स्टाटस लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रक्तदाता अर्जुन प्रसाद मैनाली मृत फेला पर्नुभएको छ । उहाँ फेसबुकमा संवेदनशील स्टाटस लेखेर बेपत्ता हुनुभएको थियो ।

दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आउनुभएका मैनालीले अमेरिकामा आत्मदाह गर्नुभएको हो । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उहाँको शव फेला परेको छ ।

प्रहरीले प्रारम्भीक अनुसन्धानबाट उहाँले आत्महत्या गरेको जनाएको छ । उहाँको शरीर पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको हो । उहाँले कारभित्र आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टीमले अनुसन्धानका लागि लिएको बताइएको छ । मैनालीले आज एक स्टाटस राखेर सम्पर्कविहीन हुनुभएको थियो । उहाँले स्टाटसमा ‘म परलोक जाँदैछु’ लेख्नुभएको थियो ।

मैनालीले पारिवारिक झैझगडाका कारण आफूले अग्नीदाह गर्न लागेको पनि स्टाटसमा उल्लेख गर्नुभएको थियो । मैनाली अमेरिकाको नर्थ क्यारोलिनामा परिवारका साथ बस्दै आउनुभएको थियो ।

विभिन्न देशमा पुगेर २०६ औं पटक भन्दा बढी रक्तदान गर्नुभएका मैनाली अमेरिकामा नेपाली समुदायमाझ लोकप्रिय हुनुहुन्थ्यो । मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गर्नुभएको थियो ।

सन् २००० मा अमेरिकन एसोसिएसन अफ ब्लड बैंकको वार्षिक सम्मेलनको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसी पुग्नुभएका उहाँ त्यसपछिदेखि अमेरिकामै बस्दै आउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?