मतपत्रको रङका विषयमा खुद्रा बहसको काम छैन : कांग्रेस महामन्त्री शर्मा

Read Time = 8 mins
A A- A+

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक वहसमा सहभागी हुन सुझाव दिनुभएको छ ।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गर्नुभयो ।

बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिनु भएको हो । अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथी टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गर्नुभयो । उहाँले अध्यक्ष ओलीलाई मतपत्रको रङ भन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो  “कुन रङ राखिएको छ भनेर रङतर्फ भन्दा पनि आफ्नो ढंग सच्याउनतर्फ लाग्यो भने रङले कसैलाई पोल्दैन भन्ने कुरामा हामी प्रस्ट छौँ । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ? त्यसकारण मतपत्र हेरेर नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनु पर्ने दिन आउला । त्यो बेला पनि नतर्सिऔँ भनेर म आग्रह गर्न चाहन्छु ।”

महामन्त्री शर्माले निर्वाचन आयोगले मतपत्रमा हरियो रङ राखेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै मतपत्रको रङबाट नडराउन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “सामान्यतया निर्वाचन आयोगहरुको अभ्यास कार्य गर्ने सन्दर्भमा दुई वटा कुरामा बढी केन्द्रित रहने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘एउटा नेपालको संविधानले, निर्वाचनसँग सम्बन्धित नियमावलीहरुले दिएका र गरेका मार्ग निर्देशहरु । अर्को त्यसलाई कार्यान्वयनको प्रक्रियामा जाँदै गर्दा राजनीतिक दलहरु जो निर्वाचनको मुख्य अवयव हुन्छन्, निर्वाचनको मुख्य प्रतिष्पर्धीहरु हुन्छन्, ती दलहरुसँगको संवादहरु । यो दुई वटै कुराको सन्दर्भमा निर्वाचन आयोगले निर्वाचनको प्रक्रियामा जाँदै गर्दा विशेष गम्भीरता पु¥याउनु पर्छ । आज कुनै एउटै दलले कुनै कुरामा प्रश्न उठायो । भोलि कुनै प्वाइन्ट आउनसक्छ, हामीले पनि प्रश्न उठाउने आउनसक्छ । पहिला सैद्धान्तिक रुपमा क्लियर होऔँ । निर्वाचन आयोगले गर्ने कुराहरु पारदर्शी हुने, दलहरुसँगको संवादमा बढी केन्द्रित हुने भन्ने कुरालाई प्रथम प्राथमिकता राख्नैपर्छ । तर सँगै अर्को कुरा हामी राजनीतिक दलहरु पनि क्लियर होऔँ । तर अहिले जे विषयमा देशको प्रधानमन्त्री भइसकेको आदरणीय व्यक्तित्व कमरेडकेपी ओलीजीले बोल्नुभयो त्यो नबोल्नुपर्ने थियो । उहाँको आहोदाबाट, उहाँको उचाईको मर्यादाबाट उहाँले बोलिरहनु पर्ने विषय थिएन । उहाँले भनिदिनु भयो कि, निर्वाचन आयोगले हरियो रङको मतपत्र किन बनायो ? भनेर उहाँले हरियो सरियो मानिदैन भन्ने ल्याङ्ग्वेज गरेर बोल्नुभयो ।’

उहाँले नेपाली काँग्रेस पार्टीलाई जिताउनका लागि मतपत्रलाई हरियो बनाईएको भनिरहँदा विगतको अलिकति परम्परा हेरिदिएको भए हुने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो विषयलाई राजनीतिक दलहरुले मतपत्रकै रङ बैजनी हुने कि, रातो हुने कि, हरियो हुने कि, कालो हुने कि भन्ने विषयको लेबलमा हामी ओर्लिएर बोल्ने नै होइन । तर सम्माननीय पूर्व प्रधानमन्त्रीले बोलिसकेपछि नेपाली काँग्रेस पार्टीको तर्फबाट हामीले केही स्पष्टीकरण नै राखेनौँ भने त्यो पनि नमज्जा  हुन्छ । त्यसकारण हाम्रो अपिल र आग्रह निर्वाचन आयोगले मतपत्रको कुन रङ राख्ने भनेर निर्णय गर्नेसम्म स्वतन्त्रता राख्दैन ? उसले विवेक पु-याएको मान्नुपर्दैन ? उसले विगतमा भएका रातो, हरियो, कालो मध्ये कुनै एक रङ राख्दै गर्दा परम्परालाई उसले पालना गरेको होइन ? यो विषयमा प्रवेश गर्नुभन्दा हामी राजनीतिक दल वहस गरौँ । ”

उहाँले आफूले सरकारको नेतृत्व गरेका बेला गरेका आश्वासनहरुको समिक्षा गर्न पनि अध्यक्ष ओलीलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो “कमरेड केपी ओलीले ५ वर्षको शासन चलाउँदै गर्दा ३ वर्षमा कति ठिक ढंगले शासन गर्नुभयो । कति दिएका आश्वासन पूरा गर्नुभयो । कति सैद्धान्तिक रुपमा सही कर्म गर्नुभयो । कति स्थिरताका लागि दिएका वचन पूरा गर्नुभयो । हामीमाथि प्रश्न गरौँ न । सैद्धान्तिक वहस गरौँ, वैचारिक वहस गरौँ । समृद्धिको सवालमा वहस गरौँ । मतपत्रमा कालो, हरियो रातो, पहेँलो यस्तो रङको बारेमा वहस गर्ने विषय होइन । सम्माननीय पूर्व प्रधानमन्त्रीज्यूलाई यो खालको खुद्रा वहस नभएर जिम्मेवार ढंगको राष्ट्रिय प्रश्नको वहसमा आउन म अपिल गर्दछु ।”

अध्यक्ष ओलीले नेपाली काँग्रेसले आफ्नो मतचिन्ह हरियो रङको रहेको उल्लेख गर्दै सबैले हरियो रङ देखुन् भन्ने सोचाइबाट मतपत्रमा हरियो रङ राख्ने निर्णय गरेको आरोप लगाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?