छोप्यो चुनावले

Read Time = 14 mins

✍️ शान्तिकृष्ण अधिकारी

वैशाख ३० गतेका लागि घोषणा गरिएको चुनाव हुन्छ कि हुँदैन भन्ने संशय रहँदारहँदै उम्मेदवारहरूले मनोनयन दर्ता गरेर चुनावी सुनिश्चिततालाई निश्चित गरिदिएका छन् । यो आशंका अरूमा थियो कि थिएन थाहा छैन तर यो भ्रम छर्ने काम भने नेकपा एमालेको अध्यक्ष केपी ओली र उनका कार्यकर्ताबाट हुँदै आएको थियो । यसको प्रत्युत्तरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा यस्तै हो, लोकतन्त्रविरोधीहरू मतदानकै बीचमा पनि चुनाव हुँदैन भन्ने हल्ला फैलाइरहन्छन् र भाँड्न खोज्छन्, हामी चुनाव गराउँछौं भनेका थिए । वैशाख ११ र १२ गते स्थानीय सरकारका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेपछि भने आमजनमानसको त कुरा बेग्लै भयो स्वयं ओलीलाई समेत गलत बोलेको रहेछु भन्ने लाग्न थालेको हुनुपर्दछ ।

नेपालमा अहिले गठबन्धन दल र नेकपा एमालेका बीचमा चुनाव हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस्, जसपा र जनमोर्चा मिलेर नयाँ दलको जन्म भएको छ-गठबन्धन पार्टी । हुन त नेकपा एमाले र कमल थापाको राप्रपा एवं परिवार दलका बीचमा गठबन्धन भएको छ तर ती पार्टीहरूको गठजोडलाई गठबन्धनको संज्ञा दिएको पाइँदैन ।

शायद ती दलहरूको आस्था, लक्ष्य र सिद्धान्त लिखित रूपमा फरक-फरक भए पनि अन्तर्यमा उस्तै-उस्तै भएकाले हो कि नेपाली कांग्रेस नेतृत्वको सहकार्यलाई मात्रै गठबन्धन भनिएको छ र उम्मेदवारको दललाई नै गठबन्धन दल भन्ने गरिएको छ । यही गठबन्धनका पक्ष र विपक्षमा चर्चा परिचर्चाहरू चलिरहँदा सबैभन्दा बढी विरोध नेकपा एमालेले गरेको पाइन्छ र गठबन्धनलाई अराजनीतिक र अपवित्र भनी एमाले अध्यक्ष ओलीले आरोपित गर्ने गरेका छन् ।

ओली सधैं गलत नहुन पनि सक्दछन् । उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीका बीचको गठबन्धन पवित्र होइन भन्ने गरेका छन् । उनले यसो भन्नुमा गठबन्धन सशक्त भयो भने एमाले हार्छ र आफ्नो अस्तित्व सकिन्छ भन्ने मक्सद होला तर पनि यो भनाइ सत्य साबित हुने सम्भावना त्यत्तिकै रहेको छ । राजतन्त्रवादीहरूसँग चुनावी तालमेल र सहकार्य गर्न रुचाउने एमालेका अध्यक्षले बारम्बार प्रहार गर्दै समाप्त पार्न खोजिएको संसद् र संसदीय व्यवस्थालाई पुनर्जीवन प्रदान गर्न सफल लोकतन्त्रवादीहरूका बीचमा भएको गठबन्धन कसरी अपवित्र भयो भन्ने प्रश्न उठ्न सक्दछ तर पनि आगामी संसदीय निर्वाचन सम्पन्न भइनसक्दासम्म यसबारेमा ठ्याक्कै भन्न सक्ने अवस्था भने छैन ।

स्थानीय निर्वाचन सम्पन्न भइसकेपछि परिणाम जे जस्तो आए पनि पाँच दलीय गठबन्धन कायमै रहेर प्रदेश तह र संघीय तहका आमनिर्वाचनमा समेत कायमै रहन सक्यो भने कसैले दोष लगाउने ठाउँ रहँदैन र ओली गलत ठहरिन्छन् । अहिले बजारमा चलेका हल्लाबाट के अनुमान गर्न सकिन्छ भने नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई आशा गरे अनुरूपको स्थान आसन्न स्थानीय निर्वाचनमा प्राप्त नहुन सक्दछ । यसो हुन गएमा यही गठबन्धनलाई कायम राखिरहनका लागि उनीहरू त्यति उत्साही हुने अवस्था रहँदैन र त्यसबाट उत्पन्न हुने परिणामले यो गठबन्धन सत्तास्वार्थका लागि मात्र थियो र पवित्र थिएन भन्ने प्रमाणित गर्दै ओली सत्य साबित हुन सक्दछन् ।

अर्कोतर्फ नेपाली कांग्रेसले पनि आफ्नो भागबाट धेरै सिटहरू नेकपा माओवादी र नेकपा समाजवादीलाई छुट्याएको छ । कांग्रेसले आफ्ना भागमा परेका सबै सिटहरूमा विजय हासिल गर्दछ भन्ने कुनै ग्यारेण्टी छैन र हँसिया हथौडा मन पराउनेहरूले त्यही झण्डा बोकेर हिँड्ने गरेकाहरूलाई छाडेर चारतारे झण्डापट्टि आफ्नो पूर्णझुकाव देखाउलान् भन्ने पनि आशंका गर्नेहरू धेरै पाइन्छन् ।

त्यस्तै परिणाम आयो भने नेपाली कांग्रेसका समर्थकहरूमा निराशा छाउने छ र यदि त्यस्तै नतिजा हात लाग्यो भने अघिल्लो स्थानीय निर्वाचनमा खाएको धोकाको संस्मरण हुनथाल्दछ । त्यो अवस्थामा कांग्रेस पनि गठबन्धनका लागि बाध्य रहिरहला भन्न सकिँदैन । किनकि नेकपा माओवादी र नेकपा एसका मतदाताहरूले पार्टी केन्द्रको आशयलाई उल्लंघन गरे भने नेपाली कांग्रेसले विगतमा जित हासिल गरेका स्थानीय तह पनि गुमाउनुपर्ने हुन्छ ।

स्थानीय तह निर्वाचन सकिने बित्तिकै आशा गरेअनुरूपको परिणाम प्राप्त नभएमा हारलाई सान्त्वना दिन माओवादी केन्द्र र माधव नेपाल नेतृत्वका दलहरूले नयाँ रणनीति अपनाउन सक्दछन् । उनीहरूको पहिलो प्रयास यी दुई पार्टीको एकीकरण हुनेछ र त्यसमा सफल भए भने प्रचण्डले अर्को तानाबान बुन्न थाल्नेछन् भन्ने पनि निश्चित प्रायः नै छ । अर्को प्रयास भनेको फेरि नेपालका सबै कम्युनिष्टहरू एक हौँ भन्ने नारा घन्काइनेछ र सबै कम्युनिष्ट नामधारी पार्टीहरूलाई एक बनाएर नयाँ नेपाल कम्युनिष्ट पार्टीका नाममा सबै एक ठाउँमा हुने सम्भावनाको आकलन गरिएकै छ ।

त्यतिबेला भने गठबन्धन सर्वथा पवित्र मानिनेछ र नेपालको गणतन्त्र जोगाउन सक्ने त्यही पार्टीमात्रै भएको घोषणा गरिने कुरामा धेरैले शंका गरेको पाइँदैन । त्यसपछि नेपालको लोकतन्त्र कमजोर हुँदै जाने र मुलुक र जनताको समृद्धि झन् पछि पर्दै जाने निश्चित भए पनि त्यही हुन सक्ने कुरामा विश्वस्त हुन त्यति कठिन छैन र यसलाई कसैले रोक्न सक्ला जस्तो पनि लाग्दैन ।

त्यसैले पनि अहिले गठबन्धन दलहरूले सामान्य मिहिनेत गरेर पुग्ने अवस्था देखिँदैन । संसद्को अन्त्य गर्नैपर्दछ भनेर नेकपा एमाले पार्टी अहिले पनि कम्मर कसेर लागेको छ र उसले आगामी दिनमा संसद् चल्न दिने कुनै छाँटकाँट देखिएको छैन । यो गठबन्धनलाई कमजोर पार्न, यसका उम्मेदवार हराउन र सके स्थानीय चुनाव अगाडि नै नसके त्यसपछि पनि भत्काउन एमाले लाग्छ नै र यसो गर्नु उसको धर्म पनि हो । त्यसमा केपी ओली र उनको दल एमालेलाई सर्वथा असफल पार्न सकेमात्र गठबन्धनमा सामेल भएका दलहरूका नेताहरू र ती दलहरूको सफलता देखिन्छ ।

अन्यथा ओली नै सफल हुनेछन् र बाँकी नेताहरू मुख देखाउन सक्ने अवस्थामा रहने छैनन् । त्यसैले गठबन्धन दलहरूका नेताहरू र समर्थकहरूले मतदानमा कत्तिको इमानदारी प्रदर्शन गर्दै चुनावमा होमिन्छन् ?  पर्यवेक्षकहरू त्यही हेरेर बसेका छन् । गठबन्धन जोगाउनुमात्रै होइन, आफूले टिकट दिएका उम्मेदवारहरूको साख जोगाउँदै प्रतिरक्षा गर्नुपर्ने अवस्थासमेत देखिएको छ । विशेषगरी टिकट पाएका उम्मेदवारहरूको राम्रा र सशक्त पक्षको प्रचारप्रसारभन्दा कमजोरीहरूको चर्चा नेपाली कांग्रेसका सदस्यले नै गर्ने गरेको देखिँदा चुनावी परिणाम के होला भन्ने ढुक्कै कसैले भन्न सक्ने देखिएको छैन । कांग्रेसले कस्तालाई टिकट दिन्छ र कांग्रेसीहरूले कस्तो विश्लेषण गर्दछन् भन्ने उदाहरणका लागि काठमाडौं महानगरमा मेयर पदका लागि दिइएको उम्मेदवारीलाई लिन सकिन्छ ।

नेपाली कांग्रेसले सिर्जना सिंहलाई मेयरका लागि उम्मेदवार बनायो । उनले २०३३ सालदेखि नेपाली कांग्रेसको सदस्यतालाई निरन्तरता दिएकी छिन् । क्याम्पस पढ्दा विसं २०३५ देखि २०३८ सम्म नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष थिइन् । २०३६ मा बहुदलको प्रचारप्रसार गर्न गठित महिलाहरूको समितिको जिल्ला अध्यक्ष थिइन् । विसं २०३९ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षसमेत भएकी सिंह विसं २०४६ को जनआन्दोलनमा समेत चुप लागेर बसिनन्, सक्रिय भूमिका निभाइन् । २०५४ सालदेखि नेपाल महिला संघ, काठमाडौंको प्रमुख सल्लाहकार रहेकी सिर्जना नेपाली कांग्रेसको ११औं र १४औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी नेतृ हुन् । अरूहरू कोही कोही जस्तै कसैकी पत्नी भएकै भरमा नेतृत्वमा आएकी भनेर उनलाई भन्न मिल्ला जस्तो देखिँदैन ।

यति परिचय बोकेकी सिंहलाई प्रकाशमान सिंहकी पत्नी भएकै भरमा टिकट पाएको भनेर दोषारोपण गर्न थालियो भने निश्चय नै अन्याय हुन जान्छ । सर्वोच्च नेता गणेशमान सिंहको बुहारी बन्न पाउनु उनको सौभाग्य हो भने त्यही सौभाग्यका कारण नेतृत्वमा आउनै नपाउने हो भने उनको महिला भएर कसैकी पत्नी हुनु र कसैकी बुहारी हुनुलाई महिलाहरूको दुर्भाग्य नै मान्नुपर्दछ । यो भनेको समग्र महिलामाथिको अन्याय हो । त्यसैले यस्ता कुराहरूलाई उराल्नु कुनै पनि हालतमा उचित मान्न सकिँदैन । उनका पति प्रकाशमान सिंहसँग कसैको कुनै रिस छ भने त्यो आक्रोशलाई सिर्जनासँग जोडियो भने पनि न्याय हुनसक्दैन ।

त्यसैले यस्ता चर्चा परिचर्चा कहीँ कतै भइरहेका छन् भने ती चर्चाहरूलाई तत्काल बन्द गरेर अगाडि बढ्नु र कांग्रेसले सदस्यहरूलाई परिचालन गर्न सक्नु नै बुद्धिमानी ठहर्ने कुरामा कुनै दुईमत हुँदैन । यो भन्नुमा पंक्तिकारको स्वार्थ जोडिएको ठानिएला तर यथार्थ के हो भने यो पंक्तिकारको उम्मेदवार सिंह र उनका पतिसँग आजसम्म दोहोरो चिनजान छैन ।

यस्तै टीकाटिप्पणी कांग्रेसका उम्मेदवारले धेरै ठाउँमा व्यहोर्नु परेको देखिन्छ । कसैलाई कालो भएको, कसैलाई गोरो भएको, कसैलाई दुब्लो भएको, कसैलाई मोटो भएको आरोप लगाएर हुँदैन । कतिपय ठाउँमा गुटका नाममा साह्रै अन्याय गरिएको पनि पाइएको छ तर पनि कुनै न कुनै योगदान गरेकै मान्छेले उम्मेदवार बन्ने मौका पाएका छन् भने गुनासालाई पचाउने साहस राख्नै पर्दछ । मतदानको दिनसम्म यस्तै भइरहे कांग्रेसको विजयको परिकल्पना गरेर बसेकाका निमित्त त्यो दिवास्वप्नमात्र हुन जानेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?