निर्यात नीतिको माग

Read Time = 3 mins

काठमाडौं । निजी क्षेत्रले निर्यात नीतिकोे माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्यातसम्बन्धी ठोस नीति नहुँदा राज्यका निकायबीच समन्वय अभाव रहेको तथा निजी क्षेत्रसमेत अलमलमा परेको भन्दै निर्यात नीतिको माग गर्नुभयो ।

नेपाल हातेकागज संघको १५औँ वार्षिक साधारणसभा तथा नेपाली कागज प्रदर्शनी समारोहलाई बिहीबार सम्बोधन गर्दै उहाँले सरकारले निर्यातजन्य वस्तुलाई उचित संरक्षण र संवद्र्धन गर्न नसक्दा मुलुकको अर्थतन्त्र नै आयातमुखी बन्दै गएको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेसम्म हाम्रो देशको निर्यातसम्बन्धी नीति के हो भन्ने हामी कसैलाई थाहा छैन, निर्यातमा नगद प्रोत्साहन नीति भनेर ल्याइयो तर त्यो यति झन्झटिलो बनाइएको छ कि त्यो लिन खोज्यो भने निर्यातकर्ताको मनोबल नै कमजोर बनाउँछ ।’
संघका अध्यक्ष किरणकुमार डंगोलले नेपालको मौलिक उत्पादन हातेकागज निर्यातमा ९० प्रतिशतसम्म मूल्य अभिवृद्धि भइरहे पनि राज्यले प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो । निर्यात बढाउने इच्छाशक्ति नहुँदा खर्बौंको आयात र व्यापारघाटा हुँदा पनि टुलुटुलु हेरेर बस्नुपरेको उहाँको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखेरलले हातेकागज प्रशोधनमा परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्नुपर्ने र श्रमको उत्पादकत्व बढाउनुपर्ने बताउनुभयो । मन्त्रालय हातेकागजको उत्पादन र बजारीकरणमा सहयोग गर्न तयार रहेको जानकारी गराउँदै उहाँले गुणस्तरीय उत्पादनमा जोड दिनुभयो ।

निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष चण्डिप्रसाद अर्यालले निर्यातजन्य वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत कम गर्नेतर्फ योजना बनाउनुपर्ने बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले गुणस्तरीय उत्पादनका लागि श्रमिकलाई तालिम जरुरी रहेको बताउनुभयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक लक्ष्मी जोशीले कुल निर्यातमा हातेकागजको ०.८४ प्रतिशत योगदान रहेको र वार्षिक एक अर्ब ३५ करोडको निर्यात हुने गरेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?