फोहोरमा मोहोर खोज्नेको कथा : कवाडी सामान संकलनबाटै वार्षिक ६ लाखसम्म आम्दानी

Read Time = 8 mins

अनिल पोखरेल/हिटा
राजविराज । सप्तरीको राजविराज नगरपालिका-४ की ४५ वर्षीया सकिना खातुनलाई यतिबेला भ्याइ-नभ्याई छ । चुलो चौकामा मात्र सीमित रहने सकिनाले एक वर्षअघि फोहोरमा मोहोर कमाउन सक्ने जानकारी पाएपछि घरधन्दा सकाएर दिनहुँ फोहोर संकलनमा गर्न व्यस्त हुनुहुन्छ । राजविराज बजारमा फालिएको प्लाष्टिक बटुलेर बेच्न थालेपछि दिनकै पाँच सयभन्दा बढी आम्दानी गर्न थालेको उहाँको कथन छ । उहाँ भन्नुहुन्छ, ‘पहिले काम थिएन । कहिले पेटभरि खाइन्थ्यो । कहिले भोकभोकै बस्नुपथ्र्याे । अहिले भ्याइ-नभ्याई छ । भोकभोकै बस्नु परेको छैन ।

सोही ठाउँका कलिम मियाँका परिवारले पहिले एक दिनमा एकछाक मात्रै खान पाउँथे । गरिबीका कारण प्राय एकछाक भोकभोकै बस्नुपर्ने बाध्यता थियो । फोहोर बटुलेर मोहोर कमाउन थालेपछि त्यो समस्या हटेको छ । राजविराज-१ की ३० वर्षीया बबिता राम पनि आफ्ना दुई छोराछोरी, श्रीमानसहित प्लाष्टिकको झोला, डब्बा फोहोरबाट सडकबाट टिप्दै बोरामा राख्दै गरेको अवस्थामा राजविराज बजारमा भेटिनुभयो । उहाँले भन्नुभयो, ‘पहिले हामीलाई दुई छाक हातमुख जोर्न समस्या थियो । फोहोरबाट प्लाष्टिक उठाएकै कारण अहिले हामीलाई सजिलै खान पुगेको छ ।’

घरमा कोही नभएकाले छोराछोरी पनि सँगै आउँछन् । यिनीहरूले पनि हाम्रो काममा सघाउने गरेको बबिताको भनाइ छ । उहाँले फोहोरबाट बटुलेको प्लाष्टिकको झोला र डब्बाबाट दैनिक पाँच सयदेखि ६ सय रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । बबिताले भन्नुभो, ‘कवाडीवालाले हामीसँग प्रतिकेजी २० रुपैयाँको दरले प्लाष्टिक किन्ने गरेको छ । हामी श्रीमान्, श्रीमती नै यो काममा व्यस्त हुनाले दैनिक २५ देखि ३० केजी प्लाष्टिक बटुल्दै आएका छौँ ।’ उहाँका अनुसार दैनिक प्लाष्टिक संकलन गरेकै भरमा वार्षिक ६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
अहिले उहाँहरू मात्र नभएर राजविराज बजारलगायत जिल्लाको विभिन्न ठाउँमा फालिएको प्लाष्टिकको झोला, डब्बा, बोतललगायत प्लाष्टिकको सामग्री टिप्दै जम्मा पार्ने व्यक्तिहरू जताततै भेटिने गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले बताउनुभयो । जिल्लाको एक मात्र औद्योगिक क्षेत्रमा कोसी पोलिमर्स उद्योगमा फालिएको प्लाष्टिक प्रयोग गरेर पाइप बनाउन थालेपछि उनीहरूले काम पाएर राम्रो आम्दानी गर्न थालेका हुन् । जिल्लामा प्लाष्टिकको पाइप बनाउने उद्योग खुलेसँगै निम्नस्तर, विपन्न परिवारले रोजगारी पाएका उनीहरूलाई जिविकोपार्जन गर्न सहज भएको स्थानीय बताउँछन् ।

राजविराज नगरपालिका-६ का स्थानीय नरेशकुमार चौधरीले भन्नुभयो, ‘यो उद्योग सञ्चालन हुनुभन्दा पहिले जिल्लाको नाला, सडक, सार्वजनिक ठाउँलगायत स्थानमा प्लाष्टिकको झोला र प्लाष्टिकको बोतलले जताततै फोहोरै फोहोर देखिन्थ्यो । नालाहरूमा प्लाष्टिकको झोला बोतल भरिएर जाम हुन्थ्यो । सडकमा समेत प्लाष्टिक जताततै फालेपछि फोहोर देखिन्थ्यो । पहिले जस्तो अहिले प्लाष्टिक जिल्लामा देखिन छाडेको छ ।’

प्लाष्टिकले नाला जाम भएर जिल्लामा बाढी आउने समस्या पनि विस्तारै सुधार हुँदै आएको राजविराज नगरपालिका–४ का युवा नेता शम्भु दास बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘बोतल, झोला, डब्बालगायत प्लाष्टिकबाट बनाइएको सामग्री फाल्ने व्यक्तिको कमी भएको होइन । फोहोरबाट प्लाष्टिक निर्मित सामग्री बटुल्नेको संख्या राजविराजमा बढेपछि फालिएको प्लाष्टिकबाट जिल्लाबासीले वर्षौंदेखि भोग्दै आउनुपरेको समस्याको न्यूनीकरण भएको हो ।’

एकजनाले दैनिक १५ देखि ३० केजी प्लाष्टिक बटुलेर कबाडीमा बेच्ने र कबाडीबाट सप्तरीको रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा सञ्चालित कोसी पोलिमर्स उद्योगले प्लाष्टिकको स्तरअनुसार प्रतिकेजी २० देखि ५० रुपैयाँ केजीको दरले किन्दै आएको राजविराज–६ मा कवाडी सञ्चालन गर्दै आउनुभएका अमोद देवले बताउनुभयो । यो उद्योग २०७४ सालमा खुलेपछि खेर गएको प्लाष्टिक किनबेचका लागि राजविराज बजारमा पाँचवटा नयाँ कवाडी खुलेको उद्योग सञ्चालक रमेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो उद्योगमा २३ जना कर्मचारी कार्यरत छन् । प्रत्येक कवाडीमा कम्तिमा दुई जनाका दरले कामदार छन् । दैनिक एउटा कवाडीमा १० देखि १२ जनाले काम नलाग्ने फालिरहेको प्लाष्टिक बटुलेर दैनिक जम्मा गरेर किलोको दरले बेच्ने गरेका छन् । दैनिक ५० देखि ६० जनाले प्लाष्टिकको झोला, डब्बा बटुल्ने र यही हाराहारीमा प्लाष्टिकको फालिएको बोतल बटुल्नेहरूको संख्या रहेको छ ।’ कवाडीमा आएको प्लाष्टिकको बोतल भने प्लाष्टिकको पाइपमा प्रयोग नहुने भएपछि बाहिरको जिल्लामा सप्लाई हुँदै आएको रमेशको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मेरो उद्योगमा दिनको पाँच सयदेखि ६ सय केजी प्लाष्टिक खपत हुँदै आएको छ । यसबाट उत्पादन भएको पाइप कल गाड्न, बोरिङ गाड्दा, ढल निकास गर्न तथा धाराका लागि प्रयोग हुँदै आएको छ । उहाँले यो उद्योगबाट बर्षको १० देखि १२ लाख आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?