स्वतन्त्र उम्मेदवारले दलहरूमा तनाव

Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । गठबन्धन र तालमेलका कारण बागलुङमा स्वतन्त्र उम्मेदवारी अत्यधिक परेको छ । गठबन्धन र तालमेलका कारण प्रमुख पदहरूमा महिला उम्मेदवार कम भएको अवस्थामा केही महिलाहरूले पार्टीमा विद्रोह गरेका छन् भने केहीले पार्टी नै परित्याग गरेर उम्मेदवारी दर्ता गराएका छन् । महिला संघ बागलुङकी सचिव उषा पौडेलले गठबन्धका कारण आफूलाई टिकट नदिएपछि नेकपा एमाले प्रवेश गरेर जैमिनीको उपप्रमुखमा एमालेबाट चुनाव लड्नुभएको छ ।

गठबन्धनका नाममा महिलालाई पाखा लगाउने काम भएको भन्दै उहाँले पार्टी नै छोड्नुभयो । यस्तै गठबन्धका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेपाली कांग्रेसलाई परेपछि दुवैले पुरुषलाई उठाएको भन्दै जनमोर्चाकी नेतृ रुद्रा क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गठबन्धनका कारण आफूले टिकट नपाएको, पार्टीमा मूल्यांकन नभएको भन्दै पार्टी छोड्ने, अर्को पार्टीको चुनाव चिन्हबाट लड्ने र स्वतन्त्र उठ्नेको बागलुङमा बिगबिगी छ । जिल्लाको ताराखोला गाउँपालिकामा हालका गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । पालिका अध्यक्ष हुँदा निकै लोकप्रिय बन्नुभएका घर्तीले पार्टीले अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले ताराखोलामा धनबहादुर विक हिमाललाई अध्यक्षको उम्मेदवार बनाएपछि घर्तीले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको हो । यस्तै, गलकोट नगरपालिकामा नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसेले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । नेपाली कांग्रेस बागलुङका जिल्ला सदस्य सदस्य चालिसेले नगरप्रमुखमा दाबी गरे पनि पार्टीले पुनः भरत शर्मा गैरेलाई दोहो¥याउने निर्णय गरेपछि उहाँले विद्रोह गर्नुभएको हो ।

यस्तै, गलकोटमा उपमेयर नपाएपछि नेकपा माओवादी केन्द्रका गलकोट अध्यक्ष तिलक उप्रेतीले पार्टी परित्याग गरेर स्वतन्त्र उठ्नुभएको छ । गलकोटमा गठबन्धबाट प्रमुख कांग्रेस र उपप्रमुख माओवादीलाई परे पनि उप्रेतीले आफूले टिकट नपाएको भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ । ‘पार्टीमा लामो समय काम गरियो, टिकट पाउने बेला अर्कैलाई दिइयो’ उहाँले भन्नुभयो, ‘मेले नेकपा माओवादी परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको छु ।’

जिल्लाको ढोरपाटन नगरपालिकामा पनि नेपाली कांग्रेसकी नेतृत्व दिलमाया पौवीले स्वतन्त्रबाट नगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ । गठबन्धबाट प्रमुख पद माओवादीलाई परेपछि उहाँले रुष्ट भएर नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, गठबन्धनमा बागलुङ नगरपालिकाको उपप्रमुख पद मागिरहेको नेकपा एसले नपाएपछि गठबन्धको निर्णयविपरीत उपप्रमुखमा जीवन आचार्यलाई उठाएको छ । यस्तै, नेकपा एमालेले बागलुङ नगरपालिका-२ र ३ मा उठाएको उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेदवारीसमेत परेको छ । एमालेले २ मा रामबहादुर जिसी र ३ मा कमल खड्कालाई उठाएपछि २ मा रामराजा गुरुङ र ३ मा पुनमप्रसाद शर्माले बागी उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले पार्टीले अन्याय गरेकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यस्तै, बानपा-३ मा गठबन्धनबाट माओवादीलाई नपरेको भन्दै माओवादीका नेता बाबुलाल शाक्यले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पार्टीले टिकट नदिएको भन्दै काठेखोला गाउँपालिका-१ का वडा सभापति गणेश नेपालीले पार्टी छोडेर स्वतन्त्र रूपमा चुनावमा आएको बताउनुभयो । बागलुङमा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने र बागी उठ्नेको लर्को लागेपछि गठबन्धन र एमालेलाई बागी मिलाउनै सकस भएको छ ।

पार्टीको निर्णयअनुसार नै आफ्नो मागअनुसार बागलुङ नगरपालिकाको उपप्रमुख नपाएपछि आफ्नो दलले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको नेकपा एसका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताउनुभयो । ‘पार्टीको निर्णयअनुसार उम्मेदवारी दर्ता भएको हो, गठबन्धनले हामीलाई बानपाको उपप्रमुख दिएन’ उहाँले भन्नुभयो, ‘जे हुन्छ पार्टीको निर्णयअनुसार हुन्छ, केन्द्र तहमा छलफल भइरहेको छ ।’

यस्तै, वडास्तरका स्वतन्त्र उम्मेदवार मिलाउन नेकपा एमालेले छलफल गरिरहेको र एमालेमा धेरै समस्या नरहेको भन्दै उम्मेदवारी फिर्ता गर्ने समयसम्म मिलाई सक्ने एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो । तर, गठबन्धलाई भने स्वतन्त्र उम्मेदवारलाई मिलाउन अझै सकस पर्ने देखिएको छ । पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमै बागी र स्वतन्त्र उम्मेदवार दर्ता गरेका कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चा सहितका दलहरूले असन्तुष्ट बनेर पार्टी छाडेका, बागी उम्मेदवारी हालेका नेता कार्यकर्ताहरूलाई सम्झाउन गठबन्धलाई हम्मे हम्मे परेको छ । उम्मेदवारी फिर्ता गर्ने आयोगको समय तालिकाअनुसार वैशाख १६ गते साँझ पाँच बजेसम्म रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?