चैते दशैं मेलामा १० करोडको कारोबार

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 4 mins

बागलुङ । यस वर्षको चैते दशैं मेलामा १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेला बागलुङमा निरन्तरता पाइरहेको छ । कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको बागलुङको चैते दशै मेला बिहिबार सकिएको छ । मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादाल लगायतको समेत स्टल राखिएको छ । मेलामा राखिएको १५० स्टलमा खाद्यन्न, लत्ता कपडा, कस्मेटिक र खेलौना लगायतका सामाग्रीको कारोबार भएको थियो । मेलाको समग्र कारोबार रु. १० करोड भएको आयोजकको अनुमान छ । बागलुङको पर्यटन व्यवसायमा समेत मेलाले चलयमान बनाउदै आएको छ ।

बागलुङ कालिका भगवती गुठीको आयोजना भएको नेपालकै ऐतिहासिक मेला मध्येको एक चैते दशै मेलामा स्थानीय र आयातित उत्पादनको खरिद विक्री भएको थियो । कालिका मन्दिरसंग जोडिएको चैते दशैं मेलामा पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले गरेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मेलामा ८ करोडदेखि १० करोडसम्मको कारोबार भएको छ । मेला भर्नका लागि गुल्मी, म्याग्दी, पर्वत जिल्लाबाटसमेत आएका थिए ।

कालिका मन्दिरले प्रत्यक वर्ष रु. १० लाख चैते दशैं मेला सञ्चालनका लागि दिने गरेको छ । वि.सं. १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गरेको र राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा बिसाइएको थियो । बिसाइएको भोलीपल्टपछि मूर्तिसहितको डोली उठाउन खोज्दा डेग नचलेपछि उक्त ठाउँमा मन्दिर स्थापना भयो, पछि चैते दशैमा आउने भक्तजनहरुले स्थानीय उत्पादनको खरिद विक्रि गर्ने चलन बढ्यो र चैते दशैको मेलाका रुपमा अहिले सम्म निरन्तरता पाइरहेको छ ।

बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रही आएको छ । पहिला डाली, नाङ्ला, ठेका ठेकी, आँसी र बाउँसोको व्यापार राम्रो हुनेभएपनि पछिल्लो समय आयातित सामग्रीको व्यापार बढेको छ । चैते दशै मेलाका अवसरमा कालिका कप खुल्ला राष्ट्रिय भलिबल प्रतियोगिता, खुल्ला लोक दोहोरी प्रतियोगिता, छेलो, बिद्यालय स्तरीय नृत्य, कालिका मन्दिर परिसरदेखि शालग्राम संग्राहलयसम्म दाैंडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?