‘मिसेस युनिभर्स २०२३’ मा नेपालको प्रतिनिधित्व गर्दै विमला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा लण्डनकी विमला बुढाथोकीले प्रतिनिधित्व गर्ने हुनुभएको छ । लण्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उहाँ फिलिपिन्स जाने हुनुभएको हो ।

बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ कि विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिनुभएको थियो । फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरूको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी गराउनुभयो । विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताउनुभयो ।

सन् २०१० देखि बेलायत बस्दै आउनुभएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गर्नुभएको छ । क्याबिन क्रुको तालिमसमेत लिनुभएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गर्नुभएको थियो ।

हाल उहाँ बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आउनुभएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आउनुभएको छ । बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवद्र्धन गर्ने उहाँको चाहना छ ।

लण्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा ‘मिसेस नेपाल युनिभर्स’का पूर्वप्रतिस्पर्धी सुन्दरीहरूले ‘क्याटवाक’ गरेका थिए । संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गर्नु भएको थियो । यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिस्पर्धा नगरिएको र प्रक्रियागत रूपमै आन्तरिक छनौट गरिएको आयोजक संस्थाकी मनिषा डंगोलले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?