पेचिलो बन्दै फुटबल विवाद

Read Time = 8 mins

काठमाडौं । मुख्य प्रशिक्षकसँगको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै प्रशिक्षण छाडेका खेलाडीलाई वेवस्था गर्दै नेपाली राष्ट्रिय फुटबलमा खेलाडी थपेर प्रशिक्षण जारी राखिरएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै नौजना खेलाडीहरूले बन्द प्रशिक्षण छाडेका थिए । एएफसी एसियन कप छनोट २०२३ को छनोट चरणको तयारीमा गरिरहेको टोलीमा ती खेलाडीलाई छाड्दै बन्द प्रशिक्षण जारी राखिएको हो ।

प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीलाई राखिएको थियो । तर होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले घर जान्दै टोली बाहिर राख्नुभएको थियो । कप्तान किरण चेन्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो ।

रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीलाई पनि प्रशिक्षक अलुमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित हुनुभएको हो । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताईरीसँग खेल्न नसकिने बताउनुभएको थियो ।

ती खेलाडीहरू बन्द प्रशिक्षणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक अल्मुताइरीले नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गराउनुभएको छ । एन्फाले आधिकारी रूपमा नयाँ खेलाडीको नाम सार्वजनिक नगरे पनि सार्वजनिक तस्वीर तथा भिडियोका अनुसार नयाँ बन्द प्रशिक्षणमा रूपबहादुर लामा, निरकुमार राई, शिव गुरुङ, विकास तामाङ, जर्जप्रिन्स कार्की, आकाश बुढामगर, प्रशान्त अवस्थी, अभिषेक बराल, विशाल सुनार, शेशेहाङ आङदाम्बे नयाँ खेलाडीका रूपमा टोलीमा प्रशिक्षण लिइरहेको देखिएको छ ।

खेलाडीको पत्रकार सम्मेलनसँगै खेलाडी र मुख्य प्रशिक्षकबीचको तिक्ता झनै बढेर गएको छ । क्याम्पबाट बाहिरिएका खेलाडीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षकमाथि छानविन गरेर कारबाही हुनुपर्ने माग राख्नुुभएको छ ।

पत्रकार सम्मेलनमा खेलाडीले अल्मुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बारिएको बताउनुभएको छ । उनीहरूले विज्ञप्ति जारी गर्दै अहिलेसम्म थुप्रै आन्तरिक कुरालाई बाहिर नल्याएको तर पछिल्लो पटक भएको अन्यायविरुद्ध खुलेर बोल्नुपर्ने बेला आएको बताउनुभएको छ । ‘राष्ट्रिय टोलीमा भएको घटनालाई अन्तरिक रूपमै सुल्झाउने हाम्रो सोच थियो । त्यसैले पनि हामीले उक्त घटनाबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी गराएका थियौं । तर समस्या सुझाउनुको सट्टा जिम्मेवार व्यक्तिबाटै सार्वजनिक मिडियामा हामीविरुद्ध गैरजिम्मेवार प्रतिक्रिया र अनर्गल आरोप लागेको कारण हामी आफ्नो भनाइ राख्न बाध्य भएका छौं,’ खेलाडीहरूको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो घटनाक्रमले भने हामी खेलाडीको योगदान र जीवनभरको मिहिनेतमै समर्थकबाट प्रश्न उठ्दा दुःख लागेको छ । हामीलाई भएको अन्यायमाथि अझ आमसमर्थकबाट आएको नकारात्मक प्रतिक्रियाले हाम्रो खेल जीवन के सार्थकतामा प्रश्न उठेको छ ।’

‘यसपटक क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले सामान्य गास बास बारे प्रश्न सोध्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौं,’ विज्ञप्तिमा थपिएको छ, ‘राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो थिएन त्यसमाथि क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ ।’

प्रशिक्षकले छाडेर जाउ भनेको कुरा टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेको तर समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएको खेलाडीले उल्लेख गर्नुभएको छ । ‘टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रूपमै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य-तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं,’ खेलाडीहरूले उल्लेख गरेका छन् ।

प्रशिक्षकले राष्ट्रिय टोलीको क्याम्पमात्र नभएर दैनिक जीवनमा हुनुपर्ने सामान्य कुराबारेसमेत अनावश्यक मानसिक दबाब दिने गरेको आरोप खेलाडीको छ । जुन किसिमको व्यवहार प्रशिक्षक अलमुलाइरी र टोलीबाट भयो, त्यसबाट दुखिरहेको बताउँदै खेलाडीले एकपछि अर्को अन्यायपूर्ण निर्णय भएपछि यसपटक सार्वजनिक रूपमै बोलेको बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?