काठमाडौं । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्यो । बिहीबारको हारसँगै एक खेल खेल्न बाँकी रहँदै देउखुरी र पुरनधाराको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।
घोराही क्रिकेट रंगशालामा सम्पन्न खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । लक्ष्य पछ्याउने क्रममा देउखुरीका नारायण जोशीले सर्वाधिक ३० रनको योगदान दिनुभयो भने प्रज्ज्वल थापाले १४ तथा आशिष ओलीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । तुलसीपुरको बलिङमा भुवन कार्की, अमरसिंह रौटेला र दिवान पुनले समान दुई विकेट लिनुभयो । रूपेश सिंह र नवीन बिकले एक/एक विकेट लिनुभयो ।
अलराउण्ड प्रदर्शन गर्नुभएका रूपेश सिंह खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । यसअघि टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनायो । तुलसीपुरका लागि रूपेश सिंहले ४३ रन बनाउनुभयो जुन क्रममा उहाँले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गर्नुभयो । यस्तै, विराटसिंह भण्डारीले ३५ बलमा ६ चौका मद्दतले ३० रन बनाउनुभयो । दिवान पुनले १५, अमरसिंह रौटेलाले ११ तथा भुवन कार्कीले १० रनको योगदान दिनुभयो ।
बलिङतर्फ देउखुरी वारियर्सका लागि शुभम खनालले सर्वाधिक तीन विकेट लिनुभयो । जुन क्रममा चार ओभरमा २४ रन खर्चिनुभयो । आशिष ओलीले दुई तथा आवाज गौतमले एक विकेट लिनुभयो ।
दोस्रो खेलमा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गर्यो । दंगाली लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याएको पुरनधाराले १७.५ ओभरमा ७४ रनमात्र बनायो ।
पुरनधाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक २७ तथा दिपेन्द्र रावतले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुरनधारालाई सानो योगफलमा समेट्न दंगाली लायन्सका बलर बसिर अहमदले सर्वाधिक ३ विकेट लिनुभयो । जो प्लेयर अफ द म्याच घोषित हुनुभयो । राष्ट्रिय क्रिकेटर समेत रहनुभएका बसिरले ४ ओभरमा १३ रनमात्र खर्चिनुभयो । यस्तै, कप्तान विपिन खत्री, वीरबहादुर घर्ती मगर र शंकर रानाले दुई÷दुई विकेट लिनुभयो । प्रकाश जैसीले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको दंगाली लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो । ब्याटिङतर्फ दंगालीका लागि सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाउनुभयो जुन क्रममा २२ बलमा पाँच चौका प्रहार गर्नुभयो । यस्तै, अंकित बुढा मगरले २८ रन, विपिन खत्रीले २४, शिशिर डाँगीले २१, बसिर अहमदले १७ तथा शंकर रानाले १२ रन योगदान दिनुभयो ।
बलिङतर्फ पुरनधाराका कृष्ण कार्की र सुजल ओलीले समान तीन विकेट तथा दिपेन्द्र रावत र मोहन खत्रीले एक÷एक विकेट लिनुभयो । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने दुई खेलले फाइनल पुग्ने दुई टिम पक्का हुनेछ । पहिलो खेलमा बिहान ९ः३० बजे दंगाली लायन्स र देउखुरी वारियर्स तथा दिउँसो १ः३० बजेको दोस्रो खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।
जितपछि तुलसीपुर तीनवटै जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ । यस्तै, दंगाली लायन्स र घोराही टाइगर्स समान चार अंक रहे तापनि नेट रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । पुरनधाराले सबै चार खेल खेल्दा दुई अंकका साथ चौथो स्थानमा छ भने एक खेल खेल्न बाँकी हुँदा देउखुरी अंकविहीन रहँदै पाँचौँ स्थानमा छ ।
दाङ क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा पाँच फ्रेन्चाइज टोली सहभागी छन् । जसमा सुशान्तसिंह थापा कप्तान रहेको घोराही टाइगर्स, विशालविक्रम केसी कप्तान रहेको देउखुरी वारियर्स, मोहन खत्री कप्तान रहेको पुरनधारा च्यालेन्जर्स, दिवान पुन कप्तान रहेको तुलसीपुर रोयल्स तथा विपिन खत्री कप्तान रहेको दंगाली लायन्स रहेका छन् ।
प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीले समान १०/१० हजार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच