व्यवस्थापन संघद्वारा प्रि-बजेट छलफल

Read Time = 2 mins

काठमाडौं । व्यवस्थापकहरूको छाता संगठन नेपाल व्यवस्थापन संघले आगामी बजेट तथा कार्यक्रमबारे छलफल आयोजना गरेको छ । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी र विभिन्न क्षेत्रका विज्ञको सहभागिता थियो ।

निजी क्षेत्रले आगामी बजेटमा सम्बोधन हुनुपर्ने विषयसँगै विज्ञबाट प्रस्तुत महत्वपूर्ण रूपान्तरणकारी आयाम र भविष्यमा दूरदर्शी प्रभाव पार्न सक्ने बजेट प्याकेज तथा कार्यक्रममा जोड दिएको छ । निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीको सहभागिता थियो ।

त्यसैगरी विज्ञबाट प्राडा विद्यानाथ कोइराला, अर्थशास्त्री डा. विश्वास गौचन, कृषिविज्ञ डा. कृष्णदेव जोशी, पर्यटनविज्ञ वसन्तराज मिश्र, स्वास्थ्यविज्ञ किशोरकुमार महर्जन र सूचना प्रविधिविज्ञ एलेन तुलाधरको उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण संघका कार्यकारी सदस्य मनोजकुमार ज्ञवालीले गर्नुभएको थियो । खासगरी आर्थिक, मौद्रिक र प्रशासनिक क्षेत्रको नीतिगत तहमा विगत चार दशकदेखि काम गर्दै आएको संघले सरकारको बजेट तथा कार्यक्रममा सुझाव प्रस्तुत गरेको संघका सभापति उपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?