‘औद्योगिक क्षेत्रमा गरिएको विद्युत् कटौतीमा केही दिनमै सुधार आउँछ’

Read Time = 4 mins

रिता बस्नेत/हिटा
काठमाडौं । नेपालमा विद्युत््को आपूर्तिमा कमी आएको र भारतले मागेजति बिजुली नदिएका कारण कटौती गरिएको औद्योगिक क्षेत्रको बिजुलीमा केही दिनमै सुधार आउने जनाइएको छ । हिमालय टाइम्ससँगको कुराकानीमा नेपाल विद्युत् प्राधिकरण (योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालय) का उपकार्यकारी निर्देशक प्रदिपकुमार थिकेले यस्तो जानकारी गराउनुभएको हो । उहाँले केही दिनमै भारतले थप विद्युत् आपूर्ति गर्ने संकेत दिएको जानकारी गराउनुभएको छ ।

अहिले भारतबाट ४०० मेगावाटको मागमा १०० मेगावाटमात्रै विद्युत् प्राप्त भएको छ । नेपालमा विद्युत््को आपूर्तिमा कमी आएको र भारतले मागेजति बिजुली नदिएका कारण अर्थात् विद्युत््को माग र आपूर्तिबीच समन्वय गर्न नसक्दा औद्योगिक क्षेत्रहरूमा दिइँदै आएको विद्युत््को आपूर्ति हाललाई दैनिक आठदेखि १० घण्टा कटौती गरिएको छ । हाल नेपालको आन्तरिक विद्युत् उत्पादन सुक्खा मौसमका कारण कटौती हुन गई करिब ८०० मेगावाटमात्र रहेको छ भने करिब १२ देखि १३०० मेगावाटजति अपुग हुन आउँछ । भारतसँग ४०० मेगावाट विद्युत्् खरिद गर्न अनुरोध गरिएको भए तापनि उतै विद्युत््को अभाव भएकाले हाल १०० मेगावाटमात्र विद्युत् आयात गर्न सकिएको योजनातर्फका उपकार्यकारी प्रमुख थिकेले हिमालय टाइम्सलाई बताउनुभयो । तर, यसरी विद्युत् आपूर्तिमा कमी आउँदा पनि घरायसी उपभोक्ताहरूलाई भने कुनै असर पर्न नदिने नीति प्राधिकरणले अपनाएको उहाँले जनाउनुभयो ।

नेपालमा धेरैजसो जलविद्युत् आयोजनाहरू नदीमा आधारित आरओआर किसिमको भएकाले वर्षामा पानी पर्दा धेरै विद्युत् उत्पादन भई भारतलाई निर्यात गर्नुपर्ने स्थिति आउँछ भने सुक्खाको समयमा नदीमा पानीको मात्रा कम हुन गई न्यूनमात्र उत्पादन हुनाले भारतबाट नपुग विद्युत् आयात गर्नुपर्ने अवस्था आउँछ । थिकेका अनुसार अहिले भारतलाई प्रतियुनिट भारु १२ तिर्दा पनि हामीले चाहेजति बिजुली प्राप्त गर्न सकिरहेका छैनौँ तर भारतीय पक्षसँग भएको कुराकानीअनुसार केही दिनभित्रै भारतबाट थप बिजुली आयात गर्न सकिनेछ ।

अहिले खासगरी ठूला उद्योगहरूलाई विद्युत् आपूर्तिमा केही कटौती गरिएको र त्यसबाट साना उद्योगहरूमा खासै असर नपर्ने कुरा पनि उहाँले प्रष्ट्याउनुभयो । हाल वीरगञ्ज, विराटनगर र भैरहवा गरी तीन प्रमुख औद्योगिक क्षेत्रहरूमा आठदेखि १० घण्टा विद्युत् आपूर्तिमा कटौती गरिएको उहाँले जानकारी दिनुभयो । तर, अबको करिब एक महिनापछि सुरु हुने वर्षातले नेपालमा विद्युत् उत्पादनमा वृद्धि भई भारतलाई निर्यात गर्न सकिने अवस्था आउने उहाँले बताउनुभयो । नेपालले केही समयअघि मात्र भारतलाई विद्युत् निर्यात गर्न एक सम्झौतामा हस्ताक्षर गरेको थियो । सो अनुसार आगामी जुन पहिलो हप्तातिर नेपालले भारतलाई बिजुली निर्यात गर्न सक्नेछ । हाललाई भारतलाई निर्यात गरिने बिजुलीको सीमा ३६४ मेगावाट राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?