जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकका प्रसिद्ध धार्मिकस्थल

रासस
Read Time = 4 mins

चौतारा । जनैपूर्णिमामा सिन्धुपाल्चोकको आधादर्जन प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलमा दर्शनार्थीले उत्साहपूर्वक मेला भर्ने गरेका छन् । पाँचपोखरी, रैथानेश्वर महादेव, नौलिङेश्वर महादेव, भैरवकुण्ड, ढुकु र रानीपोखरीमा दर्शनार्थीको भीड लाग्ने गरेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङमा समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइ रहेको पाँचपोखरीमा साना-ठूलो गरी पाँचवटा ताल छन् । संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य हो ।

इन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा साना-ठूला धार्मिक र पर्यटकीय महत्वका पोखरी छन् । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध भक्तजनले चढाउने गर्छन् । विशेषगरी यहाँ जाने भक्तजनले खेतीपातीको राम्रो उब्जनीका लागि कामना गर्दछन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा गई पूजा गरेमा सुख, शान्तिका साथै महिलाले भगवान् शिव जस्तै श्रीमान् पाउने र विवाहपश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

पाँचपोखरी आसपासका स्थानमा आमायाग्री, ड्रागन गुफा, हबेली दरबार, च्योच्योडाँडा, नागीडाँडा, जुगल हिमाल, दोर्जे लाक्पा हिमाललगायत पर्यटकीयस्थल रहेको वडा नम्बर-३ का वडाअध्यक्ष निमछिरिङ तामाङले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् ।

भोटेकोसी गाउँपालिका-३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेमा मनले चिताएका कुरा पूरा हुने जनविश्वास छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाउँ हो । उक्त कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो ।

योसँगै चौतारा साँगाचोकगढी नगरपालिका-८ मा रहेको रानीपोखरीमा पनी भव्य मेला लाग्ने गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काठमाडाैंको रानीपोखरीको झझल्को दिनेगरी पोखरीसहितको मन्दिर निर्माण गरिएको त्यहाँका वडाध्यक्ष अमृत दँगालले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिका-९, पाँचपोखरी थाङपाल थाउँपालिका-८ र ईन्द्रावती गाउँपालिका-१ को सँगमस्थलमा रहेको नौलिङेश्वर महादेवमा पनी भब्य मेला लाग्ने गरेको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको नौलिङेश्वर महादेवको दर्शन गर्न झाक्रीसहित दर्शालु भक्तजन आउने गरेको स्थानीयवासी किरण तामाङले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?