जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरुको पुनर्निर्धारण हुनुपर्दछ : उपेन्द्र यादव

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ ।
शनिवार प्रतिनिधि सभामा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उहाँले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारको दायित्व पूरा हुन नसक्दा नेपाली नागरिकहरुले समस्या भोग्नुपरेको बताउनु भयो । सांसद यादवले सरकारले नागरिकहरुलाई नागरिकता दिन नसक्दा नेपाली नागरिकका सन्तानहरु, राष्ट्रिय अधिकारबिहीन भएर बाच्न विवश रहेको बताउनु भयो । उहाँले सरकारले नागरिकता विधेयक तत्त्काल पास गरेर नेपाली नागरिकलाई नागरिकताको समस्याबाट मुक्ति दिनुपर्ने बताउनु भयो । सांसद यादवले संघीय निजामति ऐनलाई पारित गरेर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनु पर्ने बताउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘अझैपनि लाखौँ नेपाली नागरिकहरु जसको आमा बुवा दुवै नेपाली नागरिक छन् । दुवैले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । तिनका सन्तान अझैपनि कसरी गैर नागरिक भएर बसेका छन्, कसरी गैर नागरिक बनाइएको छ । तिनलाई नागरिकता दिने दायित्व राज्यको हो । राज्यले आफ्नो दायित्व पूरा नगर्दा ती नेपाली नागरिकहरु, नागरिकका सन्तानहरु, राष्ट्रिय र अधिकारबिहीन भएको अवस्थामा बाच्न विवश छन् । गल्ती राज्यले गर्ने, राज्यले नदिने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने ? यसलाई अन्त्य गर्न तत्कालै नागरिकता ऐन, जुन झन्डै ४ वर्षदेखि अलमलमा छ । यसलाई पारित गरेर नागरिकता यथाशीघ्र प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तै संघीय निजामति ऐन, अयन्त महत्वपूर्ण छ । जसले संघीयतालाई कार्यान्वयन गर्नेछ । पहिला संसदमा दर्ता पनि भइसकेको हो । समितिमा छलफल पनि भइसकेको हो । अहिले कता अलपत्र परेको छ, तिनलाई पारित गरर संघीयतालाई कार्यान्वयनतर्फ अघि बढाउनुपर्छ ।’

सांसद यादवले मधेसमा निर्वाचन क्षेत्रहरुको पुनर्निधारण गर्नुपर्ने माग राख्नुभयो । उहाँले निर्वाचन क्षेत्रहरु तय गरिएको बेलामा भन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताउनु भयो । उहाँले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरु घुसाउने गरेको आरोप लगाउनु भयो ।

सांसद यादवले भन्नुभयो, ‘जुन बेला संसदीय निर्वाचन क्षेत्रहरु तय गरिएका थिए, त्यो बेला ४६ प्रतिशत जनसंख्या मधेसमा थियो । आज ५३ प्रतिशत पुगेको छ मधेसमा । अब ५३ प्रतिशत जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरुको पुनर्निर्धारण हुनुपर्दछ । र अर्कोतर्फ समानुपातिक समावेशिताको कुरा थियो । कसका लागि हो ? सीमान्तकृत र वहिष्करणमा पारिएका समुदायका लागि हो । तर अहिले शासकवर्गलाई पहिला राख्ने र सीमान्तकृत र वशिष्कृतलाई अन्तिममा पार्ने काम भएको छ र यसले समानुपातिक सहभागिता हुनबाट वञ्चित पार्ने षड्यन्त्र गरिएको छ । यो सूचिलाई सच्याउनु पर्छ ।’

सांसद यादवले सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने नीति लिन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?