बजेटले पूर्वाधार विकासमा सकारात्मक पहल गरेको छ: विनोद चौधरी

Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो पुस्ताको आर्थिक सुधारकालागि प्रस्थान विन्दू बन्न सक्ने बताउनु भएको छ ।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा मंगलबार भाग लिदै सांसद चौधरीले २०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले सुरुवात गरेको आर्थिक सुधारको पहिलो पुस्ताको लयलाई अहिलेको बजेटले आत्मसाथ गरेको बताउनु भयो । बजेट दुरगामी सोंचका साथ नयाँ दृष्टिकोण र कार्यान्वयनमा दृढता सहित आएको भन्दै सांसद चौधरीले आर्थिक सुधारका लागि अर्थमन्त्रालयले समाएको लयलाई अन्य मन्त्रालयले पछ्याउन जरुरी रहेकोमा पनि जोड दिनुभयो ।

बजेटले पूर्वाधार विकासमा सकारात्मक पहल गरेको भन्दै काठमाडौं– तराई फास्ट ट्रयाक तीन बर्षमा सम्पन्न गर्न ३० अर्ब विनियोजन, पूर्व–पश्चिम हाईवे विस्तारका लागि ३० अर्ब, रुपन्देहीको सिद्धबाबा, नवलपुरको दाउन्नेलगायतका स्थानमा निर्माण गरिने सुरुङमार्ग, नारायणी नदीमा निर्माण गरिने सिंग्नेचर ब्रिजको अवधारणा, धादिङ गल्छीदेखी चिनियाँ सिमाना केरुङसम्म निर्माण गरिने सडकले नेपालको विकास अभियानमा नयाँ अध्याय शुरू गर्ने विश्वास आफुले लिएको उहाँले बताउनु भयो ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद चौधरीले मुलुकको विकास र समृद्धि विशेष अभियान दशक २०७९—८९, प्रधानमन्त्री नेपाली उत्पादन एवं उपयोग अधिवृद्धि कार्यक्रम, आफ्नै उत्पादन आफ्नै उपभोग, मेक इन नेपाल तथा मेड इन नेपाल, वैदेशिक लगानी कानूनमा सुधार, उद्योग संचालन गर्न ५० बर्षसम्म जग्गा लिजमा दिनेलगायत बजेटमा गरिएका व्यवस्थाले औधोगिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास आफुले लिएको बताउनु भयो ।

आफुलाई नेपालमा भारत र चीनबाटमात्र वर्षेनी ५० लाख पर्यटक नेपाल ल्याउन सकिने विश्वास रहेको भन्दै सांसद चौधरीले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण प्रयोग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विस्तार गरि थप १० लाख पर्यटक ल्याउने योजनाले पर्यटन उद्योगमा नयाँ आशा जगाएको पनि बताउनु भयो ।

विगतमा आफ्ना कार्यकर्ता पोस्नमात्र दुरुपयोग भएका प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, नयाँ साेंच र स्पष्ट खाकासहित प्रदेश सरकारलाई जिम्मेवार बनाउने गरि सातै प्रदेशमा स्थापना गरिने इन्कुवेसन सेन्टर, भेन्चर क्यापिटललगायतका विषय बजेटमा समेटिनु सुखद पक्ष रहेको पनि उहाँले जिकिर गर्नुभयो ।

‘व्यापार घाटा घटाउन बजेटले निकै महत्वपूर्ण योजना ल्याएको छ’ सांसद चौधरीले भन्नुभयो, ‘मेडिकल शिक्षा, आइटी शिक्षा, प्राविधिक शिक्षालगायतको शिक्षाको लागि विदेशिने विद्यार्थीलाई नेपालमै रोक्नेमात्र होइन विदेशी विद्यार्थीहरुलाई पनि नेपालमा आकर्षित गर्ने कार्यक्रम बजेटमा आउनु सह्रानिय कार्य हो ।’

उहाँले उच्च निर्यात सम्भावना भएका क्लिन्कर सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायका बस्तु र सूचना प्रविधिमा आधारित सेवा तथा विजनेश प्रोसेस आउट सोर्सिङ जस्ता सेवाहरु पहिचान गरि निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गर्नु सकरात्मक रहेको भन्दै कृषि आयात निरुत्साहित गर्दै बढि आयात हुने धान, गहुँ, मकै र तरकारीको आयात ३० प्रतिशत घटाउने कार्यक्रम बजेटमा समेटिनु सकारात्मक रहेको टिप्पणी पनि सांसद चौधरीले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?