घोडा चढेर किसानका गोठ-गोठमा पुग्छन् पशु प्राविधिक सुवेदी

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । पश्चिम म्याग्दीको सुन्दर र सुविधासम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका-७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घर-घरमा मोटरसाइकल र अन्य सानाठूला सवारीसाधन छन् । तर, यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी किसानहरूलाई सेवा दिन घोडा चढेर गाउँबस्ती पुग्ने गर्नुहुन्छ ।

उहाँले एक लाख हालेर घोडा किन्नुभएको छ । करिब तीन दशकदेखि पशुपालक कृषकहरूको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीहरूसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किन्नुभएको हो । घर-घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुवेदीको भनाइ छ । ‘इन्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ, मर्मतको खर्च लागेन,’ सुवेदीले भन्नुभयो । किसानको घर आँगनमै पुगेर सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुवेदीले बताउनुभयो ।

गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदीसहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै पुगेर सेवा दिने गरेको सुवेदीले बताउनुभयो । दूधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा दिन घरदैलोमा पुग्नेक्रममा सेवाग्राहीसमेत उत्साहित हुने गरेका उहाँको भनाइ छ ।

लामो समयदेखि व्यावसायिकरूपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरूसँग घर-घरमै पुगेर व्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याहरूका बारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गर्नुभएका सुवेदीको सेवाबाट किसानसमेत सन्तुष्ट छन् । एउटा घोडा करिब २० वर्षसम्म टिकाउ हुन्छ । घोडामा लाग्ने खर्च कम भएकाले समेत ग्रामीण क्षेत्रमा महँगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उहाँको तर्क छ ।

मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुवेदीलाई यातायात खर्चसहितको सुविधासमेत किसानले दिन्छन् । सुवेदीले छोराको मोटरसाइकल किन्ने रहर भए पनि आफ्नो पेशाअनुसारको सवारीसाधन रोजेपछि परिवारका सदस्यले समेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेको उहाँले बताउनुभयो ।

धवलागिरि गाउँपालिकाको वडा नं. १ गुर्जा, वडा नं. २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन । सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारीसाधनको प्रयोग गर्न सहज छैन । वर्षाको समयमा ठाउँ-ठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिल्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?