दिनभर चुनाव प्रसार, साँझमा मापसे !

Read Time = 6 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा चालु आर्थिक वर्ष २०८७/७९ को साउनमा जम्मा तीन-तीनजना मादक पदार्थ सेवनको कारबाहीमा परेका थिए । साउनदेखि फागुन महिनासम्म आइपुग्दा मापसे कारबाहीमा पर्नेको संख्या ५१ जना पुग्यो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चैत्र महिनामा कुल ५३ जना मापसे कारबाहीमा परेका थिए । तर, बाँकेमा वैशाख ५ गतेदेखि १४ गते साँझसम्मको तथ्यांक हेर्दा मापसे कारबाहीमा पर्नेको संख्या एक्कासि बढेर २६७ जना पुगेको छ । साउनदेखि वैशाख १४ गते साँझसम्मको कारबाही संख्या जोड्दा कुल ३८० पुग्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दिएको जानकारीले त झन एकैदिन जिल्लाभर १०५ जनासम्म पनि मापसे कारबाहीमा परेको बताउँछ । वैशाख १४ गते साँझ मात्रै ४५ जना मापसे कारबाहीमा परेका थिए । यो संख्या जोड्ने हो भने झन् मापसे कारबाहीको संख्या बढी नै हुन आउँछ ।

दैनिक मापसे कारबाहीको संख्या बढेसँगै मापस चेक गर्ने मेसिनको संख्या पनि बढाइएको छ । बाँकेका विभिन्न १२ वटा स्थानमा ट्राफिक प्रहरी पोष्ट रहेका छन् । जिल्लाभर कुल मेसिनको संख्या आठवटा रहेको छ । ट्राफिक प्रहरीले जिल्लाका नेपालगञ्जको मुख्य बजार क्षेत्र राँझा चोक, फुल्टेग्रा, कोहलपुरको मुख्य बजार क्षेत्र, हाईस्कुल र पिपरी चोक क्षेत्रमा छड्के जाँच गर्दै आएको छ । यस्तै राप्ती सोनारीको शम्शेरगन्ज, कुसुम तथा बैजनाथ क्षेत्रका चिसापानी, सम्झना बजार र चाँदनी चोकमा मापसे जाँच हुने गरेकोे छ ।

ट्राफिक प्रहरी स्रोत भन्छ- पछिल्लो डेढ सातायता जिल्लाका विभिन्न क्षेत्रमा विभिन्न पार्टीका झण्डा बोकेका युवाहरू प्राय मापसेमा पर्ने गरेका छन् । पछिल्लो समय देशभर झैँ बाँकेमा पनि स्थानीय तह निर्वाचनको रौचक निकै तात्तिएको छ । पार्टीहरू आफ्नो पक्षमा मतदानको अपिल गर्दै बिहानैदेखि साँझ रातिसम्म चुनाव प्रसारमा जान्छन् । रातिको समयमा विशेषगरी भित्री गाउँ क्षेत्रबाट दलका कार्यकर्ता दलबलसहित पार्टीका झण्डा हल्याउँदै आइरहेका हुन्छन् । कोहलपुर क्षेत्रमा मापसे चेकिङको नेतृत्व गर्ने एक प्रहरी अधिकारी भन्नुहुन्छ, ‘हामी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मापसे जाँच गर्छौ । जिल्लामा मदिरामा कारण दुर्घटना हुन थालेपछि मापसे चेकिङमा कडाइ गरिएको छ । वैशाख महिना सुरु भएयता झण्डावालहरू मापसेको फन्दामा पर्ने गरेका छन् ।’

वैशाख ५ गतेयता मापसे कारबाहीमा पर्नेहरूको संख्याले यो कुरालाई बल पुर्‍याउँछ । बहुसंख्यक कारबाही पर्ने क्षेत्र नेपालगञ्जदेखि कोहलपुरसम्म र बैजनाथ तथा राप्ती सोनारी क्षेत्र रहेको ट्राफिक प्रहरीको भनाइ छ । जिल्लाका अन्य क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । जबकी बाँकेमा विगत तीन आर्थिक वर्षको मापसे कारबाहीको आँकडा हेर्दा एक आर्थिक वर्षभन्दा १० दिनको कारबाही संख्या झण्डै दोब्बरले बढी छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको वार्षिक तथ्यांकअनुसार आ.व.२०७५/०७६ मा कारबाही संख्या जम्मा १०७ जना मात्रै थियो । विगत १० दिनको तथ्यांक र उक्त वर्षको वार्षिक तथ्यांक घटाउँदा १६० जनाले बढी हुन आउँछ । आ.व.२०७६/०७७ मा १४० जना कारबाहीमा परेका थिए । विगत १० दिनको तथ्यांक एक वर्षको संख्याभन्दा १२७ ले बढी हो भने आ.व. २०७७/०७८ को संख्या जम्मा ७२ लाई हेर्दा १९५ जनाले बढी हो । प्रमुख जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख हिमालय शाहले पछिल्लो समय मादक पदार्थ सेवनको कारबाहीमा पर्ने मानिसहरू मिश्रित रहेको बताउनुभएको छ । उहाँले सर्वसाधारण, युवादेखि कर्मचारीसम्म मापसे कारबाहीमा पर्ने गरेको बताउनुभयो । पछिल्लो समय स्थानीय तह निर्वाचन नजिकिँदै आएकाले स्वभाविक रूपमा त्यसको चाप बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?