लोसपाको घोषणापत्र : बेरोजगार भत्तादेखि विवाह खर्चको व्यवस्था गर्नेसम्म

Read Time = 4 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार लोसपाले स्थानीय चुनाव केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा राजनीतिक दलहरूलाई हेर्ने लोसपाको दृष्टिकोण र लोसपाका योजनाबारे उल्लेख गरिएको छ । लोसपाले वृद्धभत्ता र महिला भत्ता वृद्धि गर्ने एजेण्डा पनि राखेको छ । साथै बेरोजगार भत्ता, औषधि उपचार भत्ता, सुत्केरीका लागि विशेष व्यवस्था, विवाह खर्च र मृत्यु संस्कार खर्च आदिको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

लोसपाले स्वास्थ्य बिमा, दुर्घटना बिमा, कृषकलाई बाली र पशुधन बिमा गर्ने पनि बताएको छ भने श्रमिकका लागि पेन्सनको सुनिश्चितता गर्ने उल्लेख गरेको छ । लोसपाले मुख्य राजनीतिक दलहरू विचारशून्य भएको पनि आरोप लगाएको छ । तराईका जिल्लाहरूमा लोसपाको मुख्य प्रतिस्पर्धी दल जनता समाजवादी पार्टीमाथि उसले कडा टिप्पणी गरेको छ । उसले जसपालाई मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टीको रूपमा चित्रण गरेको छ । कांग्रेसलाई ठूलो पार्टी सानो काममा अल्झिएको जनाएको छ । लोसपाले कांग्रेसलाई नाम ठूलो र काम सानो भएको टिप्पणी गरेको छ । यस्तै, कम्युनिष्ट पार्टीहरूलाई विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी भएको लोसपाको टिप्पणी छ । कम्युनिष्ट पार्टीहरूले राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि आफ्नो औचित्य सावित गर्न नसकेको उसको टिप्पणी छ ।

जनकपुरलाई अन्तर्राष्ट्रियस्तरको प्रदेश राजधानी बनाउने, वीरगञ्जलाई नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूको लागि अन्तर्राष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउने कुरा पनि घोषणापत्रमा समावेश गरिएको छ ।

लोसपाले मधेसी महिलालाई बिहेमा ५१ हजार रुपैयाँ अनुदान दिने घोषणासमेत गरेको छ । स्नातकसम्म अध्ययन गरेकी र कमजोर आर्थिक अवस्था भएकी महिलालाई विवाहको बेलामा ५१ हजार रुपैयाँ प्रदान गर्ने लोसपाले आफ्नो घोषणापत्रमार्फत जनाएको हो । यसले बालविवाह वा कम उमेरमा गरिने विवाहलाई निरुत्साहित गर्ने लोसपाको विश्वास छ । यस्तै, लोसपाले प्रसूतिको बेलामा हरेक महिलालाई आफ्नो र बच्चाको सही हेरचाहका लागि थप पाँच हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?