मातृपूजनको महत्वपूर्ण पर्व

विश्वनाथ खरेल
Read Time = 11 mins

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष वैशाख कृष्ण आमावाश्यालाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । यसरी मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिन आदि जे नामले मनाइए पनि यस पर्वको मूलभाव नै आफ्नी ममतामयी माताप्रति आस्था, श्रद्धा वा सम्मान प्रकट गर्नु हो । यसै कारण शास्त्रमा पनि भनिएको छः जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी । शास्त्रीयरूपमा नै जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ । आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा महत्वपूर्ण छ ।

यसले गर्दा आमा जननी हुन् । आमाको त्याग, तपस्या तथा मायाको उदाहरण पृथ्वीमा अर्को पाइन्न । हामीलाई सास फेर्न सम्भव बनाउने व्यक्ति आमा करुणाकी मूर्ति हुन् । आमाको करुणाभावले नै सन्तानको जीवन उद्धार भएकोे हुन्छ । सन्तानकोे भावनात्मक शक्ति तथा आत्मबल बलियो र स्थिर बनाइराख्ने शक्ति आमामा हुन्छ । आमाले आफ्ना सन्तान हुर्किसक्दा पनि उनीहरूका हरकुरामा चासो र ख्याल राखेकी हुन्छिन् । कति सार्थक छ- आमाको जुनी । आज मातातीर्थ औँसी ।

आमाको माया र त्यागको संस्मरण गर्दै आमाको सम्मान गर्ने दिन । आमालाई भेट्ने, मीठामीठा खानेकुरा खुवाउने, सगुन, लुगा वा अन्य उपहार दिई उहाँको सम्मान गर्ने चलन अत्यन्त सराहनीय छ । थप आमाको सम्मानका लागि उहाँको जीवनका राम्रा वा दुःखदायी अनुभवबारे संवाद गरौँ । कुराकानी साटासाट गर्दा बलियो शक्ति जन्मन्छ । आमाका अनुभव सम्मानपूर्ण मातृत्वका लागि प्रेरणादायी तथा सुधारका लागि पथप्रदर्शक हुन सक्छन् ।

यसैले होला हिन्दूधर्म र संस्कृतिअनुसार वैशाख कृष्ण औंसी तिथिलाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ । हाम्रो धर्म दर्शनले आमाबाबुलाई साथै गुरुलाई पनि स्वयं तीर्थकै प्रतिरूप मानेको छ । यसमध्ये आमालाई गंगा नामक तीर्थ भनेको छ भने बाबुलाई पुष्कर तीर्थ र गुरुलाई केदारतीर्थ मानेको छ । त्यसकारणले गर्दा मातातीर्थ औंसी भनेको हरेक व्यक्तिको एक महत्वपूर्ण पर्व हो ।
वैदिक हिन्दू धार्मिक ग्रन्थहरूमा आमाको महिमाबारे व्यापक चर्चा-परिचर्चा गरिएको छ । यसका साथसाथै जंगमतीर्थ, मानसतीर्थ, स्थावरतीर्थ, सन्ततीर्थ, भक्ततीर्थ, गुरुतीर्थ पितृतीर्थ, मातृतीर्थ, पतितीर्थ, पत्नीतीर्थ आदि आमा तिनैमध्येकी एक हुन् । नवजात शिशुको पहिलो उच्चारण हो¬ रुवाइ, जहाँ ‘अ’ को उच्चारण हुन्छ । संसारको पहिलो अक्षर भनेकै ‘अ’ हो । शब्दको स्रोत ओम हो । अ, उ र म तीन अक्षर मिलेर यो बनेको छ । ‘अ’ यसको पनि पहिलो अक्षर हो । अन्तिम उच्चारण पनि ‘अ’ मै पुगेर टंगिंन्छ ।

मूलतः लक्ष्मणले जन्मभूमि र आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भनेको कुराले पनि आमाको महिमाबारे स्पष्ट हुन्छ । सन्ततिप्रति गरिने आमाको माया नै सबैभन्दा चोखो हुन्छ । यहाँ विभिन्न धर्मावलम्बी छन् । जसको आआफ्ना किसिमका धर्महरू रहेका छन् । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो राष्ट्रमा हरेक तिथि, चाडपर्वको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । यसरी हेर्दा हरेक तिथिहरूको एउटा न एउटा महत्व पाइन्छ । जुनसुकै समाज, राष्ट्रका लागि जातीय र राष्ट्रिय स्वाभिमानका लागि प्राचीन इतिहास, परम्परा, धर्म र संस्कृति चाहिन्छ । यसबिना समाज र देशको कुनै औचित्य रहँदैन ।

आमाले हामीलाई यस धर्तीमा ल्याइन्, हुर्काइन्, पढाइन्, लेखाइन् र योग्य नागरिक बनाइन्, उनीभन्दा ठूलो तीर्थ हाम्रा लागि अरू केही हुन पनि सक्दैन । सन्तानले जति नै दुःख दिए पनि उनी कहिल्यै पनि कुभलो चाहँदिनन्, हरबखत कुनै परवाह नराखीकन उनी हरहमेसा निःस्वार्थ भावले आफ्नो सन्तानको उद्धारमात्र चाहन्छिन्, भलाइ चाहन्छिन् । आधुनिक युगमा मात्र होइन, प्राचीन युगमा पनि आफ्नी आमासरह मातृभूमिलाई पनि पवित्र मानिएको छ । जस्तै, संस्कृत भाषाको एक उक्ति छ- ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् आमा र जन्मभूमि भनेको स्वर्गभन्दा पनि ठूला हुन् ।

त्यसैले हामी आफ्नी आमालाई जस्तै आदर र सम्मान गर्छौं । त्यस्तै आफ्नो मातृभूमिलाई पनि आदर, सम्मान र माया गर्नुपर्छ र मातृभूमिको हित हुने कार्यमा लाग्नुपर्छ । हाम्रो शास्त्रमा के उल्लेख छ भने आमालाई राम्ररी खुसी पार्नेको दरसन्तानको समेत कल्याण हुने उल्लेख गरिएको पाइन्छ । त्यसैगरी आमा दिवंगत भइसकेका छोराछोरीले चाहिँ आमाको सम्झनामा विभिन्न धार्मिक अनुष्ठानहरू गर्ने चलन छ ।

यस दिन आमा स्वर्गारोहण भइसकेका छोराछोरीहरूले आफ्नी जन्म दिने आमाको सम्झना गर्दै विभिन्न किसिमको पवित्र तीर्थमा स्नान गरी श्राद्धसमेत गर्ने गर्दछन् । आमा नहुने छोराछोरीले नुहाएर पवित्र भई सिदादान गर्दछन् । साथै स्वर्गीय आमाको आत्माले शान्ति पाओस् भनेर देवीदेवताको मन्दिरमा गई आमाको सम्झनामा धूपदीप बाली पूजाआजा गर्ने चलन छ ।

समग्रमा भन्नुपर्दा कतिपय आमा आफ्नै सन्तानद्वारा परित्यक्त भएर सडक र वृद्धाममा पुगेका छन् । आमाले आफ्नै कोखलाई धिक्कार्नुप¥यो भने त्यसभन्दा ठूलो दुर्भाग्य अरू के हुनसक्छ ? मेक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास आमामा पेलागया निलोभ्ना नामकी प्रमुख पात्र छिन् । तिनले एक ठाउँमा भनेकी छिन्, रगतको खोलाले पनि सच्चाइलाई डुबाउन सक्दैन, ए उल्लुहरू ! तिमीहरू जति अत्याचार गर्दै जान्छौ हाम्रो घृणा पनि त्यत्तिकै बढ्दै जानेछ । एउटी आमाले सन्तानलाई कदापि घृणा गर्न सक्दिनन् तर एउटी नारीले दुष्ट पुरुषको अत्याचार सधैँ सहनुपर्छ भन्ने पनि छैन । आमाको मुहार फेर्ने सपना देखेर आफ्नो सपना र जीवनलाई तिलाञ्जलि दिए ।

आमालाई माया गर्ने भुइँमान्छेहरू उन्नति र परिवर्तनको सपना साकार पार्न अझै पनि क्रान्तिको बिगुल फुकिरहेका छन् । आमालाई धोका दिनेहरूलाई खबरदारी गरिरहेका छन् । कर्मवीर, परिवर्तनकामी, राष्ट्रभक्त र श्रमशील सन्तति जन्माउने यो धर्तीका हरेक आमालाई मातृऔंसीको यो पावन दिनमा हार्दिक नमन छ । मूलतः आफू जन्मेको, हुर्केको अनि बाँचेको धर्तीलाई साक्षात् मातासमान सम्मान गर्न आजको दिनले नेपाल आमाका सबै सन्ततिलाई सद्प्रेरणा प्रदान गरोस् । मातृसम्मान दिवसको सार्थकता यसैमा झल्किनेछ ।

मातृसम्मान भन्नु आत्मसम्मान पनि हो । आमाकै विशेष स्नेह र लालन-पालनमा हामी हुर्किएका हुन्छौँ । त्यसैले यस दिनलाई बडो धूमधामसँग आमाको सम्झना र मंगलमय कामना गर्दै मनाइन्छ । यसरी आमा हुनेहरू वा नहुनेहरूले पनि यस पर्वलाई परम्परागतरूपमा आफ्नो संस्कृतिको एक प्रमुख अंगका रूपमा मनाउने प्रचलन चलिआएको छ । त्यसैले यो पर्वसँग धार्मिक आस्थामात्र गाँसिएको नभई भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यही प्रेम, आस्था र श्रद्धालाई प्रत्येक व्यक्तिले आफ्नी आमाप्रति दर्शाइनुपर्ने भावभक्तिका रूपमा आजको यस दिनलाई मनाउनुको प्रमुख सामाजिक विशेषता नै हो ।

हाम्रो समाजले माता, पिता र गुरुलाई सम्मान गर्नकै लागि भए पनि हरेक वर्षमा वर्षको एक दिन पर्वकै रूपमा यी दिनहरूलाई अगाडि सारेर सोको गरिमा झन् बढाएको पाइन्छ । यसर्थ, मातृऔंसी, कुशेऔंसी र गुरु यसको मतलब यो होइन कि वर्षको एक दिन उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अनि बाँकी दिनहरूमा कुनै वास्ता नगर्ने । उनीहरू त सधैं पूजनीय हुन्छन् । यी पर्वहरू त केवल हाम्रा लागि मार्गदशक हुन्, जसको क्रियाकलापबाट केही सिकेर सधैँभरि आमाबाबुलाई यस्तै व्यवहार गर्नुपर्छ भन्ने यस पर्वको वास्तविक उद्देश्य पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?