सबैभन्दा बढी महिला उम्मेदवार उठाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं, मधेस केन्द्रित दल महिलाप्रति अनुदार

Read Time = 5 mins

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

देशका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीतिक दल भएको हो ।

निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

आयोगका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।

त्यस्तै, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा मेयरका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई मेयरको उम्मेदवारी दर्ता गराएको छ भने गाउँपालिका अध्यक्षका लागि १५ सहित ४२ महिलालाई स्थान दिएको छ । महिला उम्मेदवारी दर्ता गराउनेमा राप्रपा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले १ सय २८ जना मेयरमा उम्ेमदवारी दिँदा २३ जना महिला उम्मेदवार उठाएको छ भने १ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको मेयर तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

मधेस केन्द्रित दल महिलाप्रति अनुदार

उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वको क्रमशः जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत जसपा नेपाल र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको तथ्यांकले देखाएको छ ।

जसपा नेपालले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा महिला भने जम्मा १५ जना मात्रै छनौटमा परेका छन भने १ सय ८० जनालाई गाउँपालिका अध्यक्ष चयन गराउँदा महिला भने १० जना मात्रै उम्मेदवारी छनौट परेका छन ।

ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना मेयरका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र मेयरका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन । त्यस्तै, ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?