किसानलाई उन्नत बिउ उपलब्ध गराउन निर्देशन

Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ-असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतका कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित सञ्चालन र गुणस्तर प्रमाणीकरणका विषयमा छलफल भएको थियो ।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयात यसै वर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनू भनिरहेको छु तर तपाईंहरू (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन ।’

मन्त्री शर्माले नेपालमा सूचीकृत उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले उन्नत जातको बिउ प्रयोग गर्‍यौँ भने यसै वर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ ।

यो काम गर्न ढिला नगरौँ, मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौँ भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन, उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भन्नुस्, हामी दिन्छौँ । थोरै पैसा खर्च गर्दा अर्बाैंको चामल आयात घटाउन सकिने देखिएको छ ।’ अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो । धानको उत्पादकत्व औसत ३.५ मेट्रिकटन प्रतिहेक्टर रहेको जानकारी दिँदै उहाँले उन्नत बिउ वितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?