स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको भूमिका

प्रा. देवीभक्त ढकाल
Read Time = 17 mins

प्राकृतिक चिकित्सा विज्ञान यस्तो विधा हो जसमा औषधिको प्रयोग नगरिकन शरीरलाई खानपान र जीवनशैलीका माध्यमले स्वस्थ राख्ने प्रविधिको प्रशिक्षण, अध्ययन, अध्यापन, अनुसन्धान, खोज र उपचार आदिमा केन्द्रीकृत हुन्छ । मानव शरीर पञ्चतत्वले बनेको छ । भनिन्छ शरीरमा तिनै पाँच तत्वहरूको असन्तुलनबाट रोगको उत्पत्ति हुन्छ । प्राकृतिक चिकित्सा ती तत्वहरूलाई सन्तुलित गर्ने कला र विज्ञान हो । प्राकृतिक चिकित्सा अनुसार रोग उत्पत्तिको मुख्य कारक भनेको अस्वस्थकर खानपिन र गलत जीवनशैलीले शरीरमा विकसित हुने रुग्णकारक विषाक्त पदार्थहरूको सञ्चय हो ।

ती रुग्णकारक पदार्थहरूलाई शरीरबाट निस्काशन गर्दा शरीरमा भएका तमाम रोगहरूबाट शरीरले एकैसाथ छुट्कारा पाउँछ । त्यसैले ‘रोग अनेक उपचार एक’ भनिएको हो । जुन आधुनिक चिकित्साको दृष्टिकोणले असम्भव विषय मानिन्छ । प्राकृतिक खानपिन, उपचार र स्वास्थ्यमैत्री जीवनशैलीको अनुशरणले निसन्देह शरीरलाई रोग मुक्त बनाउँछ । यसले शरीरको जीवनी शक्तिलाई सशक्त बनाउन मद्धत गर्दछ ।

पेटमा तातोमाटो, चिसोमाटो, तातोपानी, चिसोपानीबाट उपचार प्रारम्भ हुने प्राकृतिक चिकित्साले पेटमा जम्मा भएको विषाक्त वस्तु अर्थात् रुग्णकारक पदार्थको निष्काशनमा एनिमाको प्रयोग गर्छ । मनतातो पानी पेटभित्र रबरको पाइपका माध्यमले पठाउने र मलाशयमा सञ्चित विषाक्त पदार्थलाई निष्काशन गर्ने क्रियालाई एनिमा अर्थात बस्तिकर्म भनिन्छ । मलाशयमा जम्मा मल अर्थात रुग्णकारक वा विषाक्त पदार्थ निष्काशनमा एनिमा प्रभावकारी विधि हो । शरीरमा भएका विषाक्त वस्तुको निष्काशन र स्वास्थ्यमैत्री भोजनले मानव स्वास्थमा सकारात्मक परिवर्तन ल्याउँछ ।

फेरि ‘औषधि नै भोजन हो र भोजन नै औषधि हो’ भन्ने प्राकृतिक चिकित्साको सिद्धान्तको कठोर पालनाले रोगग्रस्त हुने सम्भावनाहरू स्वतः टर्दै जान्छन् । प्राकृतिक चिकित्सा विधाको अनुशरण साथै उपचारको अनुभवले हरेक व्यक्तिमा उक्त विधाप्रतिको विश्वासमा अभिवृद्धि हुन्छ । पढेर, सुनेर, प्रशंसा गरेर, देखेर यो विधाबाट लाभ लिन सकिँदैन । यसको लाभको प्रत्यक्ष अनुभूति शरीरले र मनले त्यतिबेलामात्र गर्छ जतिबेला हामी यो विधाको अनुशरण र उपचारको सुविधा आफैं लिन सुरु गर्दछौं । फेरि संसारको आधुनिक स्वास्थ्य प्रविधिभन्दा छुट्टै विशेषता यो विधामा छ ।

मलाई रोग छैन म अस्पताल भर्ना भएर उपचार गर्छुभन्दा आधुनिक अस्पतालले भर्ना लिँदैनन् । प्राकृतिक चिकित्सालयलाई बुझेको समाजमा भने उपचारमा निरोगी व्यक्तिहरूको बाहुल्य हुन्छ । प्राकृतिक चिकित्सा पद्धतिमा शरीरलाई निरोगी राख्न नियमित रूपमा शरीरको शोधन गर्नुपर्छ भन्ने आधुनिक चिकित्सा भन्दा फरक सिद्धान्त क्रियाशील छ । जस्तो कुनै इन्जिनबाट राम्रो सेवा लिन त्यसको सर्भिसिङ जरुरी भएजस्तै शरीर ईश्वर निर्मित इञ्जिन हो । यसलाई नियमित सर्भिसिङ गर्दा यो निरोगी र स्वस्थ हुन्छ । त्यसैले शरीरको प्रकृति र प्राकृतिक चिकित्सा विज्ञानका जानकार प्राकृतिक चिकित्साको उपचार बिरामी भएर निको हुनमात्रै होइन स्वस्थ हुन लिन्छन् । प्राकृतिक चिकित्सालयले पनि सर्भिसिङको संस्कारलाई अभ्यस्त बनाउने योजनाको गृहकार्य अविलम्ब गर्नुपर्छ ।

हाम्रो समाजमा प्राकृतिक चिकित्सा पद्धतिको धर्म, मर्म र उपयोगितासम्बन्धी अज्ञानताको सिकार नेपाली समाजमात्रै होइन प्राकृतिक चिकित्सालय आफैं भएका छन् । किनकि हामीमा शरीरलाई स्वस्थ राख्ने खानपिन र जीवनशैली हो भन्ने चेतनाको खडेरी छ । हामी बिरामी भएपछि सर्वप्रथम आधुनिक चिकित्साको शरणमा जान्छौं । अहिले जीवनशैली र खानपिनमा सुधार गरेर बाँच्नेभन्दा औषधिको सेवनले बाँच्नेहरूको संख्या अत्यधिक छ । ‘जीवन नै औषधि हो र औषधि नै जीवन हो’ भन्ने अवधारणा जनशक्ति विकासमा बाधक हुन्छन् ।

आधुनिक चिकित्साको विशेषता भनेको कुनै रोगलाई दिइएको दबाईले रोगलाई केही समय दबाउँछ । शरीर विस्तारै कमजोर हुँदै गर्दा त्यही दबाईको पाश्र्व प्रभावका कारण थप रोग जन्मन्छन् । फेरि अस्पताल जानै पर्छ । रोग निको गर्ने बाहानामा दबाई थपिन्छ । यो क्रमसँगै मानिस रोगको चक्रव्युहृवमा नराम्ररी फस्छ । आधुनिक दबाइहरू रोग निको गर्नभन्दा शरीरमा रोग थप्न प्रभावकारी देखिए । उपचारको क्रममा उससँग भएको धनसम्पत्ति मात्रै होइन ऊर्जा पनि सकिन्छ । त्यसपछि ऊ बिच्छिप्त अवस्थामा वैकल्पिक चिकित्सा पद्धतिको खोजीमा प्राकृतिक चिकित्सालयको शरणमा पुग्छ ।

औषधिको पाश्र्व प्रभावका कारण अत्यन्तै कमजोर अवस्थाका बिरामीलाई उपचार गरेर उनीहरूलाई नयाँ जीवन दिनुपर्ने चुनौतीको सामना अहिले नेपालका प्राकृतिक चिकित्सालयले गरेका छन् । त्यस्तो परिस्थितिमा अधिकांश बिरामीमा नाटकीय सुधार भएर रोगीहरू रोगमुक्त भएका उदाहारणका कारण रजहर सामुदायिक प्राकृतिक चिकित्सालयको लोकप्रियता समयक्रमसँगै बढेको छ । यसको लोकप्रियतासँगै प्राकृतिक चिकित्सा विधा बारे धेरै नेपालीले सुसूचित हुने अवसर पाएका छन् । यसलाई व्यवस्थित र योजनाबद्ध जग निर्माणको काम गृहिणी प्रशिक्षण कार्यक्रमका अतिरिक्त सबै क्षेत्रहरूलाई समेट्ने स्वास्थ्य जनचेतना प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी छ ।

स्वास्थमैत्री जीवनशैली र स्वस्थकर भोजन बारे सचेतना विस्तार गर्ने जिम्मेवारीलाई देशकै ठूलो प्राकृतिक अस्पतालको रूपमा विकसित रजहर अस्पतालको भूमिका महत्वपूर्ण हुन्छ । यो विधाप्रतिको आकर्षणमा स्वतः वृद्धि हुने आधार प्रशिक्षणबाट पक्कै सिर्जना हुन्छ । यसबारे अस्पताल व्यवस्थापन समिति पनि गम्भीर बन्ने नै छ । अस्पतालका गतिविधिहरू र बिरामीका अनुभवलाई बुलेटिनका माध्यमले नियमित प्रकाशनले यसको महत्वलाई सुसूचित गर्ने प्रभावकारी उपाय हुनसक्छ ।

प्राकृतिक चिकित्सा विधाप्रति विस्तारै नेपाली आकर्षित हुँदै गर्दा प्राकृतिक चिकित्साको सेवा विस्तार गर्न, गुणस्तरीय बनाउन यो अस्पतालको सेवा नीति निर्माण तहमा पुर्‍याउने योजना अस्पतालले बनाउँदा यस्ता अस्पतालमा बजेट नियमित विनियोजन गर्नलाई सरकारलाई दबाब पर्छ । सरकारको ध्यान यस दिशामा केन्द्रीकृत हुन जरुरी छ ।

आधुनिक चिकित्सा विधाको एकाधिकार भएको हाम्रो समाजमा प्राकृतिक चिकित्साको माटोपानीको उपचार विधि सुरुमा अनौठो, अपत्यारिलो लाग्न सक्छ । मानवका लागि स्वास्थ्यको महत्व अवर्णनीय विषय हो । मानिसको जीवनको सार्थकता र खुशीयालीको स्रोत नै स्वस्थ हो । संसारसँग जीवधारीको सम्बन्ध स्थापना गर्ने तत्व नै स्वास्थ्य हो । स्वास्थ छ त संसार छ अन्यथा छैन । सबै वस्तुले व्यक्ति समाज र राष्ट्र परिपूर्ण हुँदाहुँदै मानिससँग स्वास्थ प्रतिकूल हुँदा सम्पन्नता र सुखहरू निरर्थक हुन्छन् । जीवनका क्षणलाई क्रियाशील, सिर्जनशील, उत्पानशील र चिन्तनशीलमात्रै होइन ऊर्जावान बनाउने एकमात्र प्रभावकारी वस्तु नै स्वास्थ हो ।

जीवधारीको पहिलो कर्तव्य र धर्म भनेको आफ्नो स्वास्थ्यको चिन्तन, मनन, अनुसन्धान, अध्ययन र रक्षा गर्नु हो । स्वस्थ हुनु साधना र तप गर्नु हो । स्वास्थ्यको अध्ययन, जीवधारीहरूको पहिलो कर्तव्य र धर्म भनेको आफ्नो स्वास्थ्यको चिन्तन, मनन्, अनुसन्धान, अध्ययन र रक्षा गर्नु हो । स्वस्थ हुनु साधना र तप गर्नु हो । स्वास्थ्यको अध्ययन, अनुसन्धान र रक्षा जसले गर्दैन ऊ रचनात्मक हुँदैनन् । संसारिक आनन्दको अनुभूति गर्न, बुझ्न, देख्न, पढ्नसमेत स्वास्थ निर्विकल्प पूर्वाधार हो । जीवनको सार्थकता नै व्यक्तिको स्वास्थ्यमा निर्भर हुँदा जीवधारीको स्वास्थ्यको महत्वलाई शब्दमा प्रकट गर्ने काम अत्यन्तै कठिन छ ।

तर, यस्ता कठिन विषयलाई हाम्रो समाजले अध्ययन, अनुसन्धान, छलफल, बहस र अन्तक्र्रियाको विषय नबनाउँदा स्वास्थ्यसम्बन्धी ज्ञान र अनुभवलाई समाजका सदस्यबीच सहजरूपमा विनिमय हुन सक्तैन । स्वास्थ्यसम्बन्धी अनुभव र ज्ञानको विनिमय नहुनु भनेको समाज स्वास्थ्यप्रति गम्भीर छैन भन्ने प्रमाण हो । स्वास्थ्य क्षेत्रको सम्भावित सुधारका लागि यो महत्वपूर्ण चुनौती हो ।

स्वस्थ्य हुन व्यक्ति स्वयंले गर्नुपर्ने र परिवारले गर्ने प्रयत्न, संस्कार, व्यवहार, चालचलन, मान्यता, परिवेश, परिस्थिति, खानपिन, रहनसहन, दृष्टिकोण आदिले मानवको स्वास्थमा महत्वपूर्ण प्रभाव पार्छ । व्यक्ति स्वयंको सचेतना र लापरबाही समेतले पुर्‍याउने सकारात्मक र नकारात्मक प्रभावलाई बुझ्ने र जान्ने काम धेरै जटिल छ । स्वास्थ्यलाई लापरबाही गर्ने व्यक्ति, समाज र राष्ट्रले कहिल्यै पनि प्रगति गर्न सक्दैन । देशको विकासका लागि शारीरिक, मानसिक र वातावरणीय स्वास्थको भूमिका निर्णायक हुन्छ । यी विषयलाई बेवास्ता गरेर जीवधारी न स्वस्थ रहनसक्छ न त उसले प्रगति नै गर्नसक्छ ।

प्राकृतिक चिकित्सा बारे अनभिज्ञका लागि यो यस्तो अनौठो प्रणाली हो जसमा जीवनको शारीरिक, मानसिक, नैतिक, आध्यात्मिक स्वास्थ्यलाई एकैसाथ प्रोत्साहन, रोग निवारण र उपचारका अतिरिक्त शरीरलाई पुनः सशक्तीकरण गर्ने अपार सम्भावना हुन्छन् । प्राकृतिक चिकित्सा नेपाल र नेपालीको सन्दर्भमा नयाँ विधा हो । यस विधा बारे अनुभव र ज्ञानको अभावमा आमजनताले यसको प्रयोगबाट लाभ लिने अवस्था अझै सिर्जना भएको छैन । प्राकृतिक चिकित्सा पद्धतिमा औषधिको सेवन नै हुँदैन ।

त्यसैले अहिले आयात गर्दै आएको औषधिको आयात शून्य प्रायः हुने अनौठो यसको विशेषतालाई हामीले आत्मसात गर्नुपर्छ । कुनै प्रकारको पाश्र्व प्रभाव नहुने र औषधि पनि प्रयोग नहुने यो उपचार विधि नेपाल जस्तो विपन्न देशका लागि वरदान हो । यस विधाबाट अधिकतम फाइदा लिन सक्ने सम्भावनालाई अत्यधिक उपयोग गर्दा देश र समाजको कल्याण हुन्छ । प्राकृतिक चिकित्सा पद्धतिको विज्ञापनभन्दा पनि प्राकृतिक चिकित्साका विशेषता र स्वास्थमैत्री जीवनशैलीका विषयमा जानकारी गराउन राज्यको सहयोग अपरिहार्य विषय हो ।

प्राकृतिक चिकित्सा विधामा मुख्यतः दुई पक्ष हुन्छन् । पहिलो रोगबाट बच्न अर्थात निरोगी हुनगर्ने शरीरको नियमित सर्भिसिङ । यसले स्वास्थ्यमैत्री भोजन र जीवनशैलीलाई अवलम्बन गर्न आममानिसलाई शिक्षित र दीक्षित गर्दछ । रोगबाट बचाउन गर्ने प्रयत्नले निरोगी जनशक्ति उत्पादन गर्ने काममा यो विधाको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ ।

अर्को रोग लागेका मानिसलाई विनाऔषधि उपचार हुने हुँदा औषधिमा हुने लगानीको ठूलो हिस्सा जोगिने र औषधिको पाश्र्व प्रभावबाट रोगीलाई झन् रोगी बनाउने उपचार पद्धतिले पार्ने नकारात्मक प्रभावबाट मुक्ति दिन यो विधा राष्ट्रका लागि वरदान नै भन्नुपर्छ । यस्तो महत्वपूर्ण क्षेत्रमा अगुवाइ गर्ने रजहर प्राकृतिक चिकित्सालयलाई भौतिक संरचना निर्माण र सेवालाई गुणस्तरीय बनाउन स्थानीय सरकारदेखि केन्द्र सरकारको समेत यथेष्ट ध्यान जानु आवश्यक छ ।

Subscribe
Notify of
guest
6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Cholendra pandit
Cholendra pandit
2022-05-31 3:13 pm

I read out it thoroughly.i found it very very useful to those who are allert with their health.
more over it is also a notice or short introduction of Rajahar natural health care centre.

Keshav Kandel
Keshav Kandel
2022-05-31 3:14 pm

अत्यन्तै प्रभावकारी लेख..! म त पढ्दापढ्दै पनि शरीर सर्भिसिंग गरे जस्तो अनुभुति भयो..!

Prem Singh Bohora
Prem Singh Bohora
2022-05-31 3:56 pm

Prem Singh Bohoraसचेतना मूलक कार्यक्रम हरूको बिस्तार र सरकार को ध्यानाकर्षण आवस्यक छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?