आजदेखि मेलम्चीको पानी बन्द

Read Time = 2 mins

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहानबाट काठमाडौँ ल्याइएको पानी वर्षाद्का कारण सुरुङ्मा क्षति नहोस् भनी सावधानी अपनाउँदै बन्द गरिएको छ ।

निरन्तर वर्षा हुने र बाढी आउने क्रम बढ्न थालेपछि वैकल्पिक प्रणालीबाट ल्याइएको मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । आजदेखि बन्द गरिएको पानी सुक्खा मौसम लागेपछि फेरि वैकल्पिक प्रणालीबाट राजधानी ल्याइने उहाँले बताउनुभयो ।

मेलम्चीको पानी बन्द गरिएपनि सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा वाग्मतीको पानी प्रशोधन गरी राजधानीवासीलाई दिइने मेलम्ची आयोजनाले जनाएको छ ।

गतवर्ष असार १ गते मेलम्ची खोलामा सुक्खा पहिरो आउँदा आयोजनाको पूर्वाधारमा क्षति पुगेको थियो । गत वर्ष बाढी आउनुअघि नै सुरुङमा पानी बन्द गरिएकाले सुरुङभित्र भने क्षति पुग्न पाएको थिएन । यसवर्ष असार अगावै दैनिक पानी पर्ने र बाढी आउन थालेपछि आयोजनाले सावधानी अपनाउँदै मुहानमै पानी बन्द गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?